राप्रपाको प्रदेश सांसदसहित १९ जनाविरुद्ध भ्रष्टाचारको अभियोग, विशेषमा अख्तियारको मुद्दा

राप्रपाको प्रदेश सांसदसहित १९ जनाविरुद्ध भ्रष्टाचारको अभियोग, विशेषमा अख्तियारको मुद्दा

काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले राष्ट्रिय प्रजातन्त्र पार्टीका प्रदेश सांसद जानकीप्रसाद यादवसहित १९ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरेको छ।

यादव कपिलवस्तुको क्षेत्र नम्बर ३ (२)बाट लुम्बिनी  प्रदेश सभामा निर्वाचित सांसद हुन्। यादव वन व्यवस्थापन समितिका तत्कालीन अध्यक्ष हुन्।

कपिलवस्तुको गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समितिबाट रुख काट्दा भ्रष्टाचार गरेको दाबीसहित अख्तियारले मङ्गलवार विशेष अदालतमा मुद्दा दायर गरेको हो। 

अख्तियारले उनीहरूमाथि १९ लाख १२ हजार रुपैयाँ बराबरको काठ वास्तविक रूपमा काटेकोभन्दा कम परिमाण देखाई हिनामिना गरेको अभियोग लगाएको छ।

जिल्ला वन कार्यालय, कपिलवस्तुका जिल्ला वन अधिकृत कृष्णदत्त भट्टसहित १६ कर्मचारीसँगै काठ किन्ने दुई फर्निचर सञ्चालकलाई समेत अख्तियारले प्रतिवादी बनाएको छ।

तत्कालीन डिभिजनल वन अधिकृत दुर्गा बहादुर कार्की, गौतम बुद्ध साझेदारी वन व्यवस्थापन समिति कार्यान्वयन ईकाइका तत्कालीन संयोजक वन अधिकृत महेन्द्रराज वाग्ले,  सहायक वन अधिकृत  ब्रहमदेव महतो, रेन्जर हेमराज पण्डित, तत्कालीन सहायक वन अधिकृत शिव शंकर प्रसाद समेत प्रतिवादी छन्।

सहायक वन अधिकृत टोलकराज चापागाईँ, सहायक वन अधिकृत लालबाबु झा, सहायक वन अधिकृत गणेश कुमार थारु, तत्कालीन सहायक वन अधिकृत नागेन्द्रप्रसाद सिंह राजपूत, फरेष्टर रामरक्षा कुर्मी (चौधरी), वन रक्षक सञ्जय थारु, वन रक्षक सञ्जय केवट, वन रक्षक रामगोपाल त्रिपाठी, फरेष्टर रमतु चौधरी, वन रक्षक वासुदेव गोडियालाई अख्तियारले प्रतिवादी बनाएको छ।

मिलेमतोमा काठ किनेको भन्दै अख्तियारले गोरखा मनकामना काष्ठ फर्निचर उद्योगका सञ्चालक एकनाथ घिमिरे र एआर काठ दाउरा खरिद बिक्री सेन्टरकी प्रोप्राइटर गीता जिसीलाई समेत प्रतिवादी बनाएको छ। 

८ फागुन, २०८०, १४:५२:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।