मुखमा मास्क लगाएकी युवतीले एकछिन बच्चा हेर्छु भनेर चोरेर लगिन्

मुखमा मास्क लगाएकी युवतीले एकछिन बच्चा हेर्छु भनेर चोरेर लगिन्

काठमाडौँ : काठमाडौँको थापाथलीमा रहेको प्रसूति तथा स्त्रीरोग अस्पतालको कम्पाउन्ड भित्रबाटै एक महिलाले बच्चा हेरिदिन्छु भनेर चोरी गरेर लगेकी छिन्।

मास्क लगाएको र रातो सल ओढेकी महिलाले जँचाउन आएकी महिलाको बच्चा समातेर सहयोग गर्ने बहानामा बच्चा लिएर भागेकी हुन्। अस्पतालको सिसिटिभीको आधारमा महिलाको भिडियो फेला परेको छ। तर सल ओढेको र मास्क लगाएकाले उनको पहिचान खुलिसकेको छैन।

जिल्ला प्रहरी परिसर, काठमाडौँको टोली बच्चाको खोजीमा खटिएको छ। सिसिटिभी फुटेजमा मास्क लगाएकी महिलाले काखमा बच्चा च्यापेर हिँडेको प्रस्ट देखिन्छ। उनले पहेँलो रङ्गको ब्याग बोकेकी छिन्।

शुक्रवार अस्पतालमा कपनकी २२ वर्षीया सबिना श्रेष्ठले जँचाउन गएकी थिइन्। उनको बच्चा २६ दिन मात्र भएको थियो। ती महिलाले बच्चा हेरिदिने भन्दै लिइन्। सहयोग गर्न खोजेको होला भनेर श्रेष्ठले दिइन् पनि। तर श्रेष्ठको ध्यान अन्तै गएको मौका छोपेर महिला बच्चा लिएर हिँडिन्।

११ फागुन, २०८०, १८:१२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।