एमाले सांसद योगेशको तारोमा चार मन्त्री, संसद्मा बोल्दा होस् नपुर्‍याउँदा फसे प्रधानमन्त्री

एमाले सांसद योगेशको तारोमा चार मन्त्री, संसद्मा बोल्दा होस् नपुर्‍याउँदा फसे प्रधानमन्त्री

काठमाडौं : संसद्मा एमाले सांसदहरूले सरकारका चार मन्त्रीलाई निशानामा लिँदै राजीनामा मागेका छन्।

शुक्रबारको बैठकमा पनि एमाले सांसद योगेश भट्टराईले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत, भौतिक योजना मन्त्री प्रकाश ज्वाला, गृहमन्त्री नारायणकाजी श्रेष्ठ र पर्यटनमन्त्री सुदन किराँतीको राजीनामा मागेका हुन्।

स्वास्थ्य सामाग्री र उपकरण लगायतको खरिदमा भइरहेको अनियमिततामा जोडिँदै आएका भट्टराईले टेरामक्स खरिदको प्रसङ्ग जोडेर मन्त्री बस्नेतको राजीनामा मागेका हुन्।

अख्तियारले छानबिनको दायरामा राखेर बयान लिएको व्यक्ति मन्त्री पदमा रहिरहन योग्य नहुने उनको तर्क थियो। स्वास्थ्यमन्त्रीको रूपमा समेत बस्नेत स्वास्थ्य सामग्री खरिदको अनियमिततामा जोडिँदै आएका छन्।

विश्व बैंकको ऋण सहयोग र सरकारी बजेटमा भइरहेका साढे दुई अर्ब बढीको खरिदमा निश्चित समूहसँग मिलेर स्वास्थ्य सेवा विभागका कर्मचारी समेतको मिलेमतोमा अनियमितता भइरहेकोबारे उकेराले श्रृंखलाबद्ध प्रमाणसहित समाचार प्रकाशन गरिरहेको छ।

भट्टराईले बालकुमारी घटनामा दोषी देखिएका मन्त्री ज्वालाको राजीनामा माग्दै सो घटनाबारे भएको छानबिनको प्रतिवेदन संसद्मा पेस गर्न माग गरेका छन्।

सरकारी छानबिन समितिले नै मन्त्री ज्वालासहित सुरक्षाकर्मीको लापरबाहीका कारण सो घटना घटेको निष्कर्षसहित प्रतिवेदन बुझाइसकेको छ। तर, सरकारले न प्रतिवेदन कार्यान्वयनमा लगेको छ न त सार्वजनिकै गरेका छन्।

ईपीएस परीक्षा विवादमा गोली चल्दा दुई युवाको ज्यान गएको घटनालाई प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सदनमै ‘हत्या’ भनेकाले गृहमन्त्री श्रेष्ठले समेत नैतिकताको आधारमा राजीनामा दिनुपर्ने भट्टराईको माग छ।

भट्टराईले लुम्बिनी विकास कोषका विवादित सदस्यसचिव ल्यारक्याल लामाको बदनियतपूर्ण गतिविधिलाई कारण देखाउँदै पर्यटनमन्त्री सुदन किराँतीको समेत राजीनामा मागेका थिए।

अभिव्यक्तिका कारण किराँती यो सरकारमा रहेका मन्त्रीहरूमध्ये सबैभन्दा धेरै विवादमा तानिएका मन्त्री हुन्।

पछिल्लो समय ल्यारक्याल लामाले गौतम बुद्धको अस्तु धातु भएको रामग्राम प्राइभेट कम्पनीलाई ९९ वर्षसम्मलाई भाडामा दिने प्रक्रिया अगाडि बढाएर विवादमा आएका थिए।

सो निर्णयमा मन्त्री किराँतीसमेत संलग्न रहेको दाबीसहित भट्टराईले उनको समेत राजीनामा मागेका हुन्।

११ फागुन, २०८०, १३:१९:३३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।