३२ अर्बमा बनेको विमानस्थलबाट ३६ हजार यात्रु मात्र आवातजावत, डेढ वर्षमा तीन करोड घाटा

३२ अर्बमा बनेको विमानस्थलबाट ३६ हजार यात्रु मात्र आवातजावत, डेढ वर्षमा तीन करोड घाटा

बुटवल : रुपन्देहीको भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन भएको डेढ वर्षमा ३६ हजार यात्रुले विमानस्थलबाट उडान/अवतरण गरेको छन्।

०७९ जेठ २ गते बाट विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान सुरू भएको थियो। सञ्चालनको डेढ वर्षमा विमानस्थलबाट ३६ हजार १०६ यात्रुले उडान/अवतरण गरेको गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्यन प्राधिकरण कार्यालयले जनाएको छ।

सन् २०२३ डिसेम्बर ३० सम्मको तथ्याङ्कअनुसार कुल ४२६ उडान/अवतरण भएका छन्। कुल ४ सय ३० अन्तर्राष्ट्रिय उडानमार्फत ती यात्रुले उडान भरेका हुन्।

कार्यालयका महाप्रबन्धक हंशराज पाण्डेले आगमनतर्फ १५ हजार ५२६ जना र प्रस्थानतर्फ २० हजार १ सय ५५ जना यात्रुले विमानस्थल प्रयोग गरेका हुन्। उनका अनुसार जजिरा एयरवेजले कुवेत-भैरहवा-कुबेत सेक्टरमा कुल २५२ नियमित उडान तथा अवतरण गरी ३० हजार ३ सय ३८ यात्रु आवतजावत गराएको छ।

त्यस्तै हिमालयन एयरलाइन्सको भैरहवा-क्वालालम्पुर-भैरहवा सेक्टरमा ६८ चार्टर्ड उडान गरी ४ हजार ४ सय ९९ यात्रु आवातजावत गराउँदा नेपाल एयरलायन्सले ५० उडान गरेको छ। ती बाहेक अन्य विभिन्न देशका ५६ निजी तथा चार्टर्ड उड़ान अवतरण भएको छ।

हाल विमानस्थलबाट नेपाल वायुसेवा निगमले मलेसियाको क्वालालम्पुर-भैरहवा-काठमाडौं सेक्टरमा प्रत्येक मंगलबार एक दिन नियमित उडान गर्दै आएको छ। निगमको उडानमार्फत अहिलेसम्म १ हजार १ सय ३६ यात्रु मलेसियाबाट आएको महाप्रबन्धक पाण्डेले बताए।

नेपाल वायुसेवा निगमको कनेक्टिङ फ्लाइटमार्फत दिल्ली र हङकङ जान चाहने यात्रुहरूका लागि सो सुविधासमेत उपलब्ध छ। हाल भने ३ हप्तादेखि नेपाल एयरलायन्सले उडान नगरेको उनले बताए।

‘मौसम र आफ्नै कारण देखाउँदै ३ हप्तादेखि उडान भएको छैन। आउने मंगलबार पनि उडान सेड्युल छ। तर आउने/नआउने ठेगान छैन’, उनले भने।

त्यस्तै विमानस्थल सञ्चालन यता कार्गो १ हजार ५८२ केजी आयात/निर्यात भएको छ। भैरहवा विमानस्थलबाट १ हजार ३५६ केजी कार्गो निर्यात हुँदा २ सय २६ केजी आयात भएको छ।

आम्दानी भन्दा खर्च बढी
विमानस्थलबाट अन्तर्राष्ट्रिय उडान भएयता विमानस्थलले नाफा कमाउन सकेको छैन। अहिलेसम्म करिब ३ करोड रुपैयाँ विमानस्थलले घाटा व्यहोरेको विमानस्थलकै तथ्याङ्कले बताउँछ।

०७९/०८० मा विमानस्थलले कुल २७ करोड ४३ लाख १९ हजार ५२३ रुपैयाँ मात्र आम्दानी गरेको छ। तर, खर्च भने ३० करोड ४१ लाख ५२ हजार ३१६ रुपैयाँ भएको छ। यो खर्च पुँजीगततर्फ १० करोड १० लाख ३० हजार र चालुतर्फ १८ करोड ९ लाख ९९ हजार रुपैयाँ हो।

खर्चबाट मात्र २ करोड २१ लाख रुपैयाँ विमानस्थलले कर तिरेको छ। अहिले नियमित उडान नहुँदा विमानस्थलमा कर्मचारी कटौती भइरहेको छ। कुल १४१ दरबन्दी रहेकोमा हाल कार्यरत कर्मचारीको संख्या ७४ मात्र छ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको विकल्पको रूपमा निर्माण गरिएको यो विमानस्थलमा लुम्बिनी भ्रमणमा आउने पर्यटकका लागि बौद्ध धर्म बाहुल्य चीन, जापान, भियतनाम, श्रीलंकालगायत मुलुकबाट उडान हुने नागरिक उड्डयन प्राधिकरणको अपेक्षा थियो।

नेपाली कामदार जाने खाडी मुलुकहरूबाट पनि उडान हुने अपेक्षा गरिएको थियो। तर, अपेक्षाअनुसार विमानस्थलमा वायुसेवा कम्पनीहरूले उडानका लागि चासो देखाएका छैनन्।

‘हामीले पूर्वाधार तयार गरेर उडानका लागि तयार पारेका छौँ। तर, विदेशी वायुसेवा कम्पनीहरूले उडानका लागि कम चासो देखाउनुभएको छ। हाम्रो पूर्वाधार, बजार हेरेर उडानका लागि आउन म कम्पनीहरूलाई आग्रह पनि गर्दछु’, कार्यालयका महाप्रबन्धक पाण्डेले भने।

गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्यन प्राधिकरण कार्यालयका महाप्रबन्धक हंशराज पाण्डेउनले अहिले पनि अन्तर्राष्ट्रिय उडान अवतरण गर्दा लाग्ने ल्यान्डिङ, पार्किङ लगायत अन्य सबै शुल्कहरू पूर्ण रूपमा छुट रहेको तथा ग्राउण्ड ह्याण्डलिङमा नेपाल वायुसेवाले ५० प्रतिशत छुट पाइरहेको बताए।

स्वदेशी विमान सेवा कम्पनीहरूलाई यहाँबाट उडान गर्न बाध्य बनाउन सकिए पनि अन्तर्राष्ट्रिय विमान सेवा कम्पनीहरूलाई भने अनुरोध तथा आग्रह मात्र गर्न सकिने हुन्छ।

‘ती देशसँग भएको हवाई सम्झौता अनुसार गर्नुपर्ने हुन्छ, तापनि हामी ती विदेशी हवाई सेवा कम्पनीहरूलाई कसरी भैरहवाबाट उडान आकर्षित गर्न सकिन्छ भनेर लागि परिरहेका छौं’, पाण्डेले भने।

रात्री बास यहिँ गरेर अन्तर्राष्ट्रिय उडान गर्ने अन्तर्राष्ट्रिय विमान सेवा कम्पनीलाई विशेष सेवासुविधा उपलब्ध गराउने गरी आकर्षित गर्ने काममा अघि बढेको उनको भनाइ छ। विमानस्थल एशियाली विकास बैंकको आठ अर्ब ऋणसहित करिब ३२ अर्बको लगानीमा बनेको हो।

विमानस्थल हेरेर लगानी गरेको व्यवसायीहरू संकटमा
गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थललाई हेरेर यस क्षेत्रमा ठूला लगानीका होटल र पर्यटक पूर्वाधार बनिरहेका छन्। तर, विमानस्थल अपेक्षित ढङ्गले सञ्चालन नहुँदा अहिले व्यवसायी मर्कामा परेका छन्।

अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि लुम्बिनीमा पर्यटकको ओइरो लाग्ने भन्दै यस क्षेत्रमा सुविधा सम्पन्न स्तरीय होटलहरू खुले पनि अहिले केही होटल बन्द हुने अवस्थामा पुगेका छन्। कतिपय होटलहरू बैंकको लोन तिर्न नसकेपछि बैंकलाई नै बुझाउन बाध्य भएका छन्।

लुम्बिनीमा रहेको होटल ‘ग्रान्ड कस्मो लुम्बिनी’ सञ्चालन आएको केही वर्षपछि नै संकटमा परेको छ। ३५ वटा ‘भीआईपी रूम’ सहित टपमा ‘स्वीमिङ’ पुल जडित यो होटल सञ्चालक  अक्रामउद्दिन खानले २० करोडको लगानीमा निर्माण गरेका थिए। तर, कोभिड महामारी र विमानस्थल पूर्ण क्षमतामा सञ्चालन हुन नसक्दा यो होटल तानेको हो।

त्यस्तै अहिले आर्थिक संकटमा गुज्रिएपछि लुम्बिनीमा रहेको ‘पवन प्यालेस’ समेत संकटमा छ। भैरहवाका पवन हलुवाइले विमानस्थललाई देखेर २ अर्ब ५० करोड रुपैयाँमा निर्माण गरेको यो होटल अहिले बिक्रीमा छ। बैंकको ब्याज र होटलले बिजुली पानीको पैसा समेत तिर्न सक्ने अवस्था नभएपछि बिक्री गर्नुपर्ने अवस्था आएको पवनको भनाइ छ।

होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीयी त केही प्रतिनिधि उदाहरण मात्र हुन्। होटल तथा रेष्टुरेन्ट व्यवसायी संघ रुपन्देहीका अध्यक्ष लेखनाथ भण्डारीले विमानस्थललाई लक्षित गरेर खोलिएका सुविधा सम्पन्न एक सय बढी होटलहरू बन्द भइसकेको बताए।

‘विमानस्थल हेरेर पर्यटक लक्षित होटलहरूमा अर्बौं रुपैयाँ लगानी भएको छ,’ उनले भने, ‘तर अहिले होटल सञ्चालन अकुपेन्सी समेत नहुँदा होटल धमाधम बन्द हुने अवस्थामा पुगेका छन्।’

उनले सरकारले अर्बौं रुपैयाँ लगानी गरेर तयार गरेको विमानस्थललाई पूर्ण क्षमतामा सञ्चालन गर्न गम्भीर पहल कदमी गर्नुपर्नेमा समेत जोड दिए।

‘रुट इजाजतका लागि भारतसँग गम्भीर तवरले कुरा गरेर ल्याउनुपर्छ। विदेशी विमान कम्पनीलाई आकर्षित गर्न भारी छुट गरेर भएपनि विमानस्थल सञ्चालनमा ल्याउन जरुरी छ। यसो भएमा मात्र सिंगो रुपन्देहीको विकास र प्रदेशकै विकास हुन सक्छ’, उनले भने।

यता सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष ठाकुरकुमार श्रेष्ठले नियमित उडान नहुँदा निजी क्षेत्रको लगानी अन्योलमा परेको भन्दै सरकारसँग विकल्प दिनसमेत माग गरे।

२२ माघ, २०८०, ११:२३:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।