सामाजिक सञ्जालले गर्दा पत्रकारिता समस्यामा पर्यो, मान्छेहरू गाली खाने डरले सत्य बोल्न डराउँछन् : अर्थमन्त्री

सामाजिक सञ्जालले गर्दा पत्रकारिता समस्यामा पर्यो, मान्छेहरू गाली खाने डरले सत्य बोल्न डराउँछन् : अर्थमन्त्री

काठमाडौं : अर्थमन्त्री डा. प्रकाशशरण महतले सामाजिक सञ्जालका कारण पत्रकारिता समस्यामा परेको बताएका छन्।

आज गोविन्द वियोगी पत्रकारिता पुरस्कार हस्तान्तरण तथा वरिष्ठ पत्रकार सम्मान समारोहलाई सम्बोधन गर्दै मन्त्री डा. महतले देशको आर्थिक अवस्थाले मात्र पत्रकारिता समस्यामा परेको नभई सामाजिक सञ्जालका कारण भएको बताए।

उनले भने, ‘सूचना प्रविधिको विकासले परम्परागत सञ्चारमाध्यम जोखिममा परेका छन्। हात–हातमा स्मार्ट फोन छ, त्यहाँ जसले जे पनि राख्न पाउँछ। कतिपय झुटा कुरा पनि सेयर भइरहेका हुन्छन्। हेर्दा हेर्दै त्यही कुरा मानिसलाई सत्य लाग्न थाल्छ। आम मानिसले गम्भीर कुरा चाहिँ पढ्न छाडे। मानिसहरू गहिराइमा जान छोडे। टिकटकमा रमाउन थाले। गहिराइमा पुगेर सत्य तथ्य बुझेर विचार बनाउने मानिसहरूले छाडे। यो अत्यन्तै खतरनाक हो।’

उनले थपे, ‘बीपी कोइरालाले भन्नुभएको थियो। जब सत्यको मुख बन्द हुन्छ, झुटोको थुतुनो चल्छ। अहिले सामाजिक सञ्जालबाट धेरैजसो झुटोको थुनुतो चलेको छ। सत्य बुझेकाहरू गाली खाइछ भनेर चुप लागेर बसेका छन्। सामाजिक सञ्जालमा मात्र निर्भर हुनुहुँदैन। मूलधारका सञ्चारमाध्यमलाई पनि अगाडि ल्याउनुपर्छ। परम्परागत सञ्चारमाध्यमको विश्लेषण हुन्छ। छलफल हुन्छ। जिम्मेवारी हुन्छ। निरन्तरता लिइराखेको हुन्छ। यसलाई मर्न दिनु हुँदैन।’

प्रतिबन्धित अवस्थामा पनि निर्भिक भएर पत्रकारितामार्फत् आफ्नो कुरा राख्नु चानचुने कुरा नभएको उनले बताए।

उनले भने, ‘यसलाई रोक्न कसिलो मौद्रिक नीति आयो। लगानीको प्रतिफल नआउँदा दायित्व बढ्यो। ब्याज वृद्धि भयो। त्यो बेला ऋण लिएका ऋणी समस्यामा छन्। यो समस्या अहिले मुख्य छलफलको विषय बनेको छ।’ 

फरक प्रसंगमा उनले थपे, ‘आर्थिक वृद्धि पहिलेको तुलनामा बढ्छ। लगानीको नयाँ क्षेत्रको पहिचान गर्नुपर्छ। अर्थतन्त्रमा देखिएको अन्योल समाप्त हुँदैछ। सञ्चारकर्मी साथीहरूले सकारात्मक भाष्यलाई अगाडि बढाउनु हुनेछ। यसले आत्मविश्वास बढाउँछ।’

६ माघ, २०८०, १८:२१:२७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।