प्रधानमन्त्री वा गृहमन्त्रीले जवाफ नदिएसम्म सदन चल्दैन : सांसद शाही

प्रधानमन्त्री वा गृहमन्त्रीले जवाफ नदिएसम्म सदन चल्दैन : सांसद शाही

काठमाडौं : राष्ट्रिय प्रजातन्त्र पार्टीका सांसद ज्ञानेन्द्र शाहीले बालकुमारी घटनाको सन्दर्भमा प्रधानमन्त्री वा गृहमन्त्रीले जवाफ नदिएसम्म सदन नचल्ने चेतावनी दिएका छन्।

शुक्रबार बसेको प्रतिनिधि सभाको बैठकमा सांसद शाहीले बालकुमारी घटनामा दोषी देखिएका मन्त्री प्रकाश ज्वाला लगायतलाई प्रक्राउ गर्नसमेत उनले आग्रह गरेका छन्।

बालकुमारी घट्नामा दोषी देखिएका मन्त्री ज्वालालगायतलाई प्रक्राउ किन नगरेको भनेर प्रधानमन्त्री वा गृहमन्त्रीले रोष्टमबाट जवाफ नदिएसम्म संसद चल्न नदिने चेतावनी दिएका हुन्।

उनले भने, ‘आज प्रधानमन्त्री आउने हो कि गृहमन्त्री आउने हो? हत्या गरेका हत्यारालाई पक्राउ किन नगरेको? रोष्टमबाट जवाफ चाहिन्छ। होइन भने संसद चल्दैन।’

सांसद शाहीले आफ्नो दलको कार्यक्रममा रुमलिएर संसदमा नआउने तर दोष राप्रपालाई दिने भन्दै आक्रोश व्यक्त गरे।

उनले थपे, ‘क्यालेन्डर लागू गरिएको छ। कार्यव्यवस्था समिति बनाइएको छ। सभामुखले बेला–बेला बैठक बोलाउनुहुन्छ। तपाईंहरू चाहिँ गोदावरीमा पार्टीको कार्यक्रम भनेर त्यहिँ रुमल्लिने र संसदमा नआउने? एक महिनामा चार–पाँच पटक भन्दा बढी संसद चलाउन नसक्ने अनि हामीलाई दोष दिने?’

‘सांसदले जनताका आवाज राख्दै जाने, सभामुखले टाउको हल्लाइरहने, मन्त्री र प्रधानमन्त्रीले जवाफ नदिने भए यो संसद किन चलाउन प¥यो?’, उनको प्रश्न छ।

‘सरकारको जवाफ नआउने भए सधैँका लागि सांसदलाई छुट्टी दिएर रत्नपार्कको खुला मञ्चमा गएर भाषण गरे भइहाल्यो नि!’, शाहीले आक्रोश पोखे।

फागुन ११, २०८० शुक्रबार १३:१४:२३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।