सुन बोकेर आएका चन्द्र घले विमानबाट ओर्लदा नै समातिए, मीनबहादुर घरमा कुरेर बसेका थिए (एक्सक्लुसिभ तस्बिरसहित)
काठमाडौँ : त्रिभुवन विमानस्थल भन्सार कार्यालयले बिहीबार राती ११: ४० बजे फ्लाइ दुबई एफजेड ५७३ बाट आएका चन्द्र घलेलाई नियन्त्रणमा लिए। भन्सारका प्रमुख सहसचिव टोकराज पाण्डेको दाबी अनुसार सुन तस्करी भएर आउँदैछ भन्ने सूचनाको आधारमा केही दिनदेखि नै नेपाल भित्रिने अन्तर्राष्ट्रिय विमानस्थलका यात्रुहरूमाथि निगरानी राखिएको थियो।
बुधबार विशेष गरी फ्लाइ दुबईका फ्लाइटका यात्रु निगरानीमा थिए। सुराकीबाट आएको हुलिया अनुसारका यात्रु फेला परेनन्। बिहीबार बेलुका ११ : ४० मा दुबईबाट आएको फ्लाइ दुबईको फ्लाइटका यात्रुमध्ये एक जनाको हुलिया सुन बोकेर आउनेको हुलियासँग मेल खायो।
उनले ज्याकेट अनि नीलो सर्ट लगाएका थिए। हातमा सानो ब्याग थियो। सुरक्षाकर्मीले उनलाई विमानबाट झर्दाझर्दै नियन्त्रणमा लिइसकेको थियो।
उनलाई विमानस्थलको वाक थ्रु गेट नजिक ल्याएर सर्ट खोल्न लगाए। उनले नीलो सर्टभित्र खैरो वेष्टकोट आकारको खल्ती भएको कपडा लगाएका थिए जहाँ उनले सात वटा सुनका बिस्कुट राखेका थिए। उनले कपडा खोल्नासाथ सहजै सुन बरामद भयो। भन्सारले सुन जोख्दा एउटा बिस्कुट आकारको सुनको तौल २ किलो देखियो।
सोधपुछमा चन्द्र घलेले गोरखाका मीनबहादुर घलेको नाम लिए। अनि घले बस्ने ठेगाना पनि खुलाए। भन्सार टोली सुरक्षाकर्मी लिएर घलेको घरमा गएर पक्राउ गरिहाल्यो।
पाण्डेले रातभर संयुक्त रूपमा परिचालित मीनबहादुर पक्राउ गरेको खुलाउँदै उनी विमानस्थल आसपासमै समातिएको दाबी गरे। तर उनी विमानस्थल आसपास पक्राउ परेका थिएनन्। उनी घरमा सुतिरहेको बेलामा फेला परेका थिए।
सुन छानबिन गर्न समिति गठन
सुन बरामद भएको घटनाको छानबिन गर्न भन्सार कार्यालयले शुक्रवारै समिति गठन गरेको छ। भन्सार अधिकृत मणिराम पौडेलको संयोजकत्वमा गठन भएको समितिमा प्रहरी नायव उपरीक्षक सूर्यप्रकाश सुवेदी, भन्सार अधिकृत प्रकाश निरौला, डिल्लीप्रसाद शर्मा र शाखा अधिकृत मञ्जु थापा छन्। उनीहरूलाई पाँच दिनको अवधि तोकिएको छ।
मंसिर २२, २०८० शुक्रबार १५:३३:४४ मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।