परिवर्तनका लागि मधेशी, दलित र महिलाहरूले सबैभन्दा धेरै बलिदान दिएको प्रचण्डको दाबी

परिवर्तनका लागि मधेशी, दलित र महिलाहरूले सबैभन्दा धेरै बलिदान दिएको प्रचण्डको दाबी

काठमाडौं : माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले निरंकुश र सामन्ती राजाहरूको चंगुलबाट फुत्किएका माओवादीहरू दलहरूको चौतर्फी घेराबन्दीमा परिरहेको बताएका छन्।

मंगलबार पार्टीको प्रथम विधान अधिवेशनलाई सम्बोधन गर्दै प्रचण्डले माओवादीले राजनीतिक रंगमञ्चमा ल्याएका दलहरूले माओवादी नेतृत्वलाई हेप्न थालेको बताए।

प्रधानमन्त्री समेत रहेका प्रचण्डले भने, ‘सात राजनीतिक दलहरूलाई त्यति बेलाको निरंकुश र सामन्ती राजाहरूको चंगुलबाट फुत्काउन सक्ने र उनीहरूलाई राजनीतिको रंगमञ्चमा ल्याउन सक्ने शक्ति माओवादी हो। अहिले हामीले कहाँ-कहाँ कमजोरी गर्यौँ, अलि बढि नै हेपाई खाइरहेका छौँ। अहिले माओवादी आन्दोलन, माओवादीको नेतृत्व, एजेन्डा, माओवादीले गरेको त्याग र बलिदानलाई अपमान गर्ने कोसिस तिनै दलहरूले गरिरहेका छन्।’

माओवादी केन्द्रको दूरगामी इतिहास र परिवर्तनको पक्षमा बलिदान दिएको सम्मानका लागि माओवादीहरू एक ठाउँमा उभिन ढिला भइसकेको उनको भनाइ थियो।

उनले भने, ‘देशभरिका कार्यकर्तालाई हाम्रो दूरगामी इतिहास र परिवर्तनका पक्षमा जाग्न अपिल गर्दछु। मधेशी र दलित महिलाहरूले जसले सबैभन्दा बढी यो परिवर्तनका लागि बलिदान दिनुभएको छ। हामीले गरेको आन्दोलनमा सहिद नभएको कुनै जाति छैन। सबैको अस्तित्वलाई सम्मान गरौँ।’

संघीय लोकतान्त्रिक गणतन्त्रविरुद्ध बोल्ने जोसुकैको प्रतिवाद गर्नुपर्ने उनले बताए।

मेडिकल व्यवसायी दुर्गा प्रसाईको अभियानलाई लक्षित गर्दै उनले भने, ‘हामी यो प्रज्ञा प्रतिष्ठानको भवनमा ऐतिहासिक जनयुद्ध दिवस मनाइरहेका बेला राजाका भलौटेहरूले बाहिर संघीय लोकतान्त्रिक गणतन्त्र विरुद्धको कार्यक्रम गर्दैछन्। हिजो पनि हामीलाई सखाप पार्न खोजेकै हुन्। हामी सखाप भएनौँ। जसरी अहिले हामीलाई आरोपित बनाउने खोज्ने दुस्साहस भएको छ। यो क्रान्तिकारी इतिहासलाई अपमान गर्न नदिऔँ।’

 

१ फागुन, २०८०, १४:५७:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।