टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’

टिकटक प्रतिबन्धविरुद्धको रिट ‘हेर्न नभ्याइने’

काठमाडौं : सामाजिक सञ्जाल टिकटकमाथि प्रतिबन्ध लगाउने सरकारको निर्णयविरुद्ध दायर रिट निवेदनमाथिको सुनवाइ आज हेर्न नभ्याइने भएको छ।

न्यायाधीशहरू सुष्मालता माथेमा र विनोद शर्माको संयुक्त इजलासमा परेको रिटको सुनवाइ गर्न नभ्याइने भएको सर्वोच्च अदालतले आफ्नो वेबसाइटमा उल्लेख गरेको छ।

माथेमा र शर्माको इजलासले अहिलेसम्म चार वटा मुद्दा सुनुवाइ गरिसकेको छ भने खाजापछि दुई वटा रिटको सुनुवाइ हुनेछ। उनीहरूको इजलासमा परेका बाँकी २० वटा रिट भने हेर्न नभ्याइनेमा परेको छ।

यसअघि सर्वोच्च अदालतमा दर्ता भएका १४ वटा रिटमाथि एकसाथ सुनुवाइ गर्दै न्यायाधीश विनोद शर्माका इजलासले सरकारको नाममा कारण देखाऊ आदेश जारी गरेको थियो।

पारिवारिक र सामाजिक सद्भाव बिथोलिएको भन्दै गत कात्तिक २७ गते बसेको मन्त्रिपरिषद् बैठकले नेपाल दूरसञ्चार प्राधिकरण अन्तर्गत रहेका इन्टरनेट सेवा प्रदायकलाई पत्राचार गर्दै टिकटकमाथि पूर्णरूपमा प्रतिबन्ध लगाउन निर्देशन दिने निर्णय गरेको थियो।

पछि विभिन्न राजनीतिक दलका नेताहरूले टिकटकमाथिको प्रतिबन्धले लोकतन्त्र विरुद्धको कदम भन्दै सरकारको आलोचना समेत भएको थियो। सरकारले टिकटक बन्द गरेपछि कानुन व्यवसायी दिनेश त्रिपाठीले सर्वोच्चमा सरकारको निर्णयविरुद्ध रिट दायर गरेका थिए।

सरकारको सो निर्णयले नागरिक संवैधानिक अधिकार हनन गरेको भन्दै अन्य १३ वटा रिटसमेत परेका थिए।

मंसिर १९, २०८० मंगलबार १३:५५:२४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।