२५ वर्षअघि सिलिगुडीबाट काठमाडौं छिरेका ‘हिरु मिस्त्री’, जसले सामान बनाउँदा बनाउँदै टिकाथलीमा घर ठड्याए

२५ वर्षअघि सिलिगुडीबाट काठमाडौं छिरेका ‘हिरु मिस्त्री’, जसले सामान बनाउँदा बनाउँदै टिकाथलीमा घर ठड्याए

हँसिलो अनुहारका हिरु दास आज पनि सधैँ झैँ केही नयाँ सिक्न पाइन्छ भनेर उत्सुकताका साथ दिन सुरू गर्छन्।

२५ वर्षअघि भारतबाट नेपाल आउँदा अनुहारमा जुन उल्लास थियो, अझै त्यहि उल्लास कायम छ उनमा। सबै प्रकारका विद्युतीय उपकरण बनाउन खप्पिस हिरु पछिल्लो समय भने विद्युतीय सवारी साधन मर्मतको तालिममा सक्रिय छन्।

प्रविधिले फड्को मारिरह्यो। अनि उनले पनि नयाँ प्रविधिमा आफ्नो हात लगाइरहे। रेडियो, क्यासेट र टेलिभिजन बनाउन सिक्दै आफ्नो काम अगाडि बढाएका उनले अहिले सबै प्रकारका प्रविधिमा उत्तिकै चाख दिएर काम गरिरहेका छन्।

जाडोमा वासिङ मेसिन र गर्मीमा टेलिभिजन मर्मतका लागि ग्राहकले आफूलाई खोज्ने गरेको उनी बताउँछन्।

पश्चिम बंगालको सिलिगुडीमा जन्मिएका उनको बाल्यकाल उतै बित्यो। दश कक्षामा विषय लागेपछि पढाइ रोकियो अनि गाउँका साथीभाइसँगै प्राविधिक तालिम लिन पुगे।

तीन महिना जति तालिम लिँदा उनले रेडियो र क्यासेट बनाउन सिके।

त्यसबेला उनले काठमाडौंको बारेमा धेरै कुरा थाहा पाएका रहेछन्। अनि प्राविधिक तालिममा भाग लिनेहरूलाई काठमाडौं लैजाने भनेपछि उनी दङ्ग पर्दै काठमाडौं आए।

‘तालिम लिने बेलामा यहाँ आउने कुरा भयो। यहाँ त झन् धेरै काम छ भन्ने अगाडि नै सुनेको थिएँ। त्यही भएर साथीहरूसँग यहाँ आएँ’, उनी सुनाउँछन्।

‘पसल भन्दा होम सर्भिस नै सजिलो’
काठमाडौं आएर तालिम लिएपछि उनले कुपण्डोलको एउटा पसलमा कामको लागि कुरा गरे। तर, काम पाएनन्।

‘तालिम त राम्रोसँग भयो। तर काम नै पाउन गाह्रो। घरबाट खर्च मागेर गुजारा गर्नुपरेको थियो। पछि पो चिनजान हुँदै गएपछि काम पाइयो। अनि त सजिलो भयो नि,’ काठमाडौंको सुरूवाती दिनहरू सम्झिँदै उनले सुनाए।

त्यही पसलमा काम गर्दा उनले झन् राम्रोसँग काम गर्न सिके। त्यहाँ ‘सिनियर प्राविधिक’सँग बसेर सिकेको काम तालिमभन्दा पनि राम्रो भएको उनको अनुभव छ। त्यहाँ केही वर्ष काम गरेपछि अर्को काम सिक्न बाहिरिए उनी। त्यसरी नै तीन/चार वटा पसलमा अनुभव बटुल्दै उनले आफ्नो सीपलाई तिखारे।

‘त्यसपछि आफ्नै पसल भए हुन्थ्यो भन्ने लाग्यो। खोलेको पनि हो। तर, आफ्नो पसल चलाउन धेरै गाह्रो रहेछ। अगाडि नै अलिअलि पुँजी जम्मा गर्नुपर्ने रहेछ,’ उनी भन्छन्, ‘ग्राहक पर्खिँदा पर्खिँदै घर भाडा तिर्नुपर्ने दिन आउँथ्यो। सबै हेर्नुपर्थ्यो। पसलमा बसेपछि फेरि बाहिरको काम पनि नभ्याउने रहेछ। अगाडि नै बनाएका ग्राहकहरू होम सर्भिस पो खोज्न थाले। मलाई त जे भए पनि सिक्नु न थियो।’

ग्राहकले पसलभन्दा होम सर्भिस खोजिरहेको थाहा पाएसँगै उनले पसल छोडिदिए। अनि होम सर्भिसमै रमाउन थाले। साथीहरूले आफ्नो पसलमा पनि उनैलाई बोलाउन थाले। त्यसपछि उनी बाहिर बाहिरै व्यस्त हुन थाले। त्यस पछि भने अहिलेसम्म पनि उनी होम सर्भिसमै रमाइरहेका छन्।

उनी भन्छन्, ‘घरमा गएर मर्मत गर्न थालेपछि त सबैले घरमा नै बोलाउन थाले। अहिले त फेरि जुन सर्भिस पनि घरमै खोज्छन्। अहिले बरू पैसा बढी दिन्छु राम्रो बनाइदिनु भन्छन्। टिभी, वासिङ मेसिन अनि फ्रिज त बोक्न पनि मान्छेहरू अप्ठ्यारो मान्छन् नि! बरू त्यो भन्दा पाँच सय बढी दिएर घरमै बोलाउँछन्।’

प्रविधि बढ्यो, काम चैँ घट्यो
‘पहिला त एउटै घरमा कोठा अनुसारको टिभी हुन्थ्यो। पालैपालो बनाउँदा त धेरै ठाउँमा गइराख्न पनि पर्दैनथ्यो। रेडियो र क्यासेट पनि त्यत्तिकै मर्मतको लागि ल्याइन्थ्यो। अहिले त टिभी, रेडियो, क्यासेट जे भने पनि त्यै एउटा माेबाइल नै हो। मोबाइल बनाउन चैँ सिकेको छैन’, उनले भने।

युवा अवस्थाको सुरूवातमै काठमाडौं आएका हिरुको नेपाली भाषा एकदम स्पष्ट छ। उनलाई भाषाको समस्या कहिल्यै पनि भएन। आफ्नो २५ वर्षको करिअरमा अधिकांश नेपाली भाषीहरूको घरमा गएर विद्युतीय उपकरणको मर्मत गरेका उनले यहीँ आफ्नो परिवारलाई राम्रो सुविधामा राखेका छन्।

उनले यहीँ नै बिहे गरे। टिकाथलीमा घर पनि जोडे। छोरालाई स्नातक तहमा पढाइरहेका छन्। बेला-बेला आमाबालाई भेट्न मात्र गाउँ फर्किन्छन्। आजभोलि काममा भने कमी आउन थालेकोमा उनी चिन्तित छन्।

‘आफूलाई सक्दो अपडेट गरेकै हो। अहिले त इलेक्ट्रिक गाडी पनि बनाउने तालिम लिँदैछु। सबै सिक्दा पनि काम पाउन गाह्रो नै हुन्छ,’ उनले निराश हुँदै सुनाए।

अहिले जति पनि उनका ग्राहक छन्, सबै पुरानो र नियमित ग्राहक नै रहेछन्। नयाँ ग्राहकमाझ पुग्न नसकेको हो कि भन्ने हिरुलाई लागेको रहेछ। कामको लागि उपत्यकाको कुना-कुना पुगेका छन्, उनी। ४९ वर्षको यात्रामा आफ्नो काममा कसैले पनि शंका नगरेकोमा उनी दङ्ग छन्।

यतिका समय एउटै काम गर्दा उनले कहिल्यै अप्ठ्यारो महसुस गरेनन्। अर्को काम गर्ने पनि सोचेनन्। तर, अहिले भने उमेरसँगै उनको आँखामा समस्या हुन थालेको रहेछ। लामो समय एकै ठाउँमा हेरेर काम गर्न नसक्ने भएका छन्।

‘अहिले त जुन सामान पनि सानो आउन थालेको छ नि! त्यसले गर्दा तिनका भित्री सामान झन् धेरै सानो हुन्छ। त्यसैले बनाउन अलि बढी मिहिनेत लाग्छ। आँखाको तेज त सबै जान खोज्ने रहेछ,’ उनले भने, ‘त्यसरी एकोहोरो भएर काम गर्दा दिमाग पनि लगभग शून्य पो हुन्छ त!’

उनलाई जबसम्म सकिन्छ, तबसम्म यही कम गर्ने इच्छा रहेछ। छोराले यो काम प्रति रूचि देखाएनन्। हिरुले पनि जबर्जस्ती गरेनन्।

‘यो काम गर्न अब कि त आईटी पढेर आउनपर्यो। नत्र हामीजस्तो मिस्त्रीको त भविष्य नै छैन। हामी भन्दा अग्रजहरू पनि सबैले छोडेकै हो। हामी पछि अरू खासै आकर्षित भएको छैनन्। त्यही भएर छोरालाई पनि राम्रोसँग पढाइमा नै लगाएको छु’, उनले भने।

१६ पुस, २०८०, २१:०७:१४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।