क्यानडा र बेलायतका नागरिक कांग्रेस महासमिति बैठकको प्रतिनिधि !

क्यानडा र बेलायतका नागरिक कांग्रेस महासमिति बैठकको प्रतिनिधि  !

काठमाडौँ : नेपाली कांग्रेसको महासमिति बैठकमा पार्टी विधान विपरीत गैर नेपाली समेत महासमिति सदस्यको रूपमा सहभागी रहेको खुलेको छ।

नेपाली जनसम्पर्क समिति बेलायत र क्यानडाबाट महासमिति बैठकमा सहभागी युवराज गुरुङ र बुद्धिप्रकाश ओली गैरनेपाली रहेको प्रमाण उकेराले फेला पारेको छ। यी दुवै बेलायत र क्यानडाका नागरिक हुन्।

उकेराले प्राप्त गरेको प्रमाणमा यी दुवैले बेलायती र क्यानडाको नागरिकको हैसियतमा उतैको राहदानी प्रयोग गर्ने गरेको देखिन्छ।

सरकारले गैर आवासीय नेपालीको नागरिकता सम्बन्धी कानुन बनाइसकेको छ। सो कानुनले पनि गैर नेपाली नेपालीलाई कानुनी अधिकार प्रयोग गर्ने अनुमति दिएको छैन।

नेपालको कानुन अनुसार कुनै नेपाली नागरिकले दोस्रो देशको नागरिक बने लगत्तै स्वतः नेपाली नागरिक निष्क्रिय हुन्छ।

नागरिकता सम्बन्धी कानुनमा नेपाली नागरिकले विदेशी नागरिकता लिएपछि सम्बन्धित देशको दूतावास वा सम्बन्धी जिल्ला प्रशासन कार्यालयमा निवेदन दिएर नागरिकता निष्क्रिय गराउन सक्ने कानुन प्रावधान छ।

रवि लामिछानेको दोहोरो नागरिकताको विवादमा सर्वोच्च अदालतबाट आएको फैसलामा ‘कसैले जानकारी दिएर दोहोरो नागरिक बनिराखेको अवस्थामा सम्बन्धित व्यक्तिले विदेशी नागरिकता लिएको मितिदेखि नै नेपालको नागरिकता निष्क्रिय रहेको र उसले सो नागरिकता प्रयोग गरेर नेपाली नागरिकको रूपमा उपभोग गरेको अधिकार अवैध हुने’ ठहर्याउँदा लामिछानेले मन्त्री, निर्वाचित सांसद र राष्ट्रिय स्वतन्त्र पार्टीको सभापतिको पद गुमाएका थिए।

उनले पछि नेपाली नागरिकता सक्रिय गराएर पार्टी सभापति पदमा फर्किए। उप-निर्वाचनबाट सांसद निर्वाचित भएका थिए।

गुरुङ र ओली बेलायत र क्यानडाको नागरिक भए पनि उनीहरूले नेपाली कांग्रेसका संलग्न भएर राजनीतिक अधिकार प्रयोग गरिरहेको खुल्यो।

यति मात्रै नभएर, यी दुवै नेपाली कांग्रेसको विधानविपरीत नेपाली जनसम्पर्क समिति बेलायत र क्यानडाको अध्यक्ष समेत छन्। यी दुवै कांग्रेस महासमितिको बैठकमा अध्यक्षको रूपमा पदेन सदस्यको हैसियतमा सहभागी भएका हुन्।

नेपाली कांग्रेसको विधान अनुसार नेपाली नागरिक नभई पार्टीको सदस्य हुन पाइँदैन। विधानको परिच्छेद-२ मा रहेको पार्टीको सदस्यतामा यही उल्लेख छ।

विधानमा ‘विविध कारण नेपाल बाहिर रहेका नेपालीहरूलाई सङ्गठित गर्न खुलेको जनसम्पर्क समितिको सदस्य हुने योग्यतामा पार्टीको सदस्य हुन योग्य सदस्य हुने’ उल्लेख छ।

विधानमा कांग्रेसको सदस्यता प्राप्त गरेको एक वर्ष पुगेको नेपाली मूलको नागरिकले जनसम्पर्क समितिको सदस्यता पाउन सक्ने उल्लेख छ। पार्टी विधानको परिच्छेद पाँचमा रहेको नेपाली जनसम्पर्क समितिबारे व्यवस्थामा विदेशस्थित नेपाली नागरिकले जनसम्पर्क समिति गठन गर्नसक्ने उल्लेख छ।

पार्टीको विधान अनुसार गुरुङ र ओलीको जनसम्पर्क समितिको अध्यक्ष र महासमिति सदस्य दुवै पद गैर कानुनी रहेको देखिन्छ। 

कांग्रेस प्रचार विभाग प्रमुख मीन विश्वकर्माले नेपाली नागरिक मात्रै नेपाली जनसम्पर्क समितिको सदस्य र महासमिति सदस्य हुन पाउने बताए।

गैर नेपाली समितिको अध्यक्ष र महासमिति सदस्य भएको हकमा के हुन्छ भन्ने उकेराको जिज्ञासामा उनले भने- ‘कारबाही नै गर्ने भन्ने त हुँदैन। तर, सचेत गराएर पद खारेज हुन्छ।’

१० फागुन, २०८०, ०९:५५:०९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।