एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड पोखरामा, विजेतालाई सुनको बल उपहार

एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड पोखरामा, विजेतालाई सुनको बल उपहार

काठमाडौँ : एनसेल बाह्रखरी गल्फ एन्ड बियोन्ड कार्यक्रम चैत १ देखि ३ सम्म पोखरामा हुने भएको छ। गल्फ एन्ड बियोन्ड कार्यक्रम गण्डकी प्रदेश सरकार र पोखरा महानगरपालिकाको सह-आयोजनामा हुन लागेको हो पोखरा पर्यटन परिषद् तथा युवा उद्यमी परिषद् पोखरा च्याप्टर कार्यक्रममा साझेदार संस्थाका रूपमा जोडिएका छन्।

विगतका चार संस्करणमा जस्तै यो संस्करणमा पनि एनसेल प्रमुख प्रायोजक रहेको छ। प्रतियोगिताका अल–राउन्ड विजयीले सुनको गल्फ बल पुरस्कारस्वरूप प्राप्त गर्नेछन्। प्रतियोगितामा होल इन वन गर्ने खेलाडीलाई बीवाईडीको एट्टो थ्री गाडी पुरस्कार राखिएको छ।

 पोखराका मेयर धनराज आचार्यले बाह्रखरी गल्फले पोखरालाई अन्तर्राष्ट्रिय क्षेत्रमा प्रवर्धन गर्ने बताएका थिए। बाह्रखरी मिडियाका कार्यकारी अध्यक्ष प्रतीक प्रधानले अहिलेको सङ्कटको समयमा पनि निजी क्षेत्रका संस्थाले देखाएको उदारताको प्रशंसा गरेका थिए।

एनसेल कर्पोरेट कम्युनिकेसन एन्ड सीएसआर प्रमुख विशाखा लक्ष्मी खड्काले कार्यक्रममा एक जिम्मेवार कर्पोरेट नागरिकका रूपमा देशको सामाजिक, आर्थिक विकासमा कसरी योगदान पुर्याउन सकिन्छ भनेर हेर्नु सबै कर्पोरेटको दायित्व रहेको बताएकी थिइन्।

कार्यक्रमअन्तर्गत चैत १ गते पोखराको हलनचोकदेखि विजयपुर– मझेरीपाटनसम्म साइकल र्याली आयोजना गरिनेछ। चैत २ गते देशका विभिन्न स्थानबाट तीन सय बढी कर्पोरेट पाहुनाहरू पोखरा पुग्नेछन्। उक्त पाहुना समूहमा कर्पोरेट नेतृत्ववर्गसहित विदेशी कूटनीतिज्ञ, विदेशी विकास साझेदार संस्थाका प्रतिनिधिहरू रहनेछन्।

चैत २ गते नै गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डे र पोखरा महानगरपालिकाका मेयर आचार्यले कूटनीतिज्ञ, विकास साझेदार संस्थाका प्रमुख तथा प्रतिनिधि र सम्पादक एवं वरिष्ठ पत्रकारहरूसँग गण्डकी प्रदेश तथा पोखरा महानगरको विकास र भविष्यका सम्भावनाका विषयमा छुट्टाछुट्टै अन्तरक्रिया गर्नेछन्।

चैत ३ गते बिहान हिमालयन गल्फकोर्समा नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले गल्फ सट हानेर प्रतियोगिताको उद्घाटन गर्ने कार्यक्रम रहेको आयोजकले जानकारी दिएका छन्।

सोही दिन बिहान प्रतिष्ठित युवा राजनीतिज्ञ पोखरा युवा उद्यमी परिषद्ले आयोजना गर्ने अन्तरक्रिया कार्यक्रममा सहभागी हुनेछन्। देशभरबाट पोखरामा भेला भएका करिब १२० कर्पोरेट गल्फका सहभागी चैत २ र ३ गते दुई दिन गल्फ प्रतियोगितामा प्रतिस्पर्धामा व्यस्त रहनेछन्। चैत ३ गते कार्यक्रमको समापन हुनेछ।

यो वर्ष प्रमुख प्रायोजकमा निजी क्षेत्रको दूरसञ्चार सेवा प्रदायक एनसेल र इन एसोसिएसन विथ (साझेदार) मा विद्युतीय गाडी बीवाईडी रहेका छन्। प्रभु बैङ्क लिमिटेड (बैङ्क अफ दी इयर), सिभास रिगल, गोर्खा ब्रुअरी (काल्र्स बर्ग), एनआईसी एसिया बैङ्क लिमिटेड, डिशहोम फाइबरनेट, भाटभटेनी सुपर मार्केट, माछापुच्छ्रे बैङ्क लिमिटेड, हिमालयन बैङ्क लिमिटेड, अजया डायमन्ड, डाबर नेपाल, ग्लोबल आईएमई बैङ्क लिमिटेड र शिखर इन्स्योरेन्सले संस्थाहरूले यस कार्यक्रमलाई सहयोग गरेका छन्।

११ फागुन, २०८०, २३:०१:२६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।