उपप्रधानमन्त्री श्रेष्ठसँग भेट्न अस्पताल पुगे प्रधानमन्त्री दाहाल

उपप्रधानमन्त्री श्रेष्ठसँग भेट्न अस्पताल पुगे प्रधानमन्त्री दाहाल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले हृदयाघातपछि उपचाररत उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठलाई भेट्न अस्पताल पुगेका छन्।

बुधबार बिहान प्रधानमन्त्री दाहालले शहीद गंगालाल हृदयरोग केन्द्रमा उपचाररत श्रेष्ठसँग भेटेर उनको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका हुन्।

श्रेष्ठको उपचारमा संलग्न डाक्टरहरूसँग उनको स्वास्थ्य अवस्थाबारे प्रधानमन्त्री दाहाललाई जानकारी गराएका छन्।

छातीमा असहज महशुस भएपछि मन्त्री श्रेष्ठ मंगलबार राति शहीद गंगालाल हृदयरोग केन्द्रमा भर्ना भएका थिए।

गत असोज ३० गतेदेखि कात्तिक १ गतेसम्म चीन भ्रमणमा रहेका बेला मन्त्री श्रेष्ठलाई हृदयाघात भएपछि त्यहिँ उपचार गरिएको थियो।

उक्त समयमा नै मुटुको अर्कोपट्टी धमनीमा समेत केही अवरोध देखिएको थियो।

उक्त आंशिक अवरोधलाई मंगलबार साँझ डाक्टर अरुण मास्केसहितको चिकित्सकको टोलीले एन्जियोप्लास्टी सर्जरी गरेको प्रवक्ता भट्टराईद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

मुटुको कोरोनरी धमनीसम्बन्धी रोगका कारण अवरुद्ध कोरोनरी धमनी खोल्नको लागि गरिने एक प्रक्रिया नै एन्जियोप्लास्टी हो।

यसले ओपन-हार्ट सर्जरीविना मुटुको मांसपेशीमा रक्त प्रवाह पुनर्स्थापित गर्दछ। हृदयघात जस्ता आपतकालीन अवस्थामा एन्जियोप्लास्टी गर्न सकिन्छ।

श्रेष्ठको स्वास्थ अवस्था अहिले स्थिर र सामान्य रहेको रहेको छ।

मंसिर २०, २०८० बुधबार ०८:०९:१८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।