छोरीहरूले पुर्ख्यौली पेशा सिकेकोमा मक्ख छन् ८५ वर्षीय जमिर शाह

छोरीहरूले पुर्ख्यौली पेशा सिकेकोमा मक्ख छन् ८५ वर्षीय जमिर शाह

जमिर शाह इन्द्रचोकको मुस्लिम समुदायका अगुवा। तेस्रो पुस्ताका सदस्य उनको उमेरले ८५ टेकिसक्यो। पुस्तौनी पेसा पोते उन्ने अनि बेच्ने। रंगिविरंगी पोतेका गेडाहरूलाई सेतो धागोमा उनेर चिरिच्याट्ट बनाए। तर उमेरसँगै उनको जीवन भने छरिदै गयो।

पहिला बाबु गुमाए। बाबु गुमाएको ६ महिनाभित्रै आमा गुमाए। अहिले उनको जीवन सँगिनी पनि कहिल्यै नफर्कने बाटोको यात्रामा निस्किसकिन्। उनी एक्ला भएका छन्। त्यसैले होला टेबहालमा भेटिँदा उनी अधिकांश समय टोलाइरहेका थिए।

नयाँ सडकमै रहेको सङ्कटा मन्दिर जाने बाटोमा भेटिन्छन् जमिर। सेतो कुर्था सलवारमा उमेर अनुसार सेतै भएका कपालमा चिटिक्क देखिएका थिए।

सबेरै उठ्ने, नित्य कर्म सकेर नमाज पढेर दिनको सुरुवात गर्ने उनको नियमित दैनिकी हो। अनि उनी पसलका लागि निस्कन्छन्। दिनभर पसलमा बस्छन्। साँझ पर्न आँटेपछि नजिकैको गल्लीतिर डुल्न निस्कन्छन्। नमाज पढेर दिनको अन्त्य गर्छन्।

टेबहाल क्षेत्रमा बस्न थालेको उनी तेस्रो पुस्ता। तर सो क्षेत्रको मुस्लिम समुदायको पुरानै पुस्ता हुन् उनी। तर, टेबहाल अगाडि उनको पुस्ता कहाँ बस्थ्यो उनले पनि सोधेनन्, कसैले बताएन पनि।

उनको बा झारफुकको काम पनि गर्थे। कोही बिरामी आए घरमै फुकेर, केही औषधि दिएर पठाउँथे। आँगनमा उनको आमा चुरा पोते बेच्थिन्। उनले सम्झिने त्यही हो। घरमा सबैले गरेको देखेर उनले पनि यही काम सिके। हेर्दा-हेर्दै पोख्त भइहाले।

पुर्ख्यौली घर संकटा मन्दिर अगाडि टेबहालमा हो उनको। पहिला सिङ्गो घर थियो परिवारको। दाजुभाइबीच अंशबन्डा हुँदा घर बाँडियो। बिचको भाग उनलाई पर्यो, जहाँ उनी अहिले पनि बस्छन्। घरको अन्य भाग दाजुभाइले बेचिसके। त्यहाँ नौला परिवार बस्छन्।

उनलाई याद भएसम्म २००६/०७ साल देखि नै उनीहरूको पसल मन्दिर अघिकै घरमा थियो। मछिन्द्रबहालमा पनि उनले लामो समय पोते उनेर बेचे। २०१८ सालमा उनी इन्द्रचोक पुगे। त्यस यता उनी त्यहीँ छन्।

गाउँबाट सहर घुम्न आएकाहरू उनको पोते पसल अगाडि झुम्मिन्थे। एउटा सानो भए पनि पोते किनेर जान्थे।

'पहिला त जे सामान किन्न पनि शहर आउन पर्थ्यो। त्यो बेला महिला, पुरुष सबै आउँथे। एउटा सानो भए पनि पोते किनेर लान्थे' उनले पुराना दिन सम्झिए।

पुर्खाले दिएको सीपको माया

उनले इन्द्रचोकमा ३० वर्ष पसल चलाए। अहिले पनि इन्द्रचोकमा मुस्लिम समुदायका करिब तीस भन्दा बढी नै पोते पसल छन्। धर्मकर्म मुस्लिम समुदायकै। तर नेवारी समाज र संस्कृति मज्जाले घुलन भएको। इन्द्रचोकका मुस्लिम समुदायका सदस्यहरूले अहिलेका नेवार समुदायका सदस्यभन्दा प्रस्ट नेवारी भाषा बोल्छन्। उनको पनि नेवारी भाषा निकै प्रस्ट रहेछ। यहाँका नेवार समुदायसँग आफ्नो अलग्गै आत्मीयता रहेको बताउँछन् उनी।

कालीमाटीमा उनको छोराको साथीको रेडियो पसल थियो। उनैले कालीमाटीमा पसल खोले राम्रो चल्छ भनेपछि उनी त्यता पनि पुगेछन्। केही वर्ष चलाए पनि। तर चित्त बुझेन अनि फर्किए इन्द्रचोकतिर।

 छरिन थाल्यो जीवनका मालाहरू

उनको बा ९९ वर्षसम्म बाँचेका थिए। लगत्तै उनको आमाको मृत्यु भयो। केही वर्ष अघि श्रीमतीको निधन भयो। त्यसपछि उनलाई एक्लो भएको अनुभव हुन थाल्यो।

‘मेरो बाबा ९९ वर्षमा बित्नुभयो। त्यसको ६ महिनापछि अम्मी पनि बित्नुभयो। म छोरा अनि अर्को एउटा छोरी छोडेर जानुभयो उहाँहरू। दिदी पनि बितेको ५-६ वर्ष भयो,' उनले एक सुरले भने।

इन्द्रचोक उहिलेदेखिको व्यापारिक केन्द्र। भिड हुने नै भयो। त्यही उनको बाल्यकाल बित्यो। फाट्टफुट्ट स्कुल खुलेको पनि थिए। तर उनले मदरसामा पढे।

'बाल्यकाल राम्रो रह्यो। हामी त फुटबल खेलाडी हो। अहिले पनि चोट लागेको थाहा हुँदैन। फुटबलले चोट खाएको छ नि त,' उनले सुनाउँदै गए, 'कहाँ-कहाँको मान्छे भेट हुन्थ्यो, कुरा हुन्थ्यो, सब राम्रोथ्यो। मैले धेरै पढेको छैन। अंग्रेजी पढिन।  तर, मदरसामा जति पढ्नु पर्ने हो, त्यो सबै पढिहालेँ। हामीलाई सिकाउन मास्टर राखेको थियो। अहिले त सरकारले नै राखेको छ।'

त्यसपछि उनको सम्पूर्ण जीवन चुरा- पोतेमै बित्यो। आफ्नो जिन्दगी नै यही काममा समर्पित गरे उनले। पुर्खाले दिएको सीप भनेर एकचित्त भएर काम गरे।

पहिला व्यापार थोरै हुन्थ्यो। तर राम्रो हुन्थ्यो रे। अहिले  ग्राहक घटेका छन्। गाउँ नै शहर हुनुको प्रभाव व्यापारमा परेको बताउँछन् उनी।

राणादेखि रङ्कसम्म ग्राहक

यो बीचमा उनले धेरै थरीका ग्राहकहरू देखे। थापाथलीका राणाहरू पनि उनका नियमित ग्राहक रहेछन्। सङ्कटा मन्दिर आउने बेला उनीहरू एउटा पोते भएर पनि लागेरै जान्थे।

'बहादुर शमशेर, एकरार शमशेर यहाँ आउँथे। मन्दिरमा पूजा गर्न आउँदा यसो हेरेर पोते लगेर जान्थे। पैसा चलेको हिसाबले नै दिन्थे।'

अहिले भिड बढेको छ इन्द्रचोकमा तर व्यापार बढेको छैन। अहिलेको पुस्तामा उनी पोतेको मोह पनि देख्दैनन्। उनलाई आफ्नो पुरानै दिन मज्जा लाग्ने रहेछ।

'अहिले मान्छे धेरै भयो । रिस पनि कडा। पहिलाको मान्छेको रिस त्यति कडा थिएन' उनले भने।

अहिलेसम्म कति पोते उने अनि कतिको बेचे भनेर उनले हिसाबकिताब राखेका छैनन्। उनी काम गर्दै गए। एउटा पोते उन्न १५ मिनेटदेखि तीन घण्टासम्म समय लगाए। उनको अनुभवमा अलि बढी समय लाग्ने छड्के तिलहरी र नौगेडीको पोते हो। उनले आफ्नो जीवनमा ५० रूपैयाँदेखि दशौँ हजार पर्नेसम्मका पोते बेचेका रहेछन्।

नयाँ ग्राहक भन्दा पुरानै ग्राहक याद आउने रहेछ उनलाई। अहिलेका ग्राहकमा किचकिच बढी गर्ने बानी भएकाले त्यति मन पराउँदैनन् रैछन् उनी। सामानको गुणस्तर नहेरी सस्तोमात्र खोज्दा रिस उठ्ने रहेछ।

अहिले उनको साथमा दुई जना छोरी र एक छोरा छन्। सबै जनाको नातिनातिना भइसक्यो। छोरीहरूलाई उनले मदरसामा पढाउने जति सबै शिक्षा दिए। 

छोराले कस्मेटिक पसल खोलेका छन्। छोरीहरू उनी सँगै पोते उन्ने काम गर्छन्। त्यही भएर आफ्नो पुर्खाले दिएको सीप आफूसँगै नहराउने भयो भनेर खुसी नै छन्।

मुस्कुराउँदै उनी भन्छन्, 'म रहेसम्म मैले गरेँ, पछि म नभए पनि यो काम हुन्छ। त्यति भए खुसी हुन अरू के चाहिन्छ र!'

२ पुस, २०८०, १९:१६:४० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।