मेचीनगरको उद्योगमा विहान पाँच बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन

मेचीनगरको उद्योगमा विहान पाँच बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन

झापा : मेचीनगरको भगवती लेमिनेट्स उद्योगमा विहान पाँच बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन।

आगलागी हुँदा उद्योगमा थुपारेर राखिएको कचेडा पत्ता र काठका मुढाहरू जलेका छन्।

मेचीनगर–१५ का वडाध्यक्ष राजन भट्टराईका अनुसार सोमबार विहान ५ बजेदेखि लागेको आगो अझै नियन्त्रणमा आउन सकेको छैन।

उद्योगमा विद्युत सर्किट सर्ट भएर आगलागी भएको हुन सक्ने इलाका प्रहरी कार्यालय धुलाबारीका  इन्स्पेटर रोहित शर्माले बताए।

अहिले उत्तर र पूर्वतिर आगो नियन्त्रण भएको छ भने उद्योगको पश्चिमतिर अझै पूर्ण रूपमा आगो नियन्त्रण लिन नसकिएको प्रहरीको भनाइ छ।

आगो पूर्ण रूपमा नियन्त्रणमा आउन आज दिनभरि लाग्न सक्ने अनुमान शर्माको छ।

शर्माका अनुसार नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना र स्थानीयबासीको सहयोगमा आगो नियन्त्रण गर्ने प्रयास भइरहेको छ।

झापाका ७ वटा स्थानीय तहका बारुण यन्त्रले आगो निभाउने प्रयास गरिरहेका छन्। उनका अनुसार अब मोरङदेखि थप दमकल मगाइएको छ।

यो समाचार तयार पार्दै गर्दा भारतबाट समेत दमकल बोलाइएको छ।

भारतको नक्सलबारीबाट दमकल घटनास्थलतर्फ आउँदै गरेको मेचीनगर उद्योग वाणिज्य संघका पुर्व अध्यक्ष विजय डालमियाले जानकारी दिए।

२८ फागुन, २०८०, १३:२०:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।