भाइरलको लोभमा पटक-पटक हिरासत

भाइरलको लोभमा पटक-पटक हिरासत

काठमाडौँ : भाइरल हुनका लागि कतिसम्म जोखिम मोल्न तयार हुने? शर्मिला वाइबालाई यही प्रश्न सोध्ने हो भने जति पटक पनि भन्ने जवाफ आउन सक्छ।

बुधवार कुटपिटको आरोपमा पक्राउ परेकी उनको यो प्रहरी हिरासत यात्रा तेस्रो पटक हो। यस अगाडि उनी सामाजिक सञ्जालमा जथाभाबी बोलेर चरित्रहत्या गरेको अभियोगमा दुई पटक पक्राउ परेर अदालतबाट धरौटीमा छुटेकी थिइन्।

यस अगाडि बलात्कार पीडित नाबालिगको पक्षमा अभिव्यक्ति दिएको भन्दै शर्मिलाले अभिनेत्री रेखा थापाविरुद्ध युट्युबका अन्तर्वार्ताहरूमा जथाभाबी बोलेपछि साइबर ब्युरोमा उजुरी परेपछि उनी चितवनबाट पक्राउ परेकी थिइन्।

धरौटीमा छुटे पनि भाइरलका लागि सामाजिक सञ्जालहरूमा उनको विवादित गतिविधि रोकिएन। पहिला अभियन्ताको रूपमा यूट्युवरहरुमाझ अन्तर्वार्ता दिँदै हिँड्ने उनी पछिल्लो समय त आफैँ अन्तर्वार्तालिँदै हिँड्न थालेकी थिइन्।

बुधवार उनी पक्राउ परेको घटना भने हास्य कलाकार पवन खतिवडासँग जोडिन्छ। पछिल्लो समय कलाकार खतिवडा र उनकी श्रीमतीबीचको विवाद सार्वजनिक भएपछि वाइबा मिसिएकी थिइन्।

श्रीमतीको उग्र व्यवहारका कारण सँगै बस्न नसक्ने भन्दै पवन सम्बन्ध विच्छेदको प्रक्रियामै रहेको बेलामा एकाएक उनी मुखभरि कोतरिएको घाउ बोकेर सार्वजनिक भएका थिए।

उनले श्रीमती र वाइबा मिलेर कुटेको र अनुहार कोतरेको दाबी गरेका थिए। त्यसपछि वाइबा र पवनको श्रीमतीसहितको अन्तर्वार्ताहरू छ्यापछ्याप्ती भए यूट्वभरी। यही बिचमा पवनसँग जोडिएर आइन अर्को भाइरल क्रेजी रितु बस्नेत। वाइबाले रितु र पवनबीचको सम्बन्ध सामाजिक सञ्जालमा उछाल्दै आएकी थिइन्।

अर्काको पारिवारिक सम्बन्ध सामाजिक सञ्जालमा उछाल्न व्यस्त रहेकै बेलामा प्रहरीले वाइबालाई बुधवार सिन्धुपाल्चोकबाटै पक्राउ गरेर काठमाडौँ ल्यायो। उनीमाथि उनै पवनलाई कुटपिट गरेको आरोप छ। कुटपिटको अभियोग अदालतसम्म पुग्दा उनी धरौटीमा मुक्त हुने छिन्। अधिकांश कुटपिटको घटनामा धरौटी निस्कन्छ।

यो पटक त उनी पून धरौटीमा हिरासतमुक्त होलिन् तर उनको गतिविधिले प्रहरी हिरासत यात्रा जाने क्रम तत्काल रोकिने लक्षण भने देखिँदैन।

भाइरल हुन जे गर्न नि तयार हुने रोगै खराब।

फागुन १६, २०८० बुधबार २३:१०:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।