प्रधानमन्त्री प्रचण्डको शनिबारे दौडधूप : काठमाडौंको पार्टी बैठकदेखि धनुषाको झोलुङ्गे पुल उद्घाटनसम्म

प्रधानमन्त्री प्रचण्डको शनिबारे दौडधूप : काठमाडौंको पार्टी बैठकदेखि धनुषाको झोलुङ्गे पुल उद्घाटनसम्म

काठमाडौं : तेस्रो पटक प्रधानमन्त्री नियुक्त भएको एक वर्ष पुगेको उपलक्ष्यमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बाँकी अवधि नतिजामुखी काममा केन्द्रित हुने दाबी गर्दै अत्यावश्यक बाहेक कार्यक्रममा सहभागी नहुने घोषणा गरेका थिए।

उनले निर्धारित भएको कार्यक्रम बाहेक अन्यको हकमा जानैपर्ने बाहेक कार्यक्रममा सहभागीले नहुने र सरकारको काम प्रभावकारी बनाउन केन्द्रित हुने दाबी गरेका थिए। मन्त्रीसहित मन्त्रालय तहगत छलफलमा उनी सक्रिय भए। मुख्यसचिव, सचिव राखेर कार्यशैली सुधार्न निर्देशन दिन सक्रिय भए।

उनी सामान्य कार्यक्रममा सहभागी भए पनि पूर्व निर्धारित झैँ देखिएको थियो। तर, प्रधानमन्त्री नै सहभागी नभए पनि हुने सामान्य कार्यक्रममा सहभागी हुने उनको क्रम रोकिएन। थप गति बढ्यो।

शनिबार उनी सहभागी भएका कार्यक्रमहरूले नै उनको सार्वजनिक कार्यक्रमको मोह देखाउँछ।

शनिबार उनी काठमाडौंदेखि मधेश प्रदेशका जिल्लाहरूमा समेत पुगे। ती कार्यक्रम प्रधानमन्त्री नै चाहिने तहको थिएन। प्रदेशका मन्त्री जाँदा पनि हुने शैलीका थिए।

शनिबार सबैभन्दा पहिले उनले सिंहदरबारमा पार्टीको संसदीय दलको बैठकमा सहभागी भए। बैठकमा सरकारले संसदमा विधेयकहरू पेश गर्ने तयारी गरेको भन्दै पार्टीका सांसदहरूलाई विधेयक पारित गर्न भूमिका खेल्न निर्देशन दिए।

काठमाडौंबाट उनी सिरहा पुगेर झोलुङ्गे पुल उद्घाटन गरे। सिरहा नगरपालिका वडा नम्बर १३ को मल्हनिया र जनक नन्दनी गाउँ पालिका ६ को कठाल जोड्ने पुल स्थानीय तहकै नेतृत्वकर्ताले उद्घाटन गर्न सक्थे। तर, प्रधानमन्त्री प्रचण्डै पुगे।

त्यसपछि उनले सिरहा र धनुषा जोड्ने पक्की पुलको उद्घाटन गरे। धनुषाको सबैला नगरपालिका वडा नं ४ र सिरहाको कल्याणपुर नगरपालिको वडा नं ५ जोड्ने पक्की पुलको लागत एक अर्ब ११ करोड रहेको छ।

त्यताबाट उनी सर्लाहीको बागमती नगरपालिकाले आयोजना गरेको सामुदायिक विद्यालयका विद्यार्थीको सामूहिक प्रस्तुतिमा सहभागी भए।

शुक्रबार उनी एक औपचारिक कार्यक्रममा मात्र सहभागी भए। शुक्रवार मजदुर बलिदानी दिवसमा सहभागी भएका थिए।

फागुन १२, २०८० शनिबार २०:१४:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।