झुलाघाट—चिवाभञ्याङ यात्रा अवरोध नगर्न एमालेको आग्रह

झुलाघाट—चिवाभञ्याङ यात्रा अवरोध नगर्न एमालेको आग्रह

काठमाडौं : प्रमुख प्रतिपक्षी दल एमालेले झुलाघाट—चिवाभञ्ज्याङ यात्रामा अवरोध नगर्न अपिल गरेको छ।​

मंगलवारबाट कोशी प्रदेश प्रवेश गर्न लागेको एमाले मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्रामा अवरोध सिर्जना नगर्न आग्रह गरेको हो। न्युज एजेन्सी नेपालसँगको कुराकानीमा प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले केही समूहहरुद्वारा एमालेको अभियानलाई अवरोध गर्ने कार्यक्रम राखेकोप्रति पार्टीको ध्यानाकर्षण भएको बताए।

उनले प्रदेश बन्द, सडक बन्द लगायतका गतिविधि सार्वजनिक गर्ने भन्ने सुनेको भन्दै पार्टीका तर्फबाट सबै समूहहरुलाई अवरोध सिर्जना नगर्न आग्रह गरे। गौतमले एमालेको अभियान विकास र समृद्धिको अभियान भएकाले यस्ता अभियानमा अवरोध सिर्जना नगर्न र अभियानमा सहयोग पुर्याउन आग्रह गरे।

जनताको मुद्दालाई सम्बोधन गरेर अघि बढ्नुपर्ने अहिलेको अवस्था रहेको भन्दै राजनीतिक दलको अभियानमा अवरोध सिर्जना नगर्न र असहमति भए औपचारिक रुपमा शान्तिपूर्ण रुपमा गुनासा राख्न आग्रह गरे।

कोशी प्रदेशको नामको सवाल कोशी प्रदेश सभाको आफ्नो सवाल भएकाले त्यस्ता मुद्दालाई औपचारिक रुपमा प्रदेश सभामा उपस्थिति गराएर छलफल गर्ने वातावरण मिलाउनुपर्ने बताए। कोशी प्रदेश नामकरणमा एमालेसहित काँग्रेस, माओवादी पनि सहभागी भएकाले एमालेलाई मात्रै निशाना बनाइ गरिने अवरोध लोकतान्त्रिक हुन नसक्ने जिकिर गरे।

प्रमुख गौतमले एमालेको यो अभियान जनताका मुद्दा सम्बोधन गर्ने अभियान भएकाले सबैले सहयोग गर्न आवश्यक रहेको बताए।

एमालेको मध्यपहाडी पुष्पलाल लोकमार्ग यात्रा आजबाट उदयपुरको घुर्मी हुँदै खोटाङ प्रवेश गर्दैछ।

मंसिर २६, २०८० मंगलबार ११:५०:२९ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।