गौशला २६ भन्दै तस्बिर सार्वजनिक गर्ने कार्यकर्तालाई रास्वपाले गर्यो निलम्बन

गौशला २६ भन्दै तस्बिर सार्वजनिक गर्ने कार्यकर्तालाई रास्वपाले गर्यो निलम्बन

काठमाडौं : बलात्कारी ठहर भएका क्रिकेटर सन्दीप लामिछानेबाट पीडित गौशाला २६ (परिवर्तीत नाम) को तस्बिर सार्वजनिक गर्ने एक कार्यकर्तालाई राष्ट्रिय स्वतन्त्र पार्टीले निलम्बन गरेको छ।

सामाजिक सञ्जालमा पीडित युवतीको तस्बिर सार्वजनिक गरेको भन्दै रास्वपाले चितवनका दिवश सापकोटालाई निलम्बन गरेको हो।

आज एक सूचना जारी गर्दै रास्वपाले उनलाई निलम्बन गरेको उल्लेख गरेको छ। सापकोटा रास्वपाको प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिको सदस्य रहेको रास्वपाको भनाइ छ।

‘सामाजिक सञ्जाल प्रयोगमा संवेदनशील नरहेको भन्दै रास्वपाले प्रवास नेपाली सम्पर्क विभाग जापान च्युबू शाखा समितिका सदस्य दिवस सापकोटालाई पदीय जिम्मेवारीबाट निलम्बन गरेको जानकारी गराउँदछौं,’ रास्वपाले भनेको छ।

अदालती फैसलासँग जोडेर पीडित प्रति कटाक्ष गरेको भन्दै सापकोटालाई रास्वपाले निलम्बन गरेको हो। यद्यपि अहिले उनले उक्त पोस्ट हटाइसकेका छन्।

गोप्य राखिएको पीडितको पहिचान सार्वजनिक गर्न कानुनले रोक लगाएको छ।

पुष २६, २०८० बिहीबार १४:५०:५३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।