सप्तरी जान उपेन्द्रलाई नै सकस ! विश्वविद्यालयको भवन शिलान्यासको आवरणमा शक्ति प्रदर्शनमा जनमत

सप्तरी जान उपेन्द्रलाई नै सकस ! विश्वविद्यालयको भवन शिलान्यासको आवरणमा शक्ति प्रदर्शनमा जनमत

काठमाडौँ : मधेस कृषि विश्वविद्यालयको भवन शिलान्यासको प्रमुख अतिथिको विवादले पुन जनमत पार्टी र जनता समाजवादी पार्टीको नेतृत्व आमनेसामने भएका छन्।

माघ ८ मा विश्वविद्यालयको भवन शिलान्यासका लागि जसपाका अध्यक्ष उपेन्द्र यादवलाई प्रमुख अतिथि बनाउने भएपछि जनमत पार्टीका नेता कार्यकर्ता विरोधमा उत्रिएका छन्। उनीहरूले विश्वविद्यालयमा तालाबन्दी गरेर यादवलाई रोक्ने तयारीमा छन्।

यादवलाई रोक्न जवर्जस्ती गरिए द्वन्द्व भड्किने भन्दै जनमतका अध्यक्ष सिके राउतले गृह मन्त्रालयलाई पत्र पठाएका छन्। गाउँ-गाउँमा भाटा लिएर जसपाका नेता कार्यकर्ता बसेको र यादव आए शान्तिशुरक्षा भड्किने भन्दै उनले केन्द्रीय सरकारलाई नै यादवलाई सप्तरीमा आउन नदिन पत्र पठाएका छन्।

यति मात्रै हैन मधेस सरकारमा सहभागी जनमतका शिक्षा तथा संस्कृति मन्त्री महेशप्रसाद यादवले आफू सह- उपकुलपति तथा विश्वविद्यालयको अध्यक्ष भए पनि विश्वविद्यालय हुने कार्यक्रमको विषयमा केही जानकारी नभएको र अध्यक्षको अनुमति नलिई कार्यक्रम गर्नु विवाद निम्त्याउने प्रयास रहेको दाबी गर्दै विज्ञप्ति नै निकालेका छन्।

उनले विज्ञप्तिमा 'अप्रिय घटना घटेमा त्यसको जिम्मेवार मन्त्रालय नहुने' चेतावनी समेत दिएका छन्। जनमतका स्थानीय नेता तथा कार्यकर्ताहरूले समेत यादव प्रमुख अतिथि बन्नुलाई आफ्नो राजनीतिक प्रतिष्ठाको विषय बनाएर विरोध प्रदर्शनमै उत्रिएका छन्। उनीहरूले विश्वविद्यालयमा तालाबन्दी गरिसकेका छन्।

यता प्रदेश सरकार र विश्वविद्यालयको नेतृत्व भने जसरी पनि सोमबार कार्यक्रम गर्ने तयारीमा छन्।

शिलान्यासलाई प्रतिष्ठाको विषय बनाउँदा तनाव

आफ्नो पहलमा विश्वविद्यालय आएको र त्यसका लागि संसद् विकास कोषको रकम समेत दिएकाले कृषि विश्वविद्यालय जनमत पार्टीको उपलब्धिको रूपमा जनमत जस लिने पक्षमा छ। यता जसपा पनि विश्वविद्यालयको जस लिन चुक्नेपक्षमा छैन।

विश्वविद्यालय सप्तरी-२ निर्वाचन क्षेत्रमा छ। सो क्षेत्रबाट उपेन्द्र यादव गत निर्वाचनमा पराजित भए। सिके राउत निर्वाचित भए। त्यसयता राउत समूह निर्वाचन क्षेत्रलाई यादवको प्रभावमुक्त बनाउने प्रयासमा छ।

उप-निर्वाचनमा यादव बारा-२ मा उम्मेदवार बनेर विजयी भए। बारामा पनि यादवलाई हराउन जनमतले सक्दो प्रयास गरे पनि सफल भएन। गठबन्धनको बलमा उनी निर्वाचित भए।

बारा-२ बाट निर्वाचित भए पनि यादव सप्तरी-२ मा सक्रिय हुने प्रयासमा छन्। जनमत रोक्ने पक्षमा छ। त्यसैले यी दुवै दलका नेताहरू विश्वविद्यालय भवन शिलान्यासलाई बहाना बनाएर शक्ति प्रदर्शनमा लागेका छन्।

जनमतका नेता तथा कार्यकर्ता जसरी पनि यादवलाई रोक्ने पक्षमा छन् भने जसपाका नेता तथा कार्यकर्ताहरू जसरी पनि यादवबाटै शिलान्यास गराउने पक्षमा छन्।

मधेस सरकार समेत यसमा विभाजित देखियो। मुख्यमन्त्री सरोजकुमार यादव आफ्नो पार्टीका अध्यक्ष ल्याएर भवन शिलान्यास गर्ने पक्षमा देखिएका छन्। शिक्षामन्त्री महेशप्रसाद यादव आफ्नो पार्टीको अध्यक्ष सिके राउतबाट शिलान्यास गराउने पक्षमा देखिएका छन्।

*सप्तरी हुनेपर्नेमा सिरहा भएकोमा सच्याइएको छ।

७ माघ, २०८०, २०:५६:०५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।