मिटरब्याज पीडितको चीत्कार : ‘गाउँ फर्के बैंकले समात्छ, साहुले मार्छ, यस्तो पीडा सरकारले किन सुन्दैन’

मिटरब्याज पीडितको चीत्कार : ‘गाउँ फर्के बैंकले समात्छ, साहुले मार्छ, यस्तो पीडा सरकारले किन सुन्दैन’
तस्बिर : न्युज एजेन्सी नेपाल

काठमाडौं : सर्लाहीको चन्द्रनगर गाउँपालिका -३ बरकुर्वाकी चैनियादेवी बिन मुखिया काठमाडौं उत्रिएको तीन दिन भयो। मिटरब्याजको पीडा सहन नसकेर दुई साता पैदल हिँडेर काठमाडौं आएकी हुन्।

उनले साहुबाट सुरुमा ३ लाख ६५ हजार ऋण लिएको थिइन्। तर, साहुले मिटरब्याजी हिसाबले उक्त ऋणको ब्याज जोडेर ९ लाख ९५ हजारको तमसुक बनाएर हस्ताक्षर गराए। त्यसपछि उनी घरबिहीन भइन्।

साहुले ९ लाख ९५ हजार बराबरको नौ धुर जग्गा लिए। चैनियादवीको घर पनि त्यही जग्गामा भएकाले घर र जग्गा दुबै साहुले कब्जा गरिदिए।

‘कब्जा गरेको घर, जग्गा बराबरको पूरा पैसा दिए मात्रै फिर्ता दिन्छु नत्र दिन्न भन्छन् साहु’, उनले भनिन्।

त्यसपछि उनी जिल्ला प्रहरी कार्यालय पुगिन्। उजुरी दिइन् तर सुनुवाइ भएन। विन्दु चौधरी भन्ने साहुबाट पीडित चैनियादेवी घरबारबिहीन भएपछि सरकारसँग न्यायको माग गर्दै उनी काठमाडौंसम्म आइपुगेकी हुन्।

‘सरकारले घर फिर्ता नगर्ने हो भने वा बस्ने स्थानसम्मको व्यवस्था नभए म यहीँ मर्न तयार छु। सडकमै सुत्न तयार छु,’ उनले भनिन्।

घरमा बालबच्चालाई छाडेर न्यायको खोजीमा काठमाडौं आएकी उनलाई सरकारले केही गर्छ भन्ने आशा थियो तर पछिल्ला तीन दिनमा केही प्रगति नभएपछि उनी निरास देखिन्छन्।

उनले भनिन्, ‘महाजन विन्दु चौधरीसँग ३ लाख ६५ हजार लिएको हुँ। ३ लाख ६५ हजारको ९ लाख ९५ हजार ब्याजसहित तमसुकमा हस्ताक्षर गर्न लगाउनुभयो। हस्ताक्षर गरेपछि गरेपछि नौ धूर जग्गा उहाँको नाममा गयो। घर जग्गा उहाँले नै अदालतमा केश हालेर जित्नुभयो। पूरा पैसा दिए मात्रै घरजग्गा फिर्ता दिन्छु भन्नुहुन्छ नत्र दिन्न भन्नुहुन्छ।’

‘जिल्लाको पुलिसले केही गरेन। विन्दु चौधरी नै हो हामी माथि अत्याचार गर्ने, हामीसँग बस्न घर छैन। हामीलाई घरबाट निकालिदियो। प्रक्रिया मिलाएर हाम्रो हाम्रो घर फिर्ता गरिदिनु, हामीमाथि धेरै अत्याचार भएको छ। यस्तै, हो भने हामी घरमै फाँसी लगाएर वा विष खाएर मर्नुपर्छ। हाम्रो जाने स्थान पनि छैन,’ उनले बिलौना सुनाइन्।

उस्तै पीडा छ महेन्द्रनगरकी पवित्रादेवी मण्डलको परिवारको पनि। न्याय पाइन्छ की भन्ने विश्वासका साथ आएकी उनी पनि सरकारले केही गर्न नसकेको गुनासो गर्छिन्।

‘यो सरकार घुस लिएर हामी सबैलाई मार्ने तर्फ लागि रहेको छ,’ उनले भनिन्।

‘हामी त्यतिकै काठमाडौं आएका होइनौँ। धेरै पीडा बोकेर आएका छौं। बैंक र गाउँ दुवैबाट पीडित छौं’, उनले भनिन्, ‘यस्तो पीडा सरकारले किन सुन्दैन? बस्ने ठाउँ किन दिँदैन? हामी रोडमा छौं।’ गाउँमा गयो भने महाजन र बैंकले मार्छ भन्ने त्रास छ। सरकारसँग ६ बुँदे माग राखेका छौं पुरा गरिदिनु पर्यो नि। माग नभएसम्म हामी यहीँ बस्छौँ, यहीँ मर्छौ।’ 

धनुषाको धनुषाधाम नगरपालिका २ का जुगेन्द्र यादव पनि उस्तै समस्याबाट पीडित छन्। उनलाई साहुले दिनहुँ धम्क्याउने र तर्साउने गरेको बताउँछन्।

‘जग्गा राखेर ३६ प्रतिशत ब्याजदरले दुई करोड पाँच लाख रुपैयाँ तिरेको छु। पहिला तीन प्रतिशतमा लोन लिएको हो अहिले बढाएर १३/१४ प्रतिशत पु¥याएको छ’, उनी भन्छन्।

‘अहिले जग्गा बैंकले धमाधम लिलामी गरिरहेको छ। धम्क्याउने-तर्साउने गरिरहेको छ। दलालहरू घरमा पठाउँछ र धम्याइरहन्छ। एक लाखको पाँच पाँच लाखसम्म बनाएको छ,’ उनले दुखेसो सुनाए।

पाँच लाख लिनेहरूको ३० लाख रुपैयाँसम्मका पुर्याएको, साहुलाई पटक पटक गर्दै ऋण दिइसक्दा पनि जग्गा फिर्ता नगरेको उनको भनाइ छ। पीडित झनै पीडित भइरहेको, कानुन पालना नभएको र सरकारले पनि पीडितको मर्का नबुझेको उनको गुनासो छ।

१२ फागुन, २०८०, २२:०१:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।