९ औं सँस्करणको मणिमुकुन्द राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता भोलिदेखि

९ औं सँस्करणको मणिमुकुन्द राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता भोलिदेखि

बुटवल : मणिमुकुन्द भलिबल क्लबले आयोजना गर्ने ९ औं सँस्करणको राष्ट्रिय पुरुष भलिबल प्रतियोगिता भोलिदेखि सुरू हुँदैछ। पहिलो खेलमा पुलिस क्लब र सुदुरपश्चिमबीच प्रतिस्पर्धा हुने आयोजकले जनाएको छ।

लुम्बिनी प्रदेश खेलकुद परिषद प्रवर्द्धक तथा मुख्य प्रायोजक, नेपाल भलिबल संघ संयोजक र मणिमुकुन्द भलिबल संघको आयोजनामा हुने प्रतियोगिताको बिहीबार भएको टेक्निकल मिटिङमा रेफ्री कमिस्नर पुर्णप्रसाद चौलागाईंले गोलाप्रथामार्फत पोल विभाजन गरि टाईसिट प्रकाशित गरे।

शुक्रबार हुने खेलमा आयोजक लुम्बिनी प्रदेशले एपीएफसँग प्रतिस्पर्धा गर्ने छ। कम नकआउटका आधारमा खेलाइने लिग प्रतियोगितामा १० टिमलाई दुई वटा पोलहरू राखिएको छ।

सुर्खेतमा सम्पन्न ३४ औं राष्ट्रिय भलिबल प्रतियोगितामा विजेता पुलिस, उप-विजेता एपीएफ क्लब, तेस्रो बनेको गण्डकी प्रदेश र चौथो भएको नेपाल आर्मी क्लबलाई पोल विभाजन गरिएको कमिस्नर चौलागाईंले बताए। जसअनुसार पोल 'ए' मा पुलिस, नेपाल आर्मी, मधेश प्रदेश, कोशी प्रदेश, सुदूरपश्चिम प्रदेश रहनेछन् भने पोल 'बि' गण्डकी र एपीएफ, लुम्बिनी, कर्णाली, बागमती प्रदेश रहेका छन्।

कार्यक्रममा प्रदेश खेलकुद परिषद लुम्बिनीका सदस्य सचिव जयप्रकाश भट्टराईले दशकपछि आयोजना हुन लागेको प्रतियोगितालाई सफलतापुर्वक सम्पन्न गर्न सबैको जिम्मेवारी हुने बताए।

कार्यक्रममा नेपाल भलिबल संघ केन्द्रीय सचिव झग बहादुर मिदुन, क्लबका अध्यक्ष लोक बहादुर भण्डारीले नेपालको राष्ट्रिय खेल घोषणा भएको भलिबललाई सरोकारवाला संघसंस्थाहरू लाग्न जरुरी रहेको बताए।

२५ माघ, २०८०, १९:४३:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।