चाँदीको धागोले मखमल सिंगार्ने हैदर जसको कला राजदरबारको सिंहासनमा सजिन्थ्यो

चाँदीको धागोले मखमल सिंगार्ने हैदर जसको कला राजदरबारको सिंहासनमा सजिन्थ्यो

ठमेलको चिसो गल्लीमा रहेको आफ्नो पसलको भुइतलामा दिनहरू कटाइरहेका हुन्छन्, हैदर अलि। ३८ वर्ष पूरा भइसक्यो, उनले कपडामा बुट्टा भर्न थालेको। तर, अब चाहिँ यसलाई बिट मार्ने सोचिरहेका छन्। कपडामा बुट्टा भर्दाभर्दै आफ्नो जीवनमा बुट्टा भर्नै भ्याएनन् उनले। त्यसैले पनि होला ‘सधैं यही काम गरेर नै मनोटोनस भयो’ भन्ने अनुभूतिमा पुगेका छन् उनी।

अर्डर अनुसारको सबै कपडामा बुट्टा भरेर चमकदार बनाउने काम गर्छन् उनी। उनको यो काम पुर्ख्यौली होइन। तर, बाबाले भने गर्ने गर्थे। अनि बाबाकै सिको गर्दै दुई दाजु भाइले पनि यही गरे । सबै जना मिलेरै गरिरहेका थिए। तर, बाबा बिते पछि उनीहरूले आ-आफ्नै तरिकाबाट पसल चलाउन थाले।

पुर्ख्यौली थलो भारत भए पनि उनको जन्म भने यहीँ काठमाडौंमै भयो।‘हामी दोस्रो पुस्ता हौँ। यो काम बाबाले खासै गर्नु भएन। मैले स्कुल लाइफ देखि गरेको। घर काठमाडौं नै हो। सानै देखि अलि-अलि त गर्थेँ नै। अनि १५ वर्षको उमेरमा एसएलसी दिए पछि चैं पूरै यसैमा लागेँ’, उनले सरासर भने।

कपडामा बुट्टा भर्ने काम गर्न थालेपछि उनलाई खासै पढ्ने इच्छा भएन। त्यही पनि आइकम पढ्न भर्ना चाहिँ भए। ‘मदरसा पनि चार वर्ष पढियो। हुन त त्यसमा पनि सबै विषय त हुन्थ्यो। तर, आइकम पछि पढाइ किन चाहियो भन्ने लाग्यो’, उनी भन्छन्, ‘कि त्यसैमा केही समातेर जान पर्यो। होइन भने सामान्य पढ्न लेख्न जान्ने भए पछि एउटा सीप भए हुने रहेछ। मसँग सीप छ भन्ने लागेपछि नै हो, मैले यही गरेको।’

रंगीचंगी धागोसँगको सम्बन्ध नै मधुरो भयो

पहिला सारी, कुर्ता र बिहेको कपडाहरूमा बुट्टा भरेका हैदरले समय सँगै काममा निकै परिवर्तन देखे। बजार, ग्राहक र ग्राहकको इच्छामा आकाश जमिनको फरक पाए। अहिले उनकोमा अधिकांश टि-शर्ट, ज्याकेट र ब्यागहरूमा बुट्टा भर्ने अर्डर आउँछ। अहिलेको काममा सजिलो भए पनि पहिलाजस्तो रौनक भने  पाउन सकेका छैनन्।

‘पहिला कपडा तयार बनाएर दिँदा ग्राहकहरू धेरै खुसी भएर जान्थे। अहिले त सबै होलसेलकै आउने हो। कहिलेकाँही ग्राहक नै आए पनि हतार-हतार कपडा लिएर गइहाल्छन्’, उनले भने।

उनको पसलमा मेसिन भित्रिएको धेरै समय भइसक्यो। तर, उनलाई चाहिँ हातैले काम गर्न मन लाग्ने रहेछ। उनी भन्छन्, ‘ठमेलमा त अहिले टि-शर्ट र ब्याचको माग हुन्छ। अनि ज्याकेटमा लोगो हाल्ने माग पनि हुन्छ। गार्मेन्टको कामको लागि थोरै समय दिएको हुन्छ, अनि सबै सकाइहाल्नमै ध्यान हुन्छ।’

त्यही भएर बुट्टाको डिजाइनमा पनि ग्राहकहरूले धेरै विविधता नखोजेको उनले अनुभव गरेका छन्। ‘पर्यटकले हिमाल भएको, एउटा मात्र भए पनि ‘आइ लभ काठमाडौं’ लेखेको लाने हुन्। अरू त होलसेलको डिमाण्ड न हो’, उनले फटाफट भने। उनको काममा सबैभन्दा बढी प्रयोग हुने नै रंगीबिरंगी धागो हो। अचेल यही धागो मन खोलेर प्रयोग गर्न नपाएको कारण उनी निराश छन्।

उनका अनुसार भिष्कस, पोलिष्कस र एङ्कर धागो हातैले प्रयोग गर्दा झन् सुन्दर देखिन्छ। पहिला-पहिला रंगीबिरंगी धागो खोज्न महिनौं लगाएर बजार डुलेको उनले अहिले पनि बिर्सेका छैनन्। अहिले पहिलाको भन्दा फरक माग हुन थाले पछि एकनासको धागो खोज्न जान परेको छैन। त्यही भएर आफ्नो कामको अस्तित्व नै सकिन लागेको उनले अहिले नै महसुस गरिसकेका रहेछन्। त्यसैले पनि केही समयको लागि मात्र हो भन्दै सधैंजसो त्यही चिसो कोठामा उनी बिहानदेखि रातीसम्म बस्ने गर्छन्।

‘पर्यटकहरूसँग पैसा छैन’

‘पर्यटकको व्यापार छैन। पर्यटकहरूसँग अहिले पैसा छैन। बरु नेपाली र भारतीयहरूले लिन्छन्। तर, धेरै लिँदैनन्’, उनी भन्दै गए, ‘ठमेल जन्मेकै कति भयो र! पहिला झोछेंमा सानो बजार थियो। त्यसपछि काठमाडौं गेष्ट हाउसले गर्दा पो ठुलो हुँदै गयो त। अनि यता ठमेलसम्ममा पर्यटकको बजार लागेको त धेरै भएकै छैन नि।’

‘पर्यटक भन्दा अगाडि त यतैको लोकल मान्छेहरू बुट्टेदार सारी,  घुम्टो बनाउन आउँथे। मखमल, भेल्भेटको कपडा सिँगार्न आउँथे। राजदरबारको सिंहासनमा राख्ने मखमलको कपडा पनि तीन/चार पटक बनाएको छु।’ उनका अनुसार गद्दीमा ओछ्याइने कपडा तयार गर्न छ महिना लाग्थ्यो। दरबारसँगै छाउनी र वसन्तपुरको लागि पनि एकैपटक बनाइसक्न ३५/४० जना व्यक्ति खटिन्थे।

उनी भन्छन् ‘त्यो मखमलको कपडामा लालीगुराँस बनाउने छ नि, त्यसमा प्रयोग भएको सबै धागो पहेँलो देखे पनि  धागो चाँदीको हो। चाँदीको धागोले सिलाए पछि त्यसमा पहेँलो रंग भर्ने हो। पछि राजा नभए पनि त्यस परिवारबाट कपडा त बनाउन ल्याइएको थियो। साडी, पास्नीमा भात खुवाउँदा लगाउने कपडाहरू आउँथ्यो। पछि त आउनै छोड्यो। म पनि काम दिनु भन्दै गइँन। गएको भए त पाउँथे पनि होला! तर, अगाडि पनि म त्यहाँ गएको होइन , उहाँहरू नै खोज्दै आउनु भएको हो।’

एकबेला उनले एकैपटकमा पचास हजार पिस कपडा तयार गर्नेसम्मको अर्डर पाएका छन्। तर, सबै भन्दा महँगोमा काम गरेको भने पाँच हजारमा रे!

‘४० सालमा मैले ८ इन्चको भुटानी देउता बनाएर पाँच हजार लिएको नि। अहिले त दिनभरमा पनि कहिलेकाहीँ हजारसम्म कमाइ हुँदैन। अनि त्यो बेलामा एउटाबाट त्यति आउनु भनेको महँगो होइन त?’ उनले उल्टै सोधे।

अहिले भने उनले पसलमा  कामदार राखेका छैनन्। जे गर्छन् आफै गर्छन्। ‘त्यो बेला ज्याला पनि दश/पन्ध्र रूपैयाँ थियो। काम पनि मारामार,अनि मान्छे पनि धेरै राखेको थिएँ। तर अब त काम पनि त कम भयो। मकहाँ भएका कामदारहरूले बरु आफ्नै पसल खोलेका छन्। मेरोमा धेरै काम आयो भने पनि उनीहरूकहाँ नै पठाउने गर्छु। चेलाहरू राम्रो पनि गर्दै छन्। मेरो लागि त्यही सबभन्दा खुसीको कुरा हो।’

उनी पछिको सन्ततिले भने उनको पेशामा आउन चासो देखाएका छैनन्। हैदर आफैले पनि यसैमा लाग भनेका छैनन्।

‘मान्छेले कुनै पनि काम मजबुरी वा रहरले गर्ने रहेछ। मेरो यो रहर हो। त्यही भएर रमाइलो मानेर नै गरेँ। सबै मज्जाले गरेँ। आफ्नो इच्छाले गरेँ। तर, सधैं रमाइलो गरेर मात्र पनि त भएन नि! अरू काम गर्यो भने पनि राम्रैसँग गर्छु भन्ने लाग्छ। के गर्छु भन्ने सोचेको छैन। तर यो नगर्ने चैं सोचिसकें’, निराश हुँदै उनले भने।

जीवनको ५७ औं हिउँदमा रहेका हैदरको श्रीमतीसहित छोरा र छोरी छन्। दुवै जना पढिरहेका छन्। यत्तिका समय सियो-धागोसँग खेल्दा आँखामा पनि केही समस्या देखिएको उनले सुनाए।

२५ मंसिर, २०८०, १८:१३:५२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।