प्रधानमन्त्रीले विश्वासको मत लिने दिन माओवादी सांसदलाई अनिवार्य उपस्थितिको ‘ह्वीप’

प्रधानमन्त्रीले विश्वासको मत लिने दिन माओवादी सांसदलाई अनिवार्य उपस्थितिको ‘ह्वीप’

काठमाडौं : माओवादी केन्द्रले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले विश्वासको मत लिने दिन र राष्ट्रिय सभा अध्यक्षको मतदानको दिन आफ्नो दलका सांसदहरूलाई अनिवार्य उपस्थित हुन निर्देशन जारी गर्ने भएको छ।

सिंहदरबारस्थित पार्टीको संसदीय दलको कार्यालयमा शनिबार बसेको बैठकले यही फागुन २९ गते हुने राष्ट्रिय सभा अध्यक्षको निर्वाचनमा अनिवार्य उपस्थितिका लागि निर्देशन जारी गर्ने निर्णय गरेको पार्टी संसदीय दलका प्रमुख सचेतक हितराज पाण्डेले बताए।

‘आजको संसदीय दलको बैठकमा गठबन्धन परिवर्तनपछि माओवादी र गठबन्धनमा संलग्न अन्य दलका नेताहरूको भूमिकाका बारेमा छलफल भएको छ। खास गरेर प्रतिनिधि सभामा विश्वासको मत र राष्ट्रिय सभामा अध्यक्षको निर्वाचन हुँदैछ,’ उनले भने, ‘यी सबै विषयवस्तुलाई मध्यनजर गर्दै माओवादी केन्द्रका सांसदहरूलाई प्रतिनिधि सभामा विश्वासको मत दिने बेलामा र राष्ट्रिय सभामा अध्यक्ष एवं उपाध्यक्षको निर्वाचन हुने बेलामा सबै उपस्थित हुनका लागि निर्देशन जारी गर्ने निर्णय भएको छ।’

प्रधानमन्त्रीले सत्ता गठबन्धन दलहरूबीच छलफल गरेर फागुन ३० गते विश्वासको मत लिने तयारीबारे बैठकमा जानकारी गराएको बताइएको छ। 

त्यस्तै, बैठकमा यही फागुन १४ गते प्रस्तुत भएको आउँदो आर्थिक वर्षको प्रि–बजेटको सन्दर्भमा आवश्यक छलफल र परिमार्जन आवश्यक रहेको भन्दै बजेटको प्रभावकारिताका विषयमा विचार राख्ने निर्णय भएको पाण्डेले बताए।

बैठकमा प्रधानमन्त्री प्रचण्डले सरकारले थालेको सुशासन र समृद्धिको अभियान अगाडि बढाउन अन्य दलहरूसँग सहयोग र सहकार्य गर्ने बारेमा छलफल गरेको पाण्डेले बताए।

फागुन २६, २०८० शनिबार १८:२५:३७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।