लुम्बिनीका खेतमा पोखरी खनेर माछापालन, किसान भन्छन्- ‘धानमा भन्दा आठ गुणा बढी फाइदा छ’

लुम्बिनीका खेतमा पोखरी खनेर माछापालन, किसान भन्छन्- ‘धानमा भन्दा आठ गुणा बढी फाइदा छ’

बुटवल : पछिल्लो समय लुम्बिनी प्रदेशमा मत्स्य (माछा) पालनतर्फ किसानहरू आर्कषित हुन थालेका छन्। धान खेतीबाट भन्दा मत्स्य पालनबाट आम्दानी बढेपछि किसानहरूले धान खेत मासेर धमाधम माछा पालन गरिरहेका छन्।

लुम्बिनी प्रदेशका १२ जिल्लामा सबैभन्दा बढी माछा उत्पादन रुपन्देहीमा हुँदै आएको छ। रुपन्देहीको छपिया माछाका स्वाद चाख्ने र माछा पालन गर्न चाहने कृषकका लागि अध्ययनको थलोसमेत बनेको छ।

छपियामा पछिल्लो समय फिसिङ गर्दै माछाका परिकार चाख्न आन्तरिक एवं बाह्य पर्यटकको लर्को नै लागेको छ। भैरहवाबाट १० किलोमिटर नजिक पर्ने छपियामा पर्यटकहरू समेत माछाको स्वाद चाख्न पुग्ने गर्दछन्। अहिले छपियामा सुविधा सम्पन्न रिसोर्टहरू समेत बनिरहेका छन्।

यहाँ सञ्चालनमा रहेका रिसोर्टमा जिउँदो माछासँग खेल्ने, बल्छीले माछा मार्ने र ठूला पोखरीमा डुंगामा घुम्ने रमाउने वातावरण पनि उपलब्ध छन्। माछा पालनमा यहाँका सामान्य किसानसँगै उच्चस्तरका व्यवसायी समेत सहभागी छन्।

कम मिहिनेत र कम समयमा नगद आम्दानी हुने भएकाले किसानहरू व्यावसायिक माछा पालनमा आकर्षित हुन थालेको स्थानीय मत्स्य कृषक कृष्णबहादुर बस्नेत बताउँछन्।

‘धान खेतीमा लगानी र परिश्रम धेरै छ,’ बस्नेतले भने, ‘धान खेतीको तुलनामा माछा पालन धेरै सजिलो र फाइदा सात-आठ गुणा धेरै छ।’

माछा उत्पादन गरेपछि व्यापारी घर-घर आएर जाल थाप्दै तौल अनुरूपको पैसा तिर्ने भएकाले बजारको कुनै समस्या नभएको उनले बताए। त्यसो त रुपन्देहीमा पछिल्ला दुई आर्थिक वर्षमा माछा पालनको क्षेत्र समेत बढेको छ।

किसानहरूले माछाबाट मनग्य आम्दानी हुने भएपछि धान खेतमा पोखरी खनेर माछा पालन गरिरहेका छन्। जिल्लामा माछा पालनको क्षेत्र मात्र बढेको छैन। यहाँबाट वर्षेनी माछा उत्पादन समेत बढेको छ।

मत्स्य विकास निर्देशनालय लुम्बिनी प्रदेशका अनुसार रुपन्देही जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा १ हजार १८७ हेक्टर क्षेत्रफल जलाशयमा माछा पालन गरिएको थियो। जसबाट ६ हजार १७४ मेट्रिक टन माछा उत्पादन भएको थियो।

त्यस्तै आर्थिक वर्ष ०७९/०८० मा १ हजार २४१ हेक्टर जलाशयमा माछा पालन गरिएकोमा ६ हजार ५७७ मेट्रिक टन माछा उत्पादन भएको प्रदेश पशुपन्छी तथा मत्स्य विकास निर्देशनालयका निमित्त प्रमुख डा. प्रवेश सिंह कुँवरले बताए।

उनले समग्रमा प्रदेशमा हेर्दा पछिल्लो दुई बर्षमा माछा पालन र उत्पादन बढेको बताए। उनले आर्थिक वर्ष २०७८/७९ को तुलनामा आर्थिक वर्ष २०७९/८० मा मत्स्य उत्पादन ४ दशमलव १९ प्रतिशतले बढेको बताए।

उनका अनुसार प्रदेशभर आर्थिक वर्ष २०७८/०७९ मा २ हजार १ हेक्टर क्षेत्रफलमा माछा पालन गर्दा १३ हजार ७०६ दशमलव १३ मेट्रिक टन माछा उत्पादन भएको छ।

त्यस्तै गत आर्थिक वर्षमा २ हजार ८६६ हेक्टर क्षेत्रफलमा माछा पालन गर्दा १४ हजार २८१ द्यशमलव १३ मेट्रिक टन उत्पादन भएको उनले बताए। उनले प्रदेशका १२ जिल्लामा रुकुम पुर्वमा बाहेक सवै जिल्लामा माछा पालन हुने गरेको बताए।

‘त्यहाँ माछा पालन भएपनि रेडर्कमा आउने गरी भएको छैन। ११ जिल्लामा माछा पालन भइरहेको छ’ उनले भने, ‘कुनै जिल्लामा भने कृत्रिम पोखरी तयार गरेर पनि माछा पालन भइरहेको बताए।’

रुपन्देही सहित कपिलवस्तुमा पनि माछा पालनको सम्भावना बढी रहेको उनको भनाइ छ। कपिलबस्तुमा जिल्लामा २०७८/०७९ मा ५५२ हेक्टर जलाशयमा २ हजार ७०८ मेट्रिक टन माछा उत्पादन भएकोमा पछिल्लो आर्थिक वर्षमा ५६० हेक्टरमा २ हजार ७४४ मेट्रिक टन माछा उत्पादन भएको निर्देशनालयले जनाएको छ।

नवलपरासी जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा २२६ हेक्टरमा माछा पालन गर्दा १ हजार ८५ मेट्रिक टन उत्पादन भएको थियो। त्यस्तै आर्थिक वर्ष ०७९/०८० मा भने २७८ हेक्टर जलाशयमा १ हजार ३९० मेट्रिक टन माछा उत्पादन भएको छ।

बर्दिया बर्दिया जिल्लामा गत आर्थिक वर्षमा २ हजार ८६ मेट्रिक टन माछा उत्पादन भएको छ। आर्थिक वर्ष २०७८/०७९ भने १ हजार ९२७ मेट्रिक टन माछा उत्पादन भएको थियो । गत आर्थिक बर्षमा नवलपरासीमा ४३४ हेक्टर क्षेत्रफलमा माछा पालन भएको थियो।

बाँके जिल्लामा आर्थिक वर्ष ०७८/०७९ मा २७७ हेक्टर क्षेत्रफलमा १ हजार ३०३ मेट्रिक टन माछा उत्पादन भएकोमा आर्थिक वर्ष ०७९/०८० मा १९५ हेक्टरमा ९३६ मेट्रिक टन माछा उत्पादन भएको छ।

पाल्पा जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा १६ हेक्टर क्षेत्रफलमा माछा पालन गर्दा ५० मेट्रिक टन माछा उत्पादन भएको थियो भने पछिल्लो वर्ष १८ हेक्टर क्षेत्रफलमा माछा पालन गर्दा ५४ मेट्रिक टन उत्पादन भएको छ।

यस्तै दाङमा आर्थिक वर्ष २०७८/०७९ मा ९५ हेक्टरमा माछा पालन गरिएकोमा ३९९ मेट्रिक टन उत्पादन भएको छ। गत आर्थिक वर्षमा १०३ हेक्टर क्षेत्रफलमा माछा पालन गर्दा ४३२ मेट्रिक टन उत्पादन भएको निर्देशनालयले जनाएको छ।

पहाडी जिल्ला गुल्मीमा पनि माछा पालनमा बृद्धि भएको छ। आर्थिक वर्ष २०७८/०७९ मा ११ हेक्टर क्षेत्रफलमा माछा पालन गर्दा २१ टन माछा उत्पादन भएको छ। त्यस्तै गत बर्ष १२ हेक्टर क्षेत्रफलमा २३ टन माछा उत्पादन भएको छ।

 

अर्घाखाँची जिल्लामा भने दुवै वर्ष माछा पालनको क्षेत्रफल र उत्पादन बराबर छन्। पछिल्ला दुई आर्थिक बर्षमा त्यहाँ ६ हेक्टर क्षेत्रफलमा माछा पालन गर्दा १२ मेट्रिक टन उत्पादन भएको छ।

प्युठान जिल्लामा आर्थिक वर्ष ०७८/०७९ मा १० हेक्टर क्षेत्रफलमा माछा पालन गर्दा १६ मेट्रिक टन उत्पादन भएको छ। गत वर्ष १२ हेक्टर क्षेत्रफलमा माछा पालन गर्दा १८ मेट्रिक टन माछा उत्पादन भएको छ।

रोल्पा जिल्लामा आर्थिक वर्ष २०७८/०७९ मा ४ हेक्टर क्षेत्रफलमा ५ मेट्रिकटन माछा उत्पादन भएको छ भने गत आर्थिक वर्षमा ५ हेक्टर क्षेत्रफलमा माछा पालन गर्दा ६ मेट्रिक टन माछा उत्पादन भएको छ।

लुकिछिपी भित्रन्छन् सीमाबाट माछा
लुम्बिनी प्रदेशमा माछा उत्पादन बढे पनि सीमा पारीबाट भने माछा लुकिछिपी भित्रिने गरेको पाइएको छ। रुपन्देही प्रहरीले माघ १७ र २३ गते बरामद गरेको माछाबाट पनि सिमा पारीबाट लुकिछिपी माछा जिल्लामा भित्रिने गरेको पुष्टि हुन्छ।

भन्सार छली चोरी निकासी गरी अवैध बैखि जातका माछा ईलाका प्रहरी कार्यालय बुटवलले माघ १७ गते बरामद गरेको थियो। ८ वटा बोरामा ६ सय केजी प्रतिबन्धित बैखि जातका मरेका माछा फेला परेको इलाका प्रहरी कार्यालय बुटवलका प्रमुख  विजयराज पण्डितले बताए।

त्यस्तै ईलाका प्रहरी कार्यालय बुटवलले माघ १७ गते बुटवल उपमहानगरपालिका वडा नं.५ हाटबजार लाईनबाट भन्सार छलेर नेपाल भित्राइएको २ हजार केजी माछा बरामद गरेको थियो।

अबैध मरेको माछा रितपुर्वक बरामदगरी माछा ओसार पोसार गर्ने कपिलबस्तु कपिलबस्तु नगरपालिका वडा नं १ बस्ने वर्ष २३ को शिव कुमार यादव र बुद्धभूमी नगरपालिका वडा नं.२ बस्ने वर्ष ३४ को सजहार पखियालाई नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागि भैरहवा भन्सार कार्यालय पठाइएको डिएसपी पण्डितले बताए।

२८ माघ, २०८०, १४:१०:२० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।