सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि दिनेशलाई

सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि दिनेशलाई

काठमाडौं : चौथो वरीयताका जयराम श्रेष्ठलाई हराउँदै डिफेन्डिङ च्याम्पियन दिनेश प्रजापति सूर्य नेपाल गल्फ टुर २०२३-२४ अन्तर्गत सिजनको दोस्रो प्रतियोगिता सूर्य नेपाल एनपीजीए म्याच प्लेको उपाधि जितेका छन्।

रोयल नेपाल गल्फ क्लबमा भएको ३६ होलको फाइनलमा जयराम श्रेष्ठलाई ६/४ ले हराउँदै दिनेश उपाधि रक्षा गर्न सफल भएका हुन्। यो सिजन सानदार सुरूवात गरेका दिनेशको करियरको यो दोस्रो उपाधि हो।

अनुभवी चौथो वरीयताका जयराम र तेस्रो वरीयताका दिनेशबीच १८ होलसम्म कडा प्रतिस्पर्धा चलेको थियो। नवौं होलको समाप्तीमा जयराम एक होलले अगाडि थिए। तर, १८ होलको समाप्तीमा दिनेशले खेललाई बराबरीमा पुर्याए।

यसपछि भने दिनेश खेलमा हाबी बने। १९औं होलमा करिब ३० यार्डबाट दिनेशले बर्डी प्रहार गर्दै एक होलको अग्रता बनाए।

२३औं होलमा जयरामले पार जोगाउन सकेनन भने दिनेशले पारमा नै यो होल जितेर दुई होलको अग्रता बनाए। खेलमा फर्कन जयरामलाई जित जरूरी थियो। तर यसपछि २४ देखि २७ होल बराबरीमा सकियो।

२८औं होलमा पार खेल्दै तीन होलको आरामदायी अग्रता दिनेशले बनाए। दबाबमा परेका जयराम खेलमा फर्कन सकेनन भने ३१औं होल पनि दिनेशले नै जित्दा ५ होलको अग्रता बनाए। यसपछि ३२औं होलमा खराब टी सट हानेसँगै जयरामले हार आत्मसात गर्दा दिनेशले ४ होल अघि नै उपाधि आफ्नो नाममा लेखाए।

दिनेशले पहिलो चरणमा तोरण विक्रम शाही, क्वाटरफाइनलमा रबि खड्का र सेमिफाइनलमा रामे मगरलाई हराएका थिए। उपाधिसँगै दिनेशले नगद ६० हजार प्राप्त गरेका छन। दोस्रो भएका जयरामले ४२ हजार हात पारे।

दिनेशले सिजनको पहिलो प्रतियोगिता सूर्य नेपाल सेन्ट्रल ओपनमा प्रोफेसनलतर्फ पहिलो स्थान प्राप्त गरेका थिए। जारी टुरमा दुई मध्ये दुवे प्रतियोगितामा सानदार प्रदर्शन गर्दै सिजनको सुरूवात उत्कृष्ट गरेका छन्।

सातौं वरियताका रामे मगरले तेस्रो स्थान प्राप्त गरे। उनले १८ होलको प्रतिस्पर्धामा नवौं वरियताका भुवन कुमार रोक्कालाई १८औं होलमा हराए। रामेले ३२ हजार र भुवनले २४ हजार पुरस्कार हात पारे।

कुल २ लाख ५० हजार नगद पुरस्कार‌ राशीको प्रतियोगितामा पहिलो चरणमा पराजित हुने आठ खेलाडीहरूले जनही ६/६ हजार प्राप्त गरे। क्वाटरफाइनलमा पराजित चार खेलाडीले जनही ११ हजार प्राप्त गरे।

विजयी खेलाडीहरूलाई सूर्य नेपाल प्रा.लि.का मार्केटिङ म्यानेजर केशव प्रधान, एनपीजीएका अध्यक्ष रविन्द्रमान श्रेष्ठ, आरएनजीसीका अध्यक्ष मधुकर याक्थुम्बा, आरएनजीसीका क्याप्टेन मिथुन राई र आरएनजीसीका कोषाध्यक्ष रोशन श्रेष्ठले पुरस्कार वितरण गरे।

१४ पुस, २०८०, ०९:२४:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।