राष्ट्रिय सभा जान कांग्रेसमा म्याराथन सुरु : कृष्ण सिटौलादेखि मीनेन्द्रसम्म प्रतिस्पर्धामा, अनिल र अरुण पनि इच्छुक

राष्ट्रिय सभा जान कांग्रेसमा म्याराथन सुरु : कृष्ण सिटौलादेखि मीनेन्द्रसम्म प्रतिस्पर्धामा, अनिल र अरुण पनि इच्छुक

काठमाडौँ : राष्ट्रिय सभाको रिक्त २० मध्ये १९ जना सदस्यको निर्वाचनमा गठबन्धनबाट कांग्रेसको भागमा पर्ने सिटमा आफ्नो नाम पार्न नेताहरूबिच प्रतिस्पर्धा सुरु भएको छ। रिक्तमध्ये एक सिट राष्ट्रपतिले मनोनीत गर्नेछन्। अन्य १९ मा निर्वाचन हुनेछ।

राष्ट्रिय सभाको निर्वाचनमा सत्ता गठबन्धनमा रहेका ६ दल मिलेर उम्मेदवार उठाउने तयारीमा रहेको देखिन्छ। १९ सिटमध्ये ठुलो दलको हैसियतमा कांग्रेसले ६ सिटसम्म पाउन सक्छ। ती सिटमा आफ्नो नाम पार्न कांग्रेसमा नेताहरूबिच प्रतिस्पर्धा सुरु भइसकेको छ। पार्टीभित्रको गुट र उपगुटलाई सिट बाँड्दा संस्थापन समूहसँग थोरै सिट बस्छ। तर आकाङ्क्षी धेरै देखिएका छन्।

राष्ट्रिय सभाको सदस्यको उम्मेदवार बन्न सबैभन्दा धेरै दौडधुपमा देखिएका छन् गोपालमान श्रेष्ठ। उनी पार्टी संस्थापन समूहबाट उम्मेदवार बन्ने तयारीमा छन्। दोस्रोमा फरमुल्लाह मन्सुर आकाङ्क्षी देखिएका छन्।

संस्थापन समूहमै रहेका कृष्ण सिटौला पनि राष्ट्रिय सभा जाने तयारीमा देखिएका छन्। यसबारे उनले आफ्नो समूहमा छलफल समेत गरिसकेका छन्। सिटौला निकट स्रोतका अनुसार अध्यक्ष हुनसक्ने सम्भावना रहेमा उनी उम्मेदवार बन्न सक्छन्। सिटौलाको उम्मेदवारीमा पार्टी सभापति शेरबहादुर देउवा पनि राजी छन्।

राष्ट्रिय सभामा जान कलाकार निर शाह समेत सक्रिय भएका छन्। दरबारिया पृष्ठभूमिका उनी कांग्रेसमा आबद्ध भएदेखि नै कुनै लाभको पद नपाएको भन्दै कलाकारको प्रतिनिधिका रूपमा राष्ट्रिय सभामा जान सक्रिय छन्।

उनीबारे पार्टी सभापति देउवाले सकारात्मक या नकारात्मक केही जवाफ दिएका छैनन्। तर कांग्रेस नेतृ तथा देउवापत्नी आरजु राणा देउवाले भने उनलाई बागमतीबाट राष्ट्रिय सभा सदस्य बनाउन जोड लगाइरहेकी छिन्।

उता संस्थापन समूहबाटै बागमतीबाट सदस्य बन्न अरुण सुवेदी समेत सक्रिय छन्। आर्थिक तथा परराष्ट्रको अनुभव रहेको र अहिले सरकार यी दुबैपक्षमा कमजोर रहेको भन्दै उनी उम्मेदवार बन्न सक्रिय रहेको जानकारस्रोतले बतायो। उनी देउवा प्रधानमन्त्रीहुँदा उनको परराष्ट्र सल्लाहकार समेत थिए।

उता संस्थापनइतर समूहबाट मंसिर ४ को निर्वाचनमा टिकटबाट वञ्चित गराइएका मिनेन्द्र रिजाल सक्रिय देखिएका छन्। पार्टीभित्र संस्थापनइतर समूहभित्र समेत अहिले शेखर कोइराला र गगन थापाको अलग्ग भइसकेका छन्। गगन समूहमा अहिले विश्वप्रकाश शर्मा अनि प्रदीप पौडेल लगायतका नेता देखिएका छन्। उनको समूहका आकाङ्क्षी खुलेका छैनन्।

उता शशाङ्क र प्रकाशमान सिंहले समेत राष्ट्रिय सभामा एक जना आफ्नो समूहको लैजाने प्रयासमा रहेका छन्। कांग्रेस गण्डकी प्रदेशको अध्यक्ष रहेका शुक्रराज शर्मा प्रदेशको समानुपातिकमा पहिलो नाम रहे पनि सांसद हुन पाएनन्। उनी शशाङ्क समूहबाट उम्मेदवार हुन सक्ने सम्भावना रहेको जानकारस्रोतले बतायो।

पश्चिमबाट अर्जुनबहादुर सिंह इच्छुक देखिएका छन्। मधेसबाट आनन्द ढुंगाना पनि प्रतिस्पर्धामा देखिएका छन्। उता मधेसबाट देउवाको प्राथमिकताको सूचीमा अनिल रुंगटा रहेको विश्वस्तस्रोतले बतायो। भक्तपुरका मदनकृष्ण श्रेष्ठ समेत राष्ट्रिय सभा उम्मेदवार हुने प्रतिस्पर्धामा देखिएका छन्।

मंसिर २१, २०८० बिहीबार १९:४२:१६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।