मलाई हाम्राहरू नै राम्रा लाग्छ, के भाको हो : प्रधानमन्त्री दाहाल

मलाई हाम्राहरू नै राम्रा लाग्छ, के भाको हो : प्रधानमन्त्री दाहाल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कर्मचारी संयन्त्रको काम निराशाजनक भएको बताएका छन्।

काठमाडौंमा भएको शासकीय तथा आर्थिक सुधार सम्बन्धी अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री दाहालले आफू प्रधानमन्त्री हुँदा दिएको निर्देशनको पालना नभएको बताए।

‘मैले पहिलो पटक सचिवजीहरूलाई निर्देशन दिएअनुसार परिणाम आउन सकेन,’ उनले भने, ‘उत्साहजनक परिणाम आउँछ भन्ने विश्वास गरको थिएँ, परिणाम निराशाजनक भयो। भनेको जसरी अगाडि जान सकेन।’

जनतामा भरोसा पैदा गर्नसक्ने तत्काल गर्नसक्ने कामहरूको बारेमा सुझाव दिन आग्रह गर्दै उनले सरकार शासकीय सुधार आयोग निर्माण गरेर अगाडि बढ्ने योजनामा रहेको प्रष्ट पारे।

‘सेवा प्रभावमा स–साना कामलाई सुधार गरेर, ठूला कामहरू गर्नुपर्ने हुन्छ,’ उनले थपे, ‘जनतालाई सेवा प्रवाहमा सुधार गर्नका लागि कानून संशोधन लगायका विषयमा ठोस निष्कर्षमा पुग्नुछ। कहिँ न कहिँ यसमा समस्या छ र समाधानको उपाय हामीले खोज्नैपर्छ।’

ज्ञान, प्रतिस्पर्धा र पेशागत हिसाबले कर्मचारीहरू सक्षम भए पनि सेवा, विकास र परिणाम देखिन नसकेको भन्दै उनले असन्तुष्टि व्यक्त गरे।

‘प्रतिस्पर्धा गर्ने हो भने अरु देश कसैको भन्दा हाम्रा कमजोर छ भन्ने मलाई पटक्कै लागेको छैन,’ उनले थपे, ‘मैले यसबीचमा धेरै देशका नेता र ब्यूरोक्र्याटहरूसँग अन्तरक्रिया अवसर पाएँ, मलाई हाम्राहरू नै राम्रा लाग्छ। के भाको हो? हाम्रा नै सक्षम लाग्छ। तर परिणाम निकाल्न सकेका छैनौँ।’

मंसिर २०, २०८० बुधबार १२:३१:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।