निर्मला अनि भागरथी बाँचेका भए त्यो पनि 'वान नाइट स्ट्यान्ड' हुन्थ्यो होला है !

निर्मला अनि भागरथी बाँचेका भए त्यो पनि 'वान नाइट स्ट्यान्ड' हुन्थ्यो होला है !

ठमेलको एक होटेल सञ्चालकले आफ्नै ग्राहक अमेरिकी महिलाको बलात्कार गरेको सूचना आयो। सोर्हखुट्टे वृत्तमा उजुरी परेको थियो।

'ठमेलको होटेलमा अमेरिकी महिलाको बलात्कार' शीर्षकमा मात्र समाचार लेख्न चित्त बुझेन। अङ्ग्रेजी फिल्मका दृश्यको प्रभावले' सेतो छाला भएका युवतीहरूका लागि त सेक्स भनेको केही पनि हैन, जोसँग, जहाँ पनि सुत्न तयार हुन्छन्' भन्ने सोच दिमागमा गढेको थियो।

त्यसैले जाहेरी नै हेर्न मन लाग्यो। वृत्त पुगेर तत्कालीन कार्यालय प्रमुखसँग घटनाबारे बुझेँ। उनी आफैँ कन्फ्युज रहेछन्। उनले घटना विवरण सुनाएपछि भने 'नेपाली भएको भए त यो केसै हुन्न। अब विदेशी महिला परिन्। दूतावासले चासो राख्छ।

मलाई पनि लाग्यो, 'यो कसरी बलात्कार?'छक्क परेँ। घटना विवरणै त्यस्तै थियो।

ती महिला पर्यटक लामो समयदेखि ठमेलको त्यही होटेलमा बसेकी थिइन्। कतै कुनै विषयमा मतभेद भएपछि बलात्कारमा फसाउन लागेकी पो हो कि! यस्तै लाग्यो।

वृत्तका डिएसपीले जे बताए जाहेरी त्यही अनुसार छ या छैन हेर्न मन लाग्यो। हेरेँ।

'अमेरिकाबाट आएर होटेलमा बस्दा कहिलेकाहीँ हामी सँगै बसेर मदिरा पिउने गर्थ्यौँ। घटनाको दिन पनि हामी होटेलको रेस्टुरेन्टमा सँगै बसेर मदिरा पियौँ। हामी साथी बनिसकेका थियौँ। मदिरा पिउँदापिउँदै हामीबिच यौन सम्बन्ध राख्ने सहमति भयो। सहमति अनुसार हामी दुवै जना मेरो कोठामा गयौँ। म उनीसँग यौन सम्बन्ध राख्न राजी थिए। तर कन्डमसहित। जब यौन सम्बन्धको चरणमा पुग्यौँ उनले कन्डम लगाएनन्। मैले कन्डम नलगाई सेक्स नगर्ने बताएँ। तर उनले वास्ता गरेनन् र मेरो चाहनाविपरित मसँग यौन सम्बन्ध राखे।'

सम्झना भएसम्म यस्तै थियो जाहेरी।

सहमतीमै यौन सम्बन्ध राख्न कोठामा गएको तर कन्डम नलगाएर यौन सम्बन्ध राख्दा कसरी बलात्कार भयो? मेरो मनमा पनि डिएसपीको मनमा जस्तै शङ्कास्पद प्रश्नहरू उठिरहे।

युवतीलाई मदिरामा बेहोस बनाएर होटेलमा लगेर बलात्कार गरेको, युवतीलाई उठाएर लगेर बन्धक बनाएर बलात्कार गरेको लगायतका घटनाको रिपोर्टिङ गरेको थिएँ। तर बलात्कार घटनामा यस्तो घटनाको पहिलो रिपोर्टिङ थियो।

त्यसैले मलाई त्यो बलात्कार हो भन्ने नै लागेन। डिटेल विवरणसहित समाचार लेख्न मन लागेन। कार्यालय फर्किएर सपाट समाचार लेखे जसमा मदिरा पिएको अनि सहमतिमा यौन सम्बन्ध राख्न कोठामा गएको विषय अलि हाइलाइट गरिएको थियो। समाचारको आशय सहमतीमै हो है भन्ने नै थियो। जे हेडलाइन नचाहेको हो त्यही हेडलाइन राखियो 'बलात्कार आरोपमा ठमेलका होटेल सञ्चालक पक्राउ।'

फसाउन लागेको भन्ने लागेकाले घटनाको फलोअप समाचार गरिन।

त्यो घटनाको १५ दिनपछि बौद्धमा अर्को त्यस्तै घटना भयो। यसका आरोपी र पीडित दुवै विदेशी थिए। बौद्धमा घुम्दाघुम्दै परिचय भएका दुई जना बौद्धमै रहेको एक होटेलको कोठामा गए। केटा पहिल्यैबाट बौद्धको त्यही होटेलमा बस्थे।

होटेलको कोठामा जानेबेलासम्म दुवै यौन सम्बन्धकै लागि गएका थिए। तर कोठामा पुगेपछि युवतीको सोचाइ बदलियो। उनले 'नो' भनिन्। केटाले यौन सम्बन्ध राखे। भोलिपल्ट युवतीले प्रहरीमा बलात्कारको उजुरी दिइन्।

ठमेल अनि बौद्धको घटनामा धेरै समानता थियो। ठमेलको घटना सम्झिएँ। केटाले के बयान दिएछ भन्ने चासो लाग्यो। वृत्तमा गएर हेरेँ।

बयानमा युवतीले' कन्डम नभए यौन सम्बन्ध नराखौँ भनेको। उनले गर्भवती हुने भयले त्यस्तो भनेको होला भन्ने लागेर सम्बन्ध राखेँ तर वीर्य बाहिर नै निकालेँ। सम्बन्ध राख्दा उनले जोडबल केही लगाइनन्' भनिएको थियो।

केटामा मैले बलात्कार गरेको हुँ भन्ने कुनै भाव देखिएन। युवतीले कन्डमविना नगरौँ भनेको तर यौन सम्बन्ध राख्ने बेलामा नाइँ भनेर बल नलगाएकाले उनको सहमति भएको उनको तर्क थियो।

बौद्धको घटनामा जोडिएका विदेशी पुरुषको हकमा भने ठ्याक्कै उल्टो थियो। उनले नाइँ भन्दाभन्दा मदिराको नसामा मैले यौन सम्बन्ध राख्नु गल्ती थियो भनेर स्विकारेका थिए। बलात्कार गर्ने नियत थिएन। तर घटना भयो भन्ने स्वीकारोक्ति थियो उनको।

लगभग एकै प्रकारको दुई घटनामा आरोपितको अलग बयान देखेर छक्क परेँ। खुल्दुली बढ्यो। के यो घटना साँच्चै बलात्कार हो त? सहमतीमै कोठामा जाने, नाइँ भन्ने तर प्रतिकार गरेर कोठाबाट बाहिर निस्कन पनि नखोज्ने यस्तो पनि बलात्कार हुन्छ त!

यसबारे कता बुझ्ने? यसबारे त विदेशी महिला पीडित भएका केसहरू हेरेका हुनुपर्यो। महिला हिंसाबारे मुद्दा लडिरहने एक कानुन व्यवसायीसँग परिचय थियो, उनैसँग यी दुई केसले अन्यौलता पारेको भन्दै भेट्न समय मागे।

साँच्चै यी दुवै घटनाबारे म अन्यौलमा थिएँ। मलाई यी दुवै घटना बलात्कार हो भन्ने लागेकै थिएन। किनकि जति बलात्कारका समाचार लेखियो, फिल्म हेरियो त्यसमा केटाले जवर्जस्ती गरेकै थियो, केटीले जोगिन भएभरको बल लगाउँदा पनि नसकेपछि मात्र बलात्कार भएको देखिएको थियो।

ती वकिलसँग भेटेपछि समाजको यौन सम्बन्धी सोचाइ र हुर्काइले  बलात्कार जस्तो गम्भीर अपराधबारे कस्तोसम्म भ्रममा बाँचिने रहेछ भन्ने छ्याङ भएँ।

मुख्यतः अमेरिकी महिलाको कुरा गरौँ। अमेरिकामा विध्यालयतहदेखि नै खतरासँग कसरी जोगिने भन्ने शिक्षा दिइने रहेछ। 'पहिला आफू जोगिने, अनि बाँकी उपचार खोज्ने।'

महिलाको हकमा यौन दुर्व्यवहारदेखि बलात्कारका घटनामा समेत आफू कसरी जोगिने भनेर सिकाइने रहेछ। बलात्कार लगायतका घटनामा जबसम्म सुरक्षित महसुस हुन्न तबसम्म प्रतिकार गर्ने लगायतका गतिविधि गर्दा आरोपीबाट हत्यासम्मको खतरा बढ्न सक्छ।

त्यसैले अस्वीकार गर्ने, सुरक्षित हुनसक्ने अवस्था छ भने सुरक्षित हुने, यदि तत्काल सुरक्षित हुने उपाय खोज्दा थप खतरा बढ्ने जोखिम छ भने सरेन्डर गर्ने र सुरक्षित भएपछि मात्र आवश्यक कानुनी प्रक्रिया चाल्ने।

अर्थात् पहिला ज्यान जोगाउने अनि मात्र कानुनी उपचार खोज्ने। मरेपछि त सकिहाल्यो। ठमेल अनि बौद्धको घटनामा दुवै युवतीले नाइँ मात्र भनेर प्रतिकार किन गरेनन् भन्ने जिज्ञासा मेटियो।

ठमेलको घटनामा होटेल उसैको थियो। कोठामा चुकुल लगाएको अवस्था थियो। दुवैले मदिरा पिएको। शारीरिक रूपमा पनि युवक बलिष्ठ। प्रारम्भमा यौन सम्बन्धका लागि दुवै राजी भएर वार्मअपको चरण पार गरेर यौन सम्बन्ध राख्ने चरणमा प्रवेश गरिसकेका थिए।

नाइँ भनेर उसलाई रोकेको रोक्यै गर्दा मदिरा र यौन उन्मादमा रहेको युवकले बल प्रयोग गर्न सक्ने र त्यसमा पनि प्रतिकार गर्दा थप क्षति हुनसक्ने खतराको आङ्कलन गरेरै युवतीले कन्डम नभए हुन्न भन्दा युवकले नमानेपछि सरेन्डर गरेको देखियो।

बौद्धको घटना पनि यस्तै थियो। युवती र युवक कोठामा गएर यौन सम्बन्धका लागि तयार भइसकेको अवस्थामा युवतीको मुड बदलियो। उनले नाइँ भनिन्। युवकले सम्बन्ध राख्न खोज्यो। उनले सरेन्डर गरिन्। भोलीपल्ट जब उनले सुरक्षित महसुस गरिन् प्रहरीमा उजुरी दिइन्।

किशोरी निर्मला पन्त हुन् या भागरथी यी लगायतकाहरुको बलात्कारपछि हत्या भएका घटनाहरू टन्नै छन् हाम्रो समाजमा। निर्मला हुन् या भागरथी बलात्कारीले 'यो बाँची भने त म जेल जानुपर्छ' भन्ने भयले प्रमाण नष्ट गर्न दुवैको बलात्कारपछि हत्या गरेका थिए।

अर्थात् दुवै घटनामा पीडितले आफू सुरक्षित स्थानमा नपुगी बलात्कारीले खतरा महसुस गर्ने गरी प्रतिकार गरेको हुनसक्छ। त्यसैको परिणाम बलात्कारीले बलात्कारपछि आफू जोगिन हत्याको चरणसम्म पुग्यो।

यस्तो घटनामा बलात्कारबाट जोगिन सक्ने उपाय नभएको अवस्थामा पहिला ज्यानको सुरक्षा गर्नुपर्छ अनि कानुनी उपचार खोज्नुपर्छ भन्नेबारे उनीहरू जानकार हुन्थे भने उनीहरू पनि बाँच्ने अनि बलात्कारी जेलमा हुन्थे कि!

न विद्यालय न त अभिभावकले नै यस्तो घटनासम्म हुनसक्छ है, अनि भयो भने यसो गर्ने भनेर सिकाउँछन् अनि सन्तान कसरी सहमतिको सम्बन्ध र बलात्कारबारे जानकार हुन्। यस्तो घटनामा कसरी जोगिने के थाहा? फिल्ममा यस्तो दृश्य देखायो भने मरिमेटेर प्रतिकार गरेको, चिच्याएको, टोकेको, भाग्न खोजेकै देखाउँछन्। सिक्ने त्यही त हो।

अब समाजलाई हेर्ने हो भने त अझैँ पनि सहमतिमा होस् या जवर्जस्ती, विवाहपछि श्रीमान् बाहेकसँगको यौन सम्बन्ध हुनु, अझ बलात्कार हुनु भनेको सतीत्व लुटिनु हो, ज्युँदै मरे समान हो।

ज्युँदेै किन मर्नु! कि जोगिने, कि मर्ने। अनि आपराधिक मानसिकताले गाँजेका व्यक्तिसँग असुरक्षित स्थान भए पनि प्रतिकार नगरे के गर्ने!

पल शाह अनि सन्दीप लामिछानेकै घटना हेरौँ न। यदि कुनै युवतीले बलात्कार प्रयासमा 'हुन्न' मात्र भनेर कुनै प्रतिकार नगरी सुरक्षित भएपछि मात्र उजुरी दिँदा समाजको सचेत वर्गले 'पहिला रमाइलो गर्न गई, अहिले फसाउन नाटक गर्छे' भन्ने जोखिम' अझैँ कति बलियो रहेछ । बलात्कारीको हाई-हाई छ। पीडित ट्रोलको सिकार भइरहेका छन्।

यौन सम्बन्धमा सबैभन्दा महत्त्वपूर्ण पक्ष  उमेर अनि युवतीले प्रतिकार गरिन् या गरिनन्, कोठामा जान सहमति थियो या थिएन नभई यौन सम्बन्धको चरणमा उनले सहमति थियो या परिबन्द र करकाप महत्त्वपूर्ण हो भन्ने कसलाई मतलब! 

नाइँ त परको कुरा 'यसो हेरेर हाँस्दा त सेक्स गर्न राजी भइ' भन्ने सोचले ग्रस्तहरु सुरक्षित हुने समाजमा निर्मला या भागरथी बाँचेका भए उनीहरूमाथि पनि एक पटकका लागि रमाइलो गर्न राजी हुने 'वन नाइट स्ट्यान्ड' बाहेक केही हैन' भन्ने आरोप लाग्थ्यो होला है!

२८ पुस, २०८०, १६:०२:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।