रोजगारी र शिक्षाको नाममा अजिबको ठगी धन्दा :  आवेदनको पाँच सय, नियुक्ती पत्र लिन १० हजार धरौटी

रोजगारी र शिक्षाको नाममा अजिबको ठगी धन्दा :  आवेदनको पाँच सय, नियुक्ती पत्र लिन  १० हजार धरौटी

काठमाडौँ : जन विकास शिक्षा प्रालीको नाममा अवैध शैक्षिक गतिविधि गरिरहेको निजी कम्पनीले कर्मचारी आवश्यक भन्दै आवेदन बापत शुल्क उठाएसँगै कर्मचारीसँग धरौटी समेत माग्ने गरेको खुलेको छ। विद्यालय तहमा शिक्षा सुधारको नाममा बालबालिकासँग पैसा उठाउन सो प्रालीले केन्द्रदेखि सबै स्थानीय तहमा कर्मचारी राख्ने भन्दै आवश्यकता सम्बन्धी विज्ञापन गरेर पैसा असुलेको थियो।

आवेदन शुल्कको नाममा प्रतिव्यक्ति पाँच सय असुलेर ८ सय बढी कर्मचारी मागेको सो प्रालीले अहिले अन्तर्वार्ता लिइसकेकाहरूसँग नियुक्ति पत्र अगाडि धरौटी रकम मागेको छ।

संस्थाले सात प्रदेशको संयोजकहरूको हकमा १० हजार धरौटी मागेको छ। ७७ जिल्ला संयोजकहरूसँग पाँच हजार र ७ सय ५३ प्रदेश संयोजकहरूको हकमा तीन हजार धरौटी मागेको छ। यी सबैबाट लिने धरौटी रकम करिब ३० लाख हाराहारी हुन्छ।

सो संस्थाले स्थानीय तहसम्म नेटवर्किङ शैलीमा कर्मचारीहरू राखेर निजी र सामुदायिक विद्यालयहरूमा  विद्यार्थीहरूसँग पैसा उठाएर कार्यक्रम गर्दैछ। त्यसका लागि उसले विद्यालय इन्चार्जसम्म राख्ने तयारी गरेको छ। शिक्षासँग कुनै सरोकार नराख्ने सो संस्थाका प्रमुखले शिक्षा मन्त्रालय लगायतका सरोकारवाला कुनै निकायसँग यसबारे अनुमति पनि लिएका छैनन्।

२५ लाख चुक्ता पुँजीमा कम्पनी खोलेर प्रतिव्यक्ति मासिक ७० हजारसम्म पारिश्रमिक दिने भन्दै विज्ञापन गरेर आवेदनको नाममा पैसा असुलिरहेका छन्। तर कर्मचारी नियुक्ति गरेका छैनन्। सो संस्थाको मंसिर आठ गतेको पत्रमा केही जिल्ला र प्रदेशका लागि संयोजकको अपुग भएको भन्दै छानिएकाहरूसँग सम्झौता नभएको दाबी गरिएको छ।

बेरोजगार युवाहरूलाई रोजगारीको आवरणमा प्रलोभनमा पार्न संस्थाले सक्दो प्रयास गरिरहेको उसको पत्रहरूबाट देखिन्छ। मंसिर २६ गतेबाट पालिकातहसम्मको कार्यक्रम लागु गरिने उल्लेख गरिए पनि पालिका संयोजक नियुक्त गरिएको पाइएन। संयोजकलाई तोकिएको जिम्मेवारी बहन गरेमा दोस्रो महिनाबाट प्रदेश संयोजकको मासिक ७० हजार, जिल्ला संयोजकको ४० हजार र ७ सय ५३ वटै स्थानीय तह संयोजकहरूको मासिक २८ हजार पारिश्रमिक हुने पत्रमा दाबी गरिएको छ। सो पत्रमा संस्थाले भने अनुसार राम्रो काम गरे ५० हजारसम्म प्रशंसा भत्ता दिने उल्लेख छ। 

संस्थाको आम्दानीको मोडल विद्यालयहरूमा कार्यक्रम गरेर विद्यार्थीहरूसँग पैसा असुल्ने देखिन्छ। त्यसैका लागि उसले प्रदेशदेखि स्थानीय तहसम्म कर्मचारीहरू भर्ना गर्न खोजेको देखिन्छ। सो संस्थामा कति जनाले आवेदन दिए र उनीहरूबाट कति रकम सङ्कलन गरे खुलेको छैन। संस्थाले एकै पटक आठ सय बराबरको आवश्यकता सम्बन्धी विज्ञापन गरेर पाँच सयसम्म आवेदन शुल्क उठाएको थियो। 

कम्पनीले धनुषा र महोत्तरी जिल्लाको विद्यालयमा अध्ययनरत कक्षा ३ देखी १० सम्मको विद्यार्थी शैक्षिक कार्यक्रमको लागि छनोट भएको भन्दै उत्तीर्ण विद्यार्थीको कोड नम्बर साइडमा राखेकाले उसले यो ठगी धन्दा सुरु गरिसकेको पुष्टि हुन्छ।

कम्पनीको प्रबन्ध निर्देशक हुन् अरविन्द कुमार सिंह र सह–निर्देशक सञ्चिता ढुंगाना। यी दुई  शिक्षासँग सम्बन्धित व्यक्ति देखिएनन्। 

यो पनि : शैक्षिक कार्यक्रमको आवरणमा विद्यार्थी ठग्दै निजी कम्पनी, नेटवर्किङ शैलीमा केन्द्रदेखि पालिकासम्मै सञ्जाल

२९ मंसिर, २०८०, १४:२६:०७ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।