डा. पप्पुको उपचार अनुभव: सुत्केरी हुन नसकेकी महिलाको ज्यान जोगाउन परिवारले नै पेट खुर्पाले चिरेर क्षत विच्छेद बनाए

डा. पप्पुको उपचार अनुभव: सुत्केरी हुन नसकेकी महिलाको ज्यान जोगाउन परिवारले नै पेट खुर्पाले चिरेर क्षत विच्छेद बनाए

करिब २१ वर्ष अघि डा. पप्पु रिजाल नेपालगन्जमा रहेको नेपालगन्ज मेडिकल कलेज (अस्पताल)मा थिए। उनी नेपालगन्ज मेडिकल कलेजमा एमबिबिएस अध्ययन सकेर इन्टर्नसिप गरिरहेका थिए। त्यो दिन दिउँसो डा. पप्पु अस्पतालमा ड्युटीमा नै थिए।

सुत्केरी हुन नसकेर स्वास्थ्य अवस्था जटिल भएकी करिब ३५ वर्षकी महिलालाई उपचारका लागि सेनाको हेलिकप्टरबाट अस्पतालमा ल्याइयो।

ती महिला कुन ठाउँकी थिइन् अहिले डा. पप्पुले बिर्सिए। अस्पतालमा आकस्मिक कक्षमा उपचारका लागि भर्ना गरियो। महिलाको अवस्था जटिल बनिसकेको थियो। चिकित्सकको टिमले तुरुन्तै उपचार थालिहाल्यो। टिममा डा. पप्पु पनि थिए।

अस्पताल पुर्याउँदा रक्तस्राव भएर ती महिलाको शरीरको रगत नै सकिन लागिसकेको अवस्था थियो। त्यसैले अस्पतालकै चिकित्सक तथा स्वास्थ्यकर्मीको टिमले महिलालाई बचाउन रक्तदान गरे। महिलालाई रगत दिइयो।

महिलाको गर्भमा रहेको बच्चा निकाल्ने उपचारको क्रममा चिकित्सकको टिमले महिलाको स्वास्थ्य जाँच गर्दा पेटमा एकातर्फको भागमा पेटको तल्लो भागदेखि हड्डी र करङको भागसम्म सिधा खुकुरी वा कुनै हतियारले काटेको जस्तो देखियो।

त्यो चोटका कारण समेत रक्तस्राव भइरहेको थियो। चोट देखेपछि उपचारसँगै चिकित्सकको टिमले के कारणले चोट लागेको हो भनेर सोधखोज गर्यो।

महिलालाई सुत्केरी व्यथाले च्यापेछ। केही दिन सुत्केरी व्यथाले च्यापे पनि घरमा सुत्केरी हुन नसकेपछि ती महिलालाई नजिकको स्वास्थ्य चौकी पुर्याइएछ। तर, त्यहाँ पनि सुत्केरी गराउन सम्भव भएन।

स्वास्थ्य चौकीले समेत सुत्केरी गराउन नसकेपछि महिलाका परिवार तथा आफन्तले निरास हुँदै घरमा लिएर फर्किए अनि महिलाको ज्यान बचाउने अन्तिम उपाय भनेर श्रीमान् लगायतले खुर्पाले पेट चिरेर गर्भको बच्चा निकाल्ने कोसिस गरेछन्। बच्चा निकाल्न भन्दै पेट चिर्दा महिलाको करङ समेत काटिएर क्षत विच्छेद भएछ। तर, बच्चा निस्किएन। खुर्पाले पेट चिर्दा पनि बच्चा ननिस्किएपछि महिला बाँच्ने आशा नै मारिएको रहेछ। सेनाले थाहा पाएर हेलिकप्टरबाट नेपालगन्ज मेडिकल कलेज पुर्याइदिएको रहेछ।

बच्चा निकाल्न खुर्पाले घरैमा गर्भवती महिलाको पेट चिरेर बच्चा निकाल्ने प्रयास गरेको सुन्दा उपचारमा संलग्न चिकित्सकको टिम नै चकित पर्यो।

महिलाको पाठेघरमा बच्चा तेर्सो परेर बसेको थाहा भयो, जसले गर्दा बच्चा जन्मन सकेको रहेनछ। यसरी गर्भमा बच्चा तेर्सो परेको अवस्थामा तुरुन्तै शल्यक्रिया गरेर बच्चा ननिकालिएको खण्डमा आमा र गर्भको बच्चा दुवैको ज्यान जोखिममा पर्ने डा. पप्पुले सुनाए।

शल्यक्रिया गरेर ती महिलाको गर्भमा रहेको बच्चा निकालियो। तर, गर्भमै बच्चाको मृत्यु भइसकेको थियो। खुर्पाले चिर्दा काटिएको पेट सिलाउने लगायत उपचार विधि अपनाइयो। चिकित्सकको टिमले ती महिलाको काटिएको हड्डी र करङलाई सही अवस्थामा फर्काएर ठीक बनाउने प्रयास गर्यो।

धन्य ! ती महिलाको शल्यक्रिया सफल भयो। मृत्युको मुखमा पुगिसकेकी महिलाको ज्यान बाँच्यो। करिब १५ दिन आइसीयुमा राखेर उपचार गर्नुपरेको डा. पप्पुलाई सम्झना छ पछि ती महिला स्वस्थ भएर डिस्चार्ज भइन्।

OOO

डा. पप्पु प्रसूति तथा स्त्री रोग विशेषज्ञ हुन्। उनी अहिले सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत छन्।

उनले विशेषगरी प्रसूति तथा स्त्रीरोगका विषयमा महिलाको सुख दुःख नजिकबाट नियालेका छन्। प्रसूति तथा स्त्रीरोगको समस्या भएका महिलाको औषधि, उपचार गर्नु तथा परामर्श दिनु र चिकित्सा शास्त्रका विद्यार्थीलाई पढाउनु उनको दैनिकी हो। यही विषयमा खोज तथा अनुसन्धानमा समेत उनी उत्तिकै सक्रिय छन्। उनीसँग उकेराले चिकित्सकीय पेसाको सिलसिलामा देखे भोगका सुख दुःखका विषय कुरा गर्दा यस्ता धेरै घटना सुनाए उनले। अर्को अनुभव :

OOO

नेपाली कांग्रेसका महामन्त्री तथा प्रतिनिधिसभा सदस्य विश्वप्रकाशको शर्माको  समन्वय तथा सक्रियतामा झापाका विभिन्न ठाउँमा महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ सुरु भयो।

करिब सात वर्षअघि स्वास्थ्य शिविर लिएर उनीसहितको टोली झापा पुग्यो। करिब १८ वर्षकी युवती भविष्यमा आफूलाई क्यान्सर लाग्ने सम्भावना छ कि छैन भनेर स्वास्थ्य परीक्षण गर्न आइन्।

ती युवतीको स्वास्थ्य परीक्षण गर्दा क्यान्सर नै भइसकेको थाहा भयो। उनलाई पाठेघरको मुखको क्यान्सर सुरु भएर पहिलो चरण (स्टेज–१) मा पुगिसकेको रहेछ।

पाठेघरको क्यान्सर रोकथाममा प्रभावकारी भूमिका खेलेकोमा डा पप्पु विभिन्न संस्थाबाट सम्मानित समेत भएका छन्।तर, युवतीमा क्यान्सरको कुनै लक्षण देखिएको थिएन। रोगकै लक्षण नदेखिएकाले ती युवती परीक्षणका लागि अस्पताल गएकी थिइनन्।

उनमा न दुखाई थियो न त अन्य कुनै लक्षण नै। अनि उनीसहितको टिमले ती युवतीलाई तत्काल अस्पताल पठायो थप परीक्षण र उपचारका लागि । शल्यक्रिया गरेर युवतीको पाठेघरको मुखमा भएको क्यान्सरको निदानको प्रक्रिया अगाडि बढ्यो।

त्यो स्क्रिनिङ अभियान नचलाएको भए ती युवतीको शरीरमा क्यान्सर फैलिएर जटिल भइसकेको अवस्थामा मात्र उपचार सुरु हुन सक्थ्यो। स्वास्थ्य शिविरका कारण पहिलो चरणमै रहेको क्यान्सर पत्ता लाग्दा उनको ज्यान जोगियो।

असुरक्षित गर्भपतन गर्दा पाठेघर नै फुटेपछि...

१६ वर्षअघि वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा प्रसूति तथा स्त्रीरोग विषयमा एमडी अध्ययन गर्दा असुरक्षित गर्भपतनको प्रयास गरेर स्वास्थ्य जटिल भइसकेकी युवती अस्पताल आएको घटना पनि उनी सम्झिरहन्छन्। असुरक्षित गर्भपतनका कारण पाठेघर फुटेको, पाठेघर नै बाहिर निस्किएको,  भ्रूण अड्किएको, आन्द्रा नै प्वाल परेको, रक्तस्राव भएर मृत्युको मुखमा पुगेका कैयौँ महिलाको उपचार गरेका छन् उनले ।

उनको अनुभवमा प्रत्येक महिना २-३ जना महिला तथा युवती असुरक्षित गर्भपतनका कारणले स्वास्थ्य जटिल भएपछि उपचारका लागि प्रतिष्ठान आउने गरेको सम्झन्छन् उनी। यसरी आउने कतिपयको ज्यान समेत जोगाउन सकेन उनको टिमले।

नेपालमा कानुनी गर्भपतनको सुविधा भए पनि यस्ता घटनाहरू दोहरिइरहेको देख्दा उनलाई दुख लाग्ने रहेछ। कारणसहित सुरक्षित रूपमै गर्भपतन गराउन सकिन्छ। तर चेतना अनि लोकलाजका कारण धेरैले अनाहकमा जोखिम मोलिरहेको भेटिन्छन्।

केही वर्षयता भने असुरक्षित गर्भपतन गराउँदा स्वास्थ्य जटिल भएर आउनेहरूको सङ्ख्या घटेको बताए उनले।

छनोटमा डाक्टरधरानमा जागिर

रोहित २०३५ मा मोरङको साबिक सलकपुर (हालको सुन्दर हरैँचा नगरपालिका)मा जन्मिए। अहिले भने उनी मोरङको विराटनगरमा बस्छन्।

उनले १० कक्षासम्म विराटनगरमा नै अध्ययन गरे। विराटनगरकै सेन्ट जोसेफ स्कुलबाट २०४९ मा एसएलसी गरेपछि आईएस्सी अध्ययनका लागि दक्षिण भारतको आन्ध्र प्रदेश पुगे। उनले भिज्नान को–अपरेटिभ कलेजबाट ११-१२ कक्षा उत्तीर्ण गरेर नेपाल फर्किए।

रोहितलाई डाक्टर बन्ने खूब रहर। त्यसैले उनले डाक्टरी विषय अध्ययनको तयारी गरे। नभन्दै उनले डाक्टरी विषय अध्ययन गर्ने मौका पनि पाए। काठमाडौँ विश्वविद्यालय अन्तर्गतको नेपालगन्जस्थित नेपालगन्ज मेडिकल कलेजमा सन् १९९७ मा एमबिबिएस अध्ययनका लागि उनी भर्ना भए। सन् २००२ मा उनको एमबिबिएस अध्ययन पूरा भयो।

सन् २०१८ मा प्रतिष्ठानका परिवारहरुसँग डा पप्पु।एमबिबिएस अध्ययन सक्नासाथ डा. पप्पु सुनसरीको धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मेडिकल अधिकृतका रूपमा करारमा जागिरे भए। तर, उनलाई थप अध्ययन गर्नु थियो। थप अध्ययनको मौका पनि पाए। सन् २००५ मा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा चिकित्सा शास्त्रको स्नातकोत्तर तहको प्रसूति तथा स्त्रीरोग विषयमा एमडी अध्ययनका लागि भर्ना भए। सन् २००८ मा उनको एमडी अध्ययन पूरा भयो।

एमडी अध्ययन सक्नासाथ उनले वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा नै करार जागिरेको रूपमा काम सुरु गरे। सन् २०१० मा उनी प्रतिष्ठानमा स्थायी भए।

हाल डा. पप्पु प्रतिष्ठानमा नै ‘एडिस्नल प्रोफेसर (उपप्राध्यापक)’का रूपमा कार्यरत छन्। उनीसँग सन् २०१९ देखि सन् २०२१ सम्म दुई वर्ष प्रतिष्ठानको अस्पतालको उपनिर्देशकको रूपमा काम गरेको अनुभव समेत छ। त्यसपछि उनले अस्पतालको प्रसूति तथा स्त्रीरोग विभागको प्रमुखको जिम्मेवारीमा समेत रहेर गत पुससम्म तीन वर्ष काम गरे।

तीन वर्षमा ५७ को गर्भवतीको मृत्यु

डा. पप्पु अध्ययन अनुसन्धानमा पनि सक्रिय छन्। उनका विभिन्न अनुसन्धानात्मक लेख राष्ट्रिय तथा अन्तर्राष्ट्रिय जर्नलहरूमा प्रकाशित छन्।

केही वर्ष अघि फिगो नामक प्रसूति तथा स्त्रीरोग सम्बन्धी संस्थामा इटलीमा पुगेर वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको अस्पतालमा मृत्यु भएका गर्भवती महिला सम्बन्धी अध्ययनको वैज्ञानिक अनुसन्धानात्मक रिपोर्ट प्रस्तुत गरेका थिए।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा त्यो बेला तीन वर्षको अन्तरालमा ५७ जना महिलाको प्रसूतिसम्बन्धी जटिलताका कारण अस्पतालमा मृत्यु भएको देखिएको उनले सुनाए।

त्यो बेला गर्भवतीको मृत्यु हुनुको प्रमुख कारण उच्च रक्तचाप देखिएको थियो। दोस्रोमा अत्यधिक रक्तस्राव थियो। तर, सामान्य किसिमको औषधि नपाएका कारण गर्भवतीको मृत्यु भएको देखिएको उनले सुनाए।

पछिल्लो समयमा भने सरकारको विभिन्न कार्यक्रम तथा स्वास्थ्य संस्थामा बिस्तारै पहुँच पुग्दै गएको र समयमा औषधी पाएका कारण गर्भवतीमा मृत्युदर घट्दै गएको उनको अनुभव छ।

१८ हजारको परीक्षणमा सात सयमा पाठेघरको मुखको क्यान्सरको जोखिम

सन् २०१२ तिर डा. पप्पुले अस्ट्रेलियामा प्रसूति तथा स्त्री क्यान्सर रोग सम्बन्धी केही महिना तालिम लिएर थप ज्ञान तथा सीप बढाए। त्यसैगरी चितवनको भरतपुर क्यान्सर अस्पतालमा पनि यो विषयमा केही महिना उनले तालिम लिए।

महिलाको पाठेघरमा हुने  क्यान्सरसम्बन्धी ज्ञान तथा सीप सिकेपछि धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा महिलाको पाठेघरमा हुने क्यान्सर सम्बन्धी जटिल किसिमका शल्यक्रिया समेत सुरु गरिएको उनले सुनाए।

नेपालमा महिलामा हुने पाठेघरको क्यान्सरको समस्या जटिल समस्या भएको उनले सुनाए।

रोग नै लाग्न नदिन सामाजिक रूपमा जनचेतना फैलाउने काममा समेत उनी सक्रिय छन्। सन् २०१० मा सरकारले नेश्नल सर्भाइकल क्यान्सर स्क्रिनिङ एन्ड प्रिभेन्सन कार्यक्रमको सुरुवात गर्यो। त्यो गाइडलाइन बनाउन उनी पनि सहभागी थिए।

स्वास्थ्य मन्त्रालय अन्तर्गतको त्यो टिममा बसेर उनले महिलामा हुनसक्ने पाठेघरको क्यान्सर पत्ता लगाउने कार्यक्रममा सक्रिय भूमिकामा रहे।  

महिलाको पाठेघरमा क्यान्सरको जोखिम कत्तिको छ भन्ने विषय पत्ता लगाउन भिआइए नामक स्क्रिनिङ टेस्ट समेत गर्न सकिने उनले सुनाए।

विशेषगरी १५ देखि ४० वर्ष उमेर समूहका महिलामा भिआइए परीक्षण गरिन्छ। त्यो परीक्षणले भविष्यमा क्यान्सर हुन सक्ने वा नसक्ने भन्ने बेलैमा थाहा पाउन सकिन्छ।

सन् २०१८ सम्म करिब ६ वर्षको अवधिमा करिब १८ हजार  महिलाको पाठेघरको मुखको भविष्यमा क्यान्सर हुन सक्ने वा नसक्ने बारेको भिआइए परीक्षण गरिएको उनले सुनाए।

यो अध्ययन अनुसार परीक्षण गरिएकोमध्ये करिब ३५ जना महिलामा पाठेघरको मुखको क्यान्सर भएर पहिलो, दोस्रो र तेस्रो चरण (स्टेज–१, स्टेज–२, स्टेज–३) नै पुगिसकेको खुलेको थियो।

१८ हजार जनाको परीक्षण गरिएकोमा करिब सात सय महिलामा भविष्यमा पाठेघरको मुखको क्यान्सर लाग्न सक्ने लक्षण देखिएको थियो। क्यान्सरको लक्षण देखिएका ती महिलाको बेलैमा उपचार गरेर भविष्यमा क्यान्सर हुनबाट बचाउन पाउँदा उनी खुसी देखिए।

माघ २०, २०८० शनिबार १६:५८:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।