दुई पिएचडीधारी सुर्यरत्न, जो चार स्नातकोत्तर गरेका छ सन्तानको तस्बिर हेरेर मुस्कुराइरहन्छन्

दुई पिएचडीधारी सुर्यरत्न, जो चार स्नातकोत्तर गरेका छ सन्तानको तस्बिर हेरेर मुस्कुराइरहन्छन्

सुर्यरत्न शाक्य सेवा निवृत्त भएको पनि १६ वर्ष भइसक्यो। क्वहिटीको माथिल्लो साँघुरो गल्लीमा श्रीमतीसँग बस्छन् उनी। केही समय अघि मधुमेह देखिएपछि अलि बढी हिँड्न थालेका छन् उनी। सधैं टीभी, अखबारमा सञ्चार हेर्दा, पढ्दा उनी बोर हुन थालिसकेछन्।

उनका ६ जना सन्तान,पाँच छोरी, एक छोरा। अहिले ती कुनै आफूसँग छैनन्। छ त तीनका तस्विर। कोठाको भित्तामा सबैका तस्बिर सजाएर राखेका छन्। त्यही ६ सन्तानको हँसिलो तस्बिर हेरेर टोलाइरहन्छन् उनी र श्रीमती।

चार सन्तान देश बाहिर। दुई जना देशमै। उनी सकेसम्म सबैसँग फोनमा कुरा गरिरहन्छन् उनी। तस्बिर हेरेर टोलाउँदै सम्झनामा रमाउन मजा आउँछ रे।

उनी त्यति धेरै सन्तान जन्माउने पक्षमा थिएनन्। लगालग छोरीहरू जन्मिए। आमाले 'एउटा छोरा त हुनै पर्छ’ भनेर कर गर्दागर्दै पाँच जना छोरी भए। तै पनि आमाले मानेको हैन। धन्न छैटौँ सन्तान छोरा भयो। लगत्तै परिवार नियोजन गरिहाले। उत्पादन बन्द।

'आमाले जहिले पनि एउटा छोरा त चाहिन्छ भन्नुहुन्थ्यो। मलाई त्यति धेरै सन्तान जन्माउने मनै थिएन। जन्माएर मात्र हुँदैन, हुर्काउन गाह्रो। राम्रोसँग पढाउन सक्दिन होला भन्ने लाग्यो,' उनी हाँस्दै भन्छन्, 'पाँच जना छोरी भएपछि छोरा भयो। पहिला नै छोरा पाएको भए यत्ति बच्चा हुँदैनथे। छोरा हुने बित्तिकै आफैले परिवार नियोजन गरेँ।'

१० वर्षदेखि घरको जिम्मेवारीमा सहयोग गर्न थालेका सुर्यरत्नले जिम्मेवारी निभाउन कति गाह्रो हुन्छ नबुझ्ने कुरै थिएन। आमा र समाजको प्रश्न उठाएपछि धेरै सन्तान जन्माए पनि उनले उनीहरूको हुर्काइमा तलमाथि गरेनन्। सबैलाई बराबर शिक्षा दिए। अनि साथ पनि दिए।

'हामीले त सपोर्ट गर्दा मात्र हुने रहेछ। बाँकी त सबै उनीहरूले नै गरेको हो। म त उनीहरू सक्षम छु है भन्ने मात्र हो। सबै मेरो श्रीमती र छ जनै छोराछोरीले नै गरेको त हो नि,' उनले मुस्कुराउँदै भने।

छोरीको सफलतामा मन्त्रमुग्ध !

टन्न सन्तान भएपछि हुर्काउन अनि पढाउन सकस त हुने नै भयो। तर जति सकस परे पनि उनी विचलित भएनन्। अभिभावकको जिम्मेवारी पुरा गरे। सबै सन्तानलाई उत्तिकै मौका दिए। छोरा कुर्दा पाँच छोरी भए पनि अवसरमा तलमाथि गरेनन्। त्यसैको प्रतिफल पनि पाए उनले। उनका सबै सन्तानले। स्नातकोत्तरसम्मको शिक्षा हासिल गरे।

दुई जनाले त पिएचडी समेत गरे। भित्तामा लस्करै सजाएको 'कालो टोपी र कालो लुगा'मा सर्टिफिकेट समातेका सन्तानको तस्बिर हेर्दा धेरै सन्तमा भएकोमा कुनै पछुतो लाग्दैन उनलाई। आनन्द महसुस गर्छन्।

उनको तीन सन्तान अमेरिकामा छन्। एक जना जापानमा। दुई जना भने यतै नेपालमै छन्। अमेरिकामा आफ्नो छोराछोरी 'प्रोफेसर' भएको सुन्दा उनका आँसु रोकिँदैनन्।

सेवा निवृत्त भएपछि पनि उनलाई काम गर्ने इच्छा लागेको रहेछ। तर, सबै सन्तानले 'अब काम गर्नु पर्दैन, हामी गर्छौँ' भनेपछि उनी टोल छिमेकमै सामाजिक काममा रमाउन थाले। बिहान उठ्ने, स्वयम्भूको भर्याङ्ग चढ्न जाने अनि घरमै श्रीमतीसँग बसेर आफैले पकाएको खाना खाने। यस्तै छ उनको दैनिकी।

सुर्यरत्न काठमाडौंकै शाक्य हुन्। अन्य शाक्य जस्तै उनको पनि पुर्ख्यौली पेसा गरगहना बनाउनु हो। उनलाई थाहा भएसम्म उनको बाले यही काम गर्थे। त्यसबेला असनमा सुनको पसलको अलग्गै महत्त्व हुने गर्थ्यो। तर, पसल नचलेपछि उनको बाले पसल नै बेचिदिए। उनी त्यसबेला जम्मा आठ वर्षका मात्र थिए।

उनको घरमा आमा र बा सहित १३ जना थिए। उनी नौ नम्बरका। उनी पछि पनि दुई जना बहिनी भए। पसल बेचेपछि घरको अवस्था झन् कमजोर भयो। त्यै भएर १० वर्षको उमेरमा उनी आफै पनि असनको एउटा किराना पसलमा काम गर्न बस्न पर्यो। त्यै भएर उनले अरूले जस्तो 'सम्झन लायक' बाल्यकाल पाएनन्। जसोतसो एसएलसी चैं पास गरे।

'खेल्न गयो भने आमा बा, बहिनीहरू छ भन्ने लाग्थ्यो। दाइले साथ नदिएपछि मैले त काम गर्नुपर्यो। आमा पनि बिरामी भइराख्नु हुन्थ्यो। त्यसबेला प्याफलमा बस्थ्यौँ। त्यो बेला पनि अहिले जस्तो काम पाउनै गाह्रो। स्कुल जान पैसा देख्न गाह्रो। बल्लबल्ल एसएलसी पास गरेपछि गाडी चलाउन सिकेको,' उनले भने।

गाडी चलाउन जानेको केही समयपछि उनले पर्यटन विभागमा काम पाए। सचिवहरूलाई यताबाट उता पुर्याउनमै उनको दिन बित्न थाल्यो। २२ सालमा काम गर्न थालेको २९ सालमा इरान र इराक बीच ठुलो युद्ध भयो। नेपालमा पनि पेट्रोल लगायतको समस्या भयो। गाडीहरू बन्द हुन थाले।

'मन्त्रिहरुलाई मोटरबाइक पो दिने भन्ने खबर आयो। सचिवहरूलाई त्यो पनि भएन। त्यसपछि मेरो हाकिम आफैले राजीनामा देऊ, अर्को काम गर्न सहयोग गर्छु भन्नुभयो। उहाँको दाइ नेपाल बैङ्कमा काम गर्नुहुने रहेछ। मैले राजीनामा दिएपछि ट्याक्सी किन्न सहयोग गर्नुभयो। त्यसपछि केही वर्ष मैले ट्याक्सी नै चलाए,' उनले भने।

'साधारण ड्राइभर भएर उमेर बित्यो'

त्यसबेला नेपालको सडकमा त्यति धेरै गाडी गुड्ँदैनथे। ट्याक्सी चलाउने काम गर्दागर्दै फेरी उनले शिक्षा मन्त्रालयको सचिवको गाडी चलाउने काम पाए। त्यहाँ भने उनले सेवा निवृत्त नभइन्जेलसम्म काम गरे। यस बीचमा उनले विवाह गरे। उनको सन्तान भयो। अनि सबलाई राम्रो शिक्षा, दीक्षा दिनमै उनी लागे।

यति लामो समयसम्म सचिवजस्तो उच्चपदस्थको ड्राइभर भएर बसे पनि सब 'हाकिम'को परिवारको पनि निजी ड्राइभर जस्तै भएर बसेको अनुभव पनि उनले गरेका छन्। चाहे छुट्टीको बेला होस्, या अबेर रातीसम्म उनलाई गाडी चलाउन लगाइन्थ्यो।

'के गर्नु हाकिमको कुरा मान्नुपर्यो। उहाँहरूको बच्चालाई स्कुल पुर्याउनेदेखि श्रीमतीलाई सामान किन्नसम्म जानुपर्थ्यो। कोहिले त तलबमा अलि थपेर पनि दिनुहुन्थ्यो। कोहिले त काँ दिनु! तर, मैले ड्राइभर भए पनि दायाँबायाँ गरिन। धेरैले ड्राइभरलाई नराम्रो भन्ने गरेको देखेको छु। तर, मेरो स्वभाव राम्रो भएकै कारण त होला नि त्यति लामो समय काममा टिक्न सकेको' उनले भने।

एक छोरी  देवता नै भइन्

उनको छोरीहरूमध्ये साइँली चैं काठमाडौंको कुमारी भएर आठ वर्ष 'कुमारी घर' मै बसिन्। धेरैले 'तिम्रो छोरीको बिहे हुँदैन अब ?' भन्थे। तर, उनको छोरी भन्दा अगाडि भएका सबै कुमारीहरू घरजम गरेर बसेको उनले देखेका थिए। त्यै भएर त्यतातिर उनले ध्यान गएन।

'चार वर्षको उमेरमा कुमारी भयो। सानी छोरीलाई अलग्गै घरमा राख्न पर्दा नरमाइलो त लाग्यो। तर, यो त हाम्रो एउटा संस्कृति हो। संस्कृतिको जगेर्ना गर्न पाउनु त हाम्रो अहोभाग्य हो नि' उनले भने।

उनले जे भन्यो त्यही हुन्थ्यो कुमारी घरमा। आफ्नो सानो साम्राज्य नै चलाउन पाइन् उनले। बिहेको कुरा त अन्धविश्वास न हो। अन्धविश्वास मान्ने जत्ति नै नमान्ने पनि त छन्। त्यसले गर्दा झन् बुझ्ने ज्वाइँ पाए।

अहिले उनीहरू खुसी छन्। बरु कुमारी भए बापत त्यसबेला केही नपाए पनि अहिले महानगरपालिकाबाट वार्षिक रूपमा भत्ता दिन थालेका छन्। त्यति भएपछि त उनलाई पनि सहज भयो। पढाइबाट लगभग टाढा भएकी छोरीलाई पढाउन धेरै गाह्रो भएको उनी अहिले पनि सम्झन्छन्।

'जेठी छोरीले रातदिन एक गरेर उसलाई पढ्नमा सहयोग गर्यो। बच्चाहरू हुर्केपछि त आफै नै एक अर्काको अभिभावक पो हुने रहेछ। हामी त आमा बा भइनै हाल्यौँ। तर, उनीहरूबीच एक आपसमा झन् बढी आत्मीयता छ' उनले भने।

जीवनको ७६ औँ हिउँदको घाम तापिरहेका उनलाई अब यही तस्विरहरूको सँगालोमा आफ्नो आगामी दिन बिताउन मन छ। तस्विरसँग जोडिएको आफ्नो पुरै जिन्दगी उनी सधैं यसरी नै खुसी भएर हेर्न चाहन्छन्। त्यै भएर आफ्नो जीवनमा जति सङ्घर्ष भए पनि आफू सन्तुष्ट भएको उनले महसुस गरेका छन् उनले।

'यति धेरै मिहिनेत गरेँ। छोरीहरूले अमेरिका घुमायो। जापान घुमायो। पहिला छोरा भएन भन्नेहरूले पछि यति धेरै छोरी भएको भनेर खिसीसम्म गरे। तर, मलाई धेरै छोरी हुनुमा कुनै पश्चाताप छैन। उनीहरू आफ्नो मिहिनेतले सफल भए’ उनले भने।

९ पुस, २०८०, १८:५३:२२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।