यी दुई क्षेत्रमा वैशाख १५ गते उपनिर्वाचन हुने

यी दुई क्षेत्रमा वैशाख १५ गते उपनिर्वाचन हुने

काठमाडौं : निर्वाचन आयोगले आगामी वैशाख १० गते उपनिर्वाचन गर्ने निर्णय गरेको छ।

आयोगको आज एक विज्ञप्ति जारी गर्दै इलामको प्रतिनिधिसभा -२ र बझाङको प्रदेशसभा १ मा आगामी वैशाख १५ गते उपनिर्वाचन गरिने निर्णय गरेको हो।

'निर्वाचन आयोगको आज मिति २०८० फागुन १३ गते बसेको बैठकले प्रतिनिधिसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ तथा प्रदेशसभा सदस्य निर्वाचन ऐन, २०७४ को दफा ६८ ले दिएको अधिकार प्रयोग गरी नेपाल सरकारको परामर्श समेतको आधारमा इलाम जिल्ला निर्वाचन क्षेत्र नम्बर २ का रिक्त प्रतिनिधिसभा सदस्य पद एक र सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा रिक्त प्रदेशसभा सदस्यको उपनिर्वाचन आगामी २०८१ साल वैशाख १५ गते शनिबार गर्नेगरी निर्वाचनको मिति तोकेको छ,' निर्वाचन आयोगको विज्ञप्तिमा भनिएको छ।

इलाम -२ मा २०७९ मा भएको निर्वाचनमा एमालेका नेम्वाङ निर्वाचित भएका थिए भने बझाङ -१ को प्रदेशसभामा नेपाली कांग्रेसका पृथ्वीबहादुर सिंह निर्वाचित भएका थिए।

सिंहको असार २५ मा सवारी दुर्घटनामा निधन भएको थियो। यस्तै, नेम्वाङको भदौ २६ गते हृदयघातका कारण निधन भएको थियो।

नेपालको संविधानको धारा ४७ तथा धारा १७६ बमोजिम प्रतिनिधिसभा र प्रदेशसभाको कार्यकाल ६ महिनाभन्दा बढी अवधि बाँकी छँदै कुनै सदस्यको स्थान रिक्त भएमा त्यस्तो स्थानमा जुन निर्वाचन प्रणालीबाट पूर्ति भएको हो, सोही प्रक्रियाद्वारा उपनिर्वाचनमार्फत पूर्ति गर्नुपर्ने व्यवस्था छ।

फागुन १३, २०८० आइतबार १४:०२:१३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।