कलाकार रामचन्द्र अधिकारीको हिजोका कुरा : ‘पुन्टे दमाई’ क्यारेक्टर हिट भएपछि जनै देखाउँदासमेत धेरै चिया पसलेले अलग्गै राखे

कलाकार रामचन्द्र अधिकारीको हिजोका कुरा : ‘पुन्टे दमाई’ क्यारेक्टर हिट भएपछि जनै देखाउँदासमेत धेरै चिया पसलेले अलग्गै राखे

नेपालमा पुराना र चर्चित कलाकार हुन् रामचन्द्र अधिकारी। वि.सं.२०१२ सालमा काठमाडौंको गोठाटारमा जन्मिएका अधिकारीले दुई कक्षामात्र औपचारिक शिक्षा लिएका छन्। तर, अभिनयमा उनी विद्यावारिधी गरेजत्तिकै छन्।

३६ सालमा जोरपाटी चोकमा मञ्चन भएको नाटक ‘सच्चा प्रेम’मा ‘काका’को भूमिका निर्वाह गरेपछि उनी निरन्तर कलायात्रामा लागे। अहिलेसम्म उनले चार सयभन्दा बढी नेपाली फिल्ममा अभिनय गरेका छन् भने सयौं टेलिफिल्ममा काम गरिसकेका छन्।

उनले भारतको जीटिभीको टेलिश्रृंखला ‘अगले जनम मे मोहे बेटिया कीजो’मा समेत अभिनय गर्ने मौका पाए। उमेरले ६८ पुगेका अधिकारी अहिले पनि दर्जनौं टेलिफिल्ममा अभिनय गरिरहेका छन्।

पछिल्लो समय उनी हास्य टेलिश्रृंखला ‘मेरी बास्सै’मा काजीको भूमिकामा लोकप्रिय छन्। त्यस्तै जनचेतना मुलक नाटकमा उनी विभिन्न जिल्लामा हिँडिरहेका छन्।

नेपाल दूरसञ्चार कम्पनीबाट अवकाश भइसकेका अधिकारीले बुधबार उनकै निवास गोठाटारमा उकेराकर्मीसँग आफ्ना ‘हिजोको कुरा’ स्मरण गरे।

जोरपाटी चोक नाटक हेर्नेको भिड 
२०३५ सालमा हामीले जोरपाटी चोकमा पिपलको बोट थियो। त्यहाँ स्टेज बनाएर नाटक ‘सच्चा प्रेम’ मञ्चन गरेका थियौँ। भैरव अर्यालको एउटा उपन्यासलाई नाटकमा रुपान्तरण गरेर बाबुराजा अर्यालले नाटक बनाउनुभएको रहेछ। त्यस नाटकको निर्देशनमा परिच्छेद ढुङ्गाना हुनुहुन्थ्यो। उहाँहरूले जोरपाटीको पिपलको रुखसँगै कपडाले बारेर पर्दा स्टेज बनाउनुभएको रहेछ। त्यो समयमा त अहिलेको जस्तो भीडभाड, घरै-घर कहाँ थियो र? खुला थियो। त्यसबेला जोरपाटी युवा क्लब र बौद्ध युवा क्लब मिलेर नाटक सुरु गरौँ भनेर थाल्नुभएको रहेछ।

म त्यो बेलामा बागमती तरेर जोरपाटी पुगेपछि मात्रै लुगा र जुत्ता लगाएर अफिस आउनेजाने गर्थेँ। त्यो बेलामा बागमती तर्न पुल थिएन।  आउजाउ गर्दा जोरपाटीका साथीहरूले ‘ल रामचन्द्रलाई पनि नाटकमा खेलाउनुपर्छ’ भनेर सल्लाह राख्नुभएको रहेछ। अनि म अफिसबाट फर्कँदा एक जना केशव बराल भन्ने साथीले ‘तिम्रो पनि रोल छ रामचन्द्र’ भनेर रिहर्सलमा बोलाउनुभो।

त्यहाँ पुग्दा माहोल नै अर्कै थियो। सबैले नाटक गर्नुपर्छ भनेर हौसला दिनुभयो। बौद्धका अच्युत अर्याल नायक हुनुहुन्थ्यो भने हेमन्त शाक्यले पनि खेल्नुभएको थियो अनि केशव बराल लगायत थुप्रै कलाकारहरू थियौँ। अहिले मलाई सबैको नाम ठ्याक्कै आएन। त्यस नाटकमा नायिका चाहिँ पुजना प्रधानकी आमा गोमाले खेल्नुभएको थियो।

नर्मल घर जस्तोलाई स्टेज बनाइएको थियो। दर्शकतिर कपडाको पर्दा राखिएको थियो। स्टेजमा कलाकार आउने समयमा खोल्ने अनि बन्द गर्ने। मलाई अहिले पनि याद छ, स्टेजको पर्दा खुलेपछि नै पहिलो सिन मेरो थियो। म त्यो बेला पनि काकाकै रोलमा थिएँ। दाजु बितेपछि दाजुको छोरी पालेको कथा थियो अनि छोरी कतै गएकी तर बेलुकासम्म घर नफर्केपछि छोरीलाई बोलाउनुपर्ने सिन थियो।

पर्दा झ्याप्प खोलेर स्टेजमा आउदाखेरि तीन हजारजति दर्शक देखेँ। जोरपाटी चोकको रोड सबै वारीपारी दर्शकले भरिएका थिए। त्यो देख्दा झसङ्ग पनि भएँ। तर, आफ्नो सिन गरेँ मैले। छोरीको नाम लिएर ‘गोमा! ए गोमा, यतिबेलासम्म आइपुगिन त!’ भन्ने डाइलग थियो मेरो। त्यो बोल्दा दर्शकले अत्यधिक मन पराइदिए। यतिबेला मेरो अलिअलि दाह्री आएको थियो। मैले काकाको रोल निभाएको थिए।

नाटकको पहिलो दिन के भयो भने नाटक गर्ने भनेर घोषणा गरियो। नाटक सुरु भएपछि बत्ती झ्याप्प गयो। अनि त्यो बेलामा प्रधानपञ्च चक्र बहादुर ठकुरीले स्टेजबाट नै आज ट्रान्समिटर पड्केको भन्ने खबर आयो। यो नाटक भोलि यहि समयमा हुनेछ भन्नुभएको थियो। उहाँले त्यो भनेपछि विज्ञापन भएछ। भोलिपल्ट नाटक हेर्नका लागि पाँच हजारभन्दा बढी दर्शक जोरपाटी चोकमा उपस्थित भए।

त्यहाँ नाटक हेरिसकेपछि परिच्छिद ढुङ्गानाले ‘सबैभन्दा राम्रो अभिनय तिम्रो भो’ भनेर श्री समूह भन्ने नाट्य समूहमा आबद्ध गराउनुभयो। त्यहाँ ‘अँध्यारो उज्यालो’ नाटक हुने रहेछ। उहाँले बेलुका ‘शंकर देव क्याम्पसमा आऊ’ भन्नुभयो। त्यतिबेला मेरो सिंहदरबारमा नेपाल टेलिकममा जागिर थियो। नजिकै भएपछि अफिस छुटेर म त्यहाँ पुगेँ।

त्यहाँ पुगेपछि कृष्ण मल्ल, चन्द्रमाला शर्मा, बौद्धको चक्र लामा, रवि खड्का, केदार कार्की, बिष्णु शर्मा लगायत थुप्रै हुनुुहुन्थ्यो। उहाँहरू नाटकको रिहर्सल गरिरहनुभएको रहेछ। अनि रवि खड्काले ‘मैले जोरपाटीमा नाटक गराएको थिएँ, सबैभन्दा राम्रो नाटक गरेको थियो रामचन्द्रले’ भनेर चिनाउनुभयो। सबैले ‘ल ठिक छ’ भन्नुभयो। अनि म उहाँहरूका रिहर्सल हेरेर बसेँ।

कृष्ण मल्ल सरलाई परिच्छित गुरुले ‘ऊ राम चन्द्र अधिकारी। मैले नाटक गराएको थिएँ। राम्रो गरेको छ’ भनेपछि उहाँले ‘ए! यसमा पनि छ नि त एउटा रोल’ भनेर एउटा डाइलग बोल्न लगाउनुभयो मल्ल सरले। मैले बोलेपछि ल ठिक भन्नुभयो सबैजनाले। अनि मैले त्यहि ‘अध्याँरो उज्यालो’मा अभिनय गर्ने मौका पाए। यो नाटक सभागृहमा मञ्चन भएको थियो अनि ३१ शो चलेको थियो।

त्यो समयमा अहिलेको जस्तो मोटर गाडीको सुविधा थिएन। अफिसले दिएको साइकल थियो। त्यसैमा दौडिन्थेँ। नाटक हुँदा म यतै बस्थेँ। किनभने आउजाउ गर्न असहज थियो त्यो बेला। बागमती नदी तरेर जानुपथ्र्यो। कठिन नै थियो।

मेरो अभिनयप्रतिको लगाव बढ्दै गयो। तेस्रो नाटक ‘लैजाउ जोवन’मा मेरो अलिक लामो रोल दिनुभएको थियो। अघिल्लो नाटक ‘अँध्यारो उज्यालो’मा घरमा काम गर्नेको रोल पाएको थिएँ।

‘तिमीलाई उसले मोइ खान चाहन्छ रे’ भनेकै भरमा स्कुल छोडेँ
मैले तेज विनायक स्कुल गोठाटारमा नै पढ्न थालेको थिएँ। तर, मैले यहाँ धेरै कक्षासम्म पढ्न पाइनँ। जम्मा २ वर्ष स्कुल पढेँ। म घरको जेठो छोरो। मेरा दुई भाइ र एउटी बहिनी हुन्। स्कुलबाट आएर भाइबहिनी हेर्नुपर्थ्यो। त्यस्तै-त्यस्तै भयो मैले पढ्न सकिनँ। म कक्षामा ट्यालेन्ट विद्यार्थी थिए। सरले पढाउनु भन्दा अघिल्लो दिन नै म सबै पाठ घोकेर सरलाई सुनाउँथेँ।

एक दिन स्कुलमा पढ्ने साथीहरूले एउटा केटीलाई ‘तलाई फलानाले मोइ खान चाहन्छ’ भन्न लगाए। मैले उनीहरूले भने अनुसारकै कुरा गरिदिएँ। त्यो केटीले घरमा गएर कुरा सुनाइछन्। सुनाएपछि मेरो बुवाको कानमा पनि यो कुरो आइपुगिथहाल्यो। ‘रामचन्द्रले फलानाको छोरीलाई यसो भन्यो रे’ भनेर।

बुवाले ‘तैँले के फटयाइँ गरिस् हँ, फलानाले तलाई कुट्न आउँदैछन्’ भनेर थर्काउनुभयो। त्यो दिनदेखि डर लागेर म कहिल्यै स्कुल गइनँ। घरबाट भागेर मावल भक्तपुरको नालास्थित घिमिरे गाउँ गएँ। अहिलेको जस्तो टेलिफोन केहि पनि हुँदैनथ्यो। हाम्रो घर माटाको खरको छानो, छिमेकीहरूको टायलको छानो, कसैको झिँगटीको छानो, कसै-कसैले टिनको छानो पनि लगाउन सुरु गरेका थिए।

गोठाटारदेखि बौद्ध, जोरपाटी पुरै खेतबारी थियो। बजार जानुपर्दा बौद्ध बजार भन्थेँ, त्यता जान्छे मान्छेहरू। अहिले ती कुराहरू सम्झँदा यस्तो होला भनेर सोच्न पनि सक्दिन म। किनभने त्यति धेरै घर बढे, शहर बढे। बागमतीको किनारमा खेतीपाती गरिन्थ्यो। मेला गइन्थ्यो। अहिले त घरैघर भएका छन्। अचम्म लाग्छ। उब्जाऊ हुने कुरा सबै सकियो।

पढ्ने लोभले इलाहवादपुगेँ, पथलैयाको जंगलामा माटो बोक्ने काम
हाम्रो एक रोपनी जति जग्गा जमिन थियो। त्यसबाट हुने उब्जाउले छ महिना पनि खान नपुग्ने। अनि मामा घरमा पुगेपछि शहरमा नै बस्नुपर्छ भन्ने कुरा भयो। बौद्धमा डेरामा बस्ने गुरुङकोमा काम गर्न बसेँ। मैले त्यहाँ भाडा माझ्ने, लुगा धुने सबै काम गर्थेँ।

यति गर्दा पनि उहाँहरूले काममा चित्त बुझ्दो भएन भन्ने खाल्को कुरा गरेपछि त्यहाँबाट निस्किएर म बालुवाटारमा एकजना राणाजीको घरमा काम गर्न बसेँ। त्यहाँ काम गर्दागर्दै उहाँले ‘हेटौंडा जानुपर्छ’ भन्नुभयो। उहाँको उता पनि घर रैछ। ‘उतै जाउ’ भन्ने कुरा गरेपछि म गएँ। त्यहाँ घरमा ब्राह्मण आएर कार्जे गरे। उनलाई मैले नै पकाएर खुवाउनुपर्ने। अनि सँगै मेरो रुममा सुताउने भन्ने कुरा भयो।

राति सुत्ने बेलामा ती ब्राह्मणले मलाई ‘घर कहाँ हो? कति पढेको?’ भनेर सोधे। मैले सबै नालीबेली सुनाएपछि ‘यसरी बसेर हुँदैन’ भने। ‘मैले भारतको इलाहवादमा मान्छे चिनेको छु। उतै काम पनि गर्ने अनि पढ्ने पनि’ भनेपछि मैले हुन्छ भनेँ।

‘भोलिपल्ट अलिक पर कुइनेटोमा म चार बजे पुग्छु, तिमी पनि अलिक अबेला गरेर आऊ’  भनेपछि मैले हुन्छ भनेँ अनि साढे चार बजे त्यहाँ पुगेँ। उनी त्यहाँबाट इलाहवाद गएनन्, वीरगञ्जमा अर्का एक जनासँग साथ लगाएर पठाइदिए। त्यहाँ पनि मलाई पढाएनन्।

त्यहाँ जसको घरमा बसेको थिएँ, उनीहरू नेपालकै थिए। उनीहरू नेपाल आउने क्रममा म पनि सँगै आएँ। उनीहरू घर आइपुगेपछि म भने आफ्नो बाटो लागेँ। पथलैयाको जंगलमा आउँदा बाटो बनाउनेहरू प्लास्टिकले बेरेर बसेका रहेछन्। मैले त्यहाँ काम मागेँ। उनीहरूले भारी बोक्ने काम दिने भए। त्यो दिन के-के थियो अलि-अलि खाना दिए।

भोलिपल्ट डोकोमा माटो, बालुवा अनि जे-जे हाल्दिन्छन् बोकेँ। त्यहि क्रममा मैले चिनेकै दाइले त्यो रोड बनाउने ठाउँमा रोडा बालुवा बोकेको गाडी लिएर आए। मलाई देखेपछि ‘तँ कहाँबाट यहाँ? हिँड’ भनेर एक जना इन्जिनियरको घरमा राखिदिनुभयो।

त्यो इन्जिनियरको घरमा म परिवारजस्तै भइसकेको थिएँ। एक दिन ती इन्जिनियर काठमाडौं एक हप्ताका लागि आउने हुनुभयो। ‘घर पुगेर आउछौ त?’ भन्नुभयो। मैले हुन्छ भनेँ र उहाँहरूकै गाडीमा काठमाडौं आए। घर पुगेँ। घरपरिवारसँग भेट नभएको पनि दुई वर्ष बितिसकेको थियो।

बुवाको सिफारिसमा दुरसञ्चारमा जागिर
म विभिन्न ठाउँमा घुम्दै घर फर्किएपछि बुवाले छिमेकीसँग काम मिलाइदिन भन्नुभयो। ती छिमेकी बुवा नेपाल दूरसञ्चार समितिमा जागिर खानुहुन्थ्यो। अनि उहाँले मलाई भोलिपल्ट सिंहदरबार बोलाउनुभो।

त्यो बेला सिंहदरबार छिर्न ढाका टोपी अनिवार्य रैछ। म त्यतिकै सिंहदरबार पुगेँ। मलाई त्यतिकै देखेपछि छिमेकी बुवाले नै कता-कता टोपी खोजेर लगाइदिएर मलाई सिंहदरबार छिराए। उहाँले सुरूमा इन्जिनियरहरूलाई खाजा-नास्ता बनाउनेमा काम लगाइदिनुभयो।

मैले पिउनको रूपमा काम गरेँ। बाहिरबाट आएको सामानहरू भित्र राख्ने अनि मिलाउने गर्नुपथ्र्यो। एक दिन मेरो नयाँ कमिज बाक्सा निकाल्दा च्यातियो। त्यो दिन कमिजको माया लागेर मैले जागिर छोडेर मामाघर गएँ।

काममा नगएको खबर घरमा पुगेपछि किन रहेछ भनेर सोधखोज भएछ। मैले ‘मेरो कमिज च्यातियो त्यहाँ काम गर्दिनँ’ भनेँ। त्यसपछि छिमेकी बुवाकै ठाउँमा खाजा पानी हेर्ने पिउनको रूपमा काम गरेँ।

त्यसरी पिउनको जागिर खाएको ४० वर्षपछि मैले अवकास पाए। अर्थात ७० सालमा अवकाश पाएको हो। 

फिल्मको यात्रा 
नाटकको दौडानमा नै थिएँ म। २०३६/३७ सालमा ‘बासुदेव’ नामक फिल्म बन्ने भयो। नीर शाहको निर्देशन र विनोद चौधरीको लगानीमा फिल्म बन्ने भयो। म पनि जोडिएँ। मैले तुलसी घिमिरेको ‘कोसेली’ फिल्ममा पण्डित बाजेको रोल गरेको थिएँ। यता यादव खरेल सरले बनाउनुभएको फिल्म ‘चेलीबेटी’मा दलितको भूमिका निर्वाह गरेको थिएँ।

दलितको भनेर साहुनीले अलग्गै राखिन् 
सिरियल ‘टाढाको बस्ती’मा दुर्गम गाउँको दलित ‘पुन्टे दमाई’को भूमिका थियो मेरो। त्यो सिरियल एकदमै चलेको थियो। हरेक मान्छेहरूले यो सिरियल हेर्थे। म असन बजार जाँदा पनि मान्छेहरूले ओए ‘पुन्टे दमाई’ भनेर बोलाउँथेँ। म ‘पुन्टे दाइ’ भनेर चर्चित थिएँ।

एक दिन सुर्यविनायकमा युवराज लामा सरको एउटा फिल्मको सुटिङका लागि गाको थिएँ। त्यहाँ जाँदा एउटा घुम्तीमा चिया पसल थियो यहि चिया खाएर जाउँ भन्ने कुरा भयो। मलाई ती चिया पसलकी साहुनीले ‘पुन्टे दमाई’ भनेर चिनिन्।

मलाई ती साहुनीले चिया पसलभित्र पस्नै दिइनन्। दमाई भनेर अलग्गै राख्न खोजिन्। म दमाई हैन, अधिकारी बाहुन हुँ भनेर जनै देखाउँदा समेत पत्याइनन्। साथीहरूले पनि ‘रामचन्द्र अधिकारी हो’ भनेर विश्वास दिलाएपछि मात्रै ‘खै! हो कि हैन’ भन्दै चिया दिइन्। नत्र मलाई टाढाटाढै राख्थेँ।

मेरो अभिनयले राजारानीले समेत चिन्थेँ
३७ सालमा युवराज धिरेन्द्र शाह र नीर शाह सभागृहमा नाटक हेर्न आउनुभएको थियो। धिरेन्द्र सरकार स्टेजमा आएर ‘राम्रो छ’ भनेर धाप मार्नुभएको थियो। मेरो त्यो नाटकमा एउटा सिन थियो, त्यो सिनमा मैले अभिनय गरेको देखेर उहाँ हाँस्नुभएछ। मेरो अभिनयबाट प्रभावित भएपछि स्टेजमा नै आएर बधाई दिँदै धाप मार्नुभएको थियो। जुन कुरा अहिले पनि म सम्झन्छु।

हाइभिजन हल भनेर भृकुटी मण्डपमा खोलिएको थियो। त्यहाँ हाम्रो सिरियल ‘चक्रव्यूह’ हेर्न र हल उद्घाटन गर्न आउँदा श्रुतिले आमा ऐश्वर्यलाई साडीमा तानेर मतर्फ देखाउँदै कलाकार भनेर चिनाउनुभएको थियो। श्रुतिले त्यसरी चिनाउँदा ऐश्वर्यले ‘म चिन्छु’ भनेर मुस्कुराउँदै जानुभएको थियो। म त्यो बेला हर्षले प्रफुल्लित भएको थिएँ। मैले सबै कुरा जितेको जस्तो भइरहेको थियो।

राजा वीरेन्द्रले पनि मलाई चिन्नुहुँदो रहेछ। वीरेन्द्रको जन्मोत्सवका बेला म पनि नारायाणहिटी गाको थिएँ। त्यहाँ जाँदा फूलको माला लिएर लाइनबाट सर्दैसर्दै वीरेन्द्रको अगाडि पुगेँ। ‘म कलाकार रामचन्द्र अधिकारी’ भनेपछि उहाँले ‘म चिन्छु’ भन्नुभयो। उहाँ मसँग बोल्ने इच्छा गर्दै हुनुुहुन्थ्यो। तर, मेरो पछाडी कठालोमा समाएर एडिसीले अर्कोतिर ठेल्दिहाल्यो।

राम्ररी मुखै नहेरी बिहे 
मेरो ३४ सालमा मागी विवाह भएको हो। मेरो छिमेकी हजुरबुवाले ‘तलाई म केटी हेर्न लैजान्छु’ भनेर काभ्रे लैजानुभो। म जाँदा उनी (सीता)बारीमा खन्दै थिइन्। अनुहार पनि पूरा हेरेको होइन मैले। हाइट मेरो ठ्याक्कै मिल्ने।

‘मलाई त मनपर्यो हजुरबुवा’ भनेँ मैले। त्यहाँबाट फर्किएपछि बिहेको तयारी भयो। आमासँग भक्तपुर गएर पाँच सयको एक तोला सुन किनेँ अनि यहि गुहेश्वरीमा १५ सय रुपैयाँमा मेरो विवाह भयो।

मेरो जेठो छोरो ३७ सालमा जन्मियो। तीन तीन वर्षको फरकमा माइला, कान्छो र छोरी जन्मिइन्। जेठो छोरा बुहारी मसँगै घरमा छन् भने माइलो अष्ट्रेलियामा इन्जिनियर छ। उतै दुई नाति नातिना छन्।

कान्छो छोरो न्यूरो सर्जरीको डाक्टर छ अमेरिकामा। हामी अनपढ भएपनि, छोराछोरीहरू राम्रो शिक्षादिक्षा पाएर राम्रो ठाउँमा छन्। खुशी छु।

४ माघ, २०८०, १४:२१:४१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।