श्रीमानबाटै ज्यान जोगाएर बाँचेकाहरू !

श्रीमानबाटै ज्यान जोगाएर बाँचेकाहरू !

सुर्खेत : जिल्लाको गुर्भाकोट नगरपालिका-१३ मोतिपुरकी ३५ वर्षीया मिनाकुमारी सार्की घरमै बस्थिन्, मेलापात अनि घरेलु काम गर्थिन्। दुई छोरीकी आमा मिनाकुमारीको जीवन दुःखम् सुखम् चलेकै थियो।

तर, केही वर्षदेखि उनका ३७ वर्षीय श्रीमान् भिमराज सार्कीले उनलाई गर्ने व्यवहारमा परिवर्तन आयो। दैनिक मदिरा पिएर कुटपिट र हिंसा हुन थाल्यो। दैनिक घरेलु हिंसा सहन परेपछि श्रीमान्सँगको सम्बन्धमा दरार आयो। उनलाई त्यो घरमा बस्न मात्र होइन बाँच्नै मन लागेन।

आत्महत्याको समेत प्रयास गरिन् तर दुई छोरीको मायाले सकिनन् अनि कमाउन दाइसँगै भारत हानिइन्। घरमा सासुको मृत्युको खबर आयो, उनी नेपाल फर्किइन्। आमाको मृत्युको खबरले श्रीमान् पनि घर फर्किए।

काजकिरिया सकेपछि भिमराज र मिनाको सम्बन्ध पहिलाको भन्दा झन् खराब भयो। गत साउनमा छतमा बसिरहेकी मिनालाई श्रीमान् भिमराजले तातोपानीसमेत खन्याए। परिवार र छिमेकीले थाहा पाएपछि मिनालाई हतार-हतार अस्पताल लगियो र उनको ज्यान जोगियो।

मिनाले श्रीमान्विरुद्ध प्रहरीमा ज्यान मार्ने उद्योग र अंशसहित सम्बन्ध विच्छेदको मुद्दा हालिन्। घटनापछि फरार रहेका भिमराजलाई प्रहरीले असोज १० गते पक्राउ गर्यो।

‘सासु बितेको खबर पाएपछि म भारतबाट घरमा फर्किएँ,’ मिनाले भनिन्, ‘बसिरहेको बेला मेरो शरीरमा तातोपानी खन्याएर मार्न खोज्या रहेछ। छिमेकीले थाहा पाएपछि बाँचे। अहिले पनि शरीरमा दागहरू मेटिएका छैनन्।’

फागुन ११ गते जिल्ला अदालत सुर्खेतले भिमराजलाई चार वर्षको कैद सजायको फैसला सुनायो। अंश र सम्बन्ध विच्छेदको मुद्दा भने कानुनी प्रक्रियामा छ।

अहिले मिना कोक्याभ नामक गैरसरकारी संस्थाको सहयोगमा ६ महिने सिलाइकटाई तालिम लिएर वीरेन्द्रनगर-२ जयपुरमा बस्छिन्। उनी ११ वर्षीया छोरी गुर्भाकोटकै घरमा बसेर पढ्छिन् भने २० वर्षीय छोरीको विवाह भइसक्यो।

उता बराहताल गाउँपालिका-२ रानीघाटकी २६ वर्षीया भोजकुमारी खड्काको अवस्था मिनाको भन्दा झन् दर्दनाक छ। गत जेठ १२ गते श्रीमान् हस्तबहादुर खत्रीले घाँटीमा नाम्लोले बाँधेर नजिकैको रुखमा झुण्ड्याउन घिसारिरहेको बेला छिमेकीले थाहा पाएपछि उनको ज्यान जोगियो।

भोजकुमारी खड्का

असार ५ गते घरेलु हिंसा र खानाखर्चको लागि जिल्ला अदालत सुर्खेतमा भोजकुमारीले मुद्दा हालिन्। श्रीमान् हस्तबहादुरले प्रत्तिउत्तरमा सम्बन्धविच्छेदको मुद्दा थपे। उक्त मुद्दा पनि अहिले कानुनी प्रक्रियामा छ।

‘जीवन कटाउने वाचा गरेर ल्याएका श्रीमान्ले मार्ने योजना बनाउला भनेर सोचेको पनि थिइनँ,’ भोजकुमारीले भनिन्, ‘उसकै भलाइका लागि मैले ज्यान मुद्दा नहालेर घरेलु हिंसाको मुद्दा मात्रै हालेँ। तर उसको अरु केटीसँग नै सम्बन्ध रहेछ। उसैले सम्बन्ध विच्छेदको मुद्दा हाल्यो।’

भोजकुमारी अहिले वीरेन्द्रनगरमा भाइसँग बस्दै आएकी छन्। उनी पनि सिलाई कटाई तालिम सिकिरहेकी छन्। नौ वर्षीया छोरी र छ वर्षीय छोराको जिम्मेवारी पनि उनकै काँधमा छ।

त्यस्तै वीरेन्द्रनगर-१३ की ३० वर्षीया मञ्जु लामिछानेलाई पनि दुई वर्ष पहिले श्रीमान् डम्मर न्यौपानेले दाउराले मरणासन्न हुनेगरी कुटपिट गरे। दाउरो लाग्दा उनका दाँतै भाचिए। उनले पनि श्रीमान्विरुद्ध ज्यान मार्ने उद्योग र सम्बन्ध विच्छेदको मुद्दा हालेकी थिइन्।

घरेलु हिंसाबाट पीडित महिलाहरू

जिल्ला अदालत सुर्खेतले डम्मरलाई ६ महिना कैद सजाए सुनाएको थियो। अहिले उनको सम्बन्ध विच्छेद भइसकेको छ। मञ्जु र उनकी चार वर्षीया छोरी माइतमा बस्दै आएका छन्।

महिला हिंसाका घटना बढ्दै
यी त केही उदाहरण मात्र हुन्। कर्णालीमा पछिल्लो केही वर्षयता महिलाहरूमाथि हुने घरेलु र पारिवारिक हिंसाको अवस्था निक्कै डरलाग्दो छ।

प्रदेश प्रहरी कार्यालय सुर्खेतको तथ्याङ्क अनुसार कर्णालीका १० जिल्लामा आर्थिक वर्ष २०७७/०७८ मा ८७५, २०७८/०७९ मा ८८३ र २०७९/०८० मा ८५८ गरी २६ सय १६ महिलामाथि परिवार, श्रीमान् र छिमेकीबाट घरेलु हिंसा भएका छन्।

प्रदेश प्रहरी कार्यालयका प्रवक्ता वरिष्ठ प्रहरी उपरीक्षक बिरबहादुर वलीका अनुसार चालु आर्थिक वर्षको साउनदेखि असोजसम्म मात्रै कर्णालीमा २२८ जना महिलामाथि घरेलु हिंसा भएको छ। जसमध्ये १२२ उजुरी मिलापत्र, ४८ उजुरी सम्बन्धित निकायमा पठाइएको, ५६ उजुरीको काम हुन बाँकी र २ उजुरीका व्यक्तिहरू सम्पर्कमा आएका छैनन्।

‘पछिल्लो समय महिलाहरूमाथि श्रीमान् र परिवारबाटै घरेलु हिंसा गरेका उजुरीहरू प्रहरीमा बढिरहेका छन्,’ प्रवक्ता वलीले भने, ‘अशिक्षा, गरिबी र बेरोजगारीले गर्दा महिलामाथि हुने हिंसा बढेको पाइन्छ।’

महिलामाथि हुने हिंसामा प्रदेशका १० जिल्ला मध्ये राजधानी समेत रहेको सुर्खेतमा सबैभन्दा बढी र डोल्पामा सबैभन्दा कम छ। महिलामाथि हुने हिंसाहरू दिनानुदिन बढिरहनुमा अशिक्षा र गरिबी नै मुख्य कारण रहेको अधिवक्ता गीता कोइराला बताउँछिन्।

‘आर्थिक विपन्नता भएका र अशिक्षितहरूले नै हिंसा गरेका घटना धेरै आउँछन्। पछिल्लो समय त लघुवित्त र सहकारीको ऋणका कारण महिला हिंसा झन् बढेको छ,’ उनले भनिन्, ‘रोकथामका लागि सरकारी, गैरसरकारी निकायसँगै सबै शिक्षित नागरिकहरूले अभियान नै चलाउन जरुरी छ। होटेलमा गर्ने कार्यक्रमभन्दा गाउँ-गाउँमा गर्ने कार्यक्रम प्रभावकारी हुन्छन्।’

सचेतना र स्वरोजगारमूलक कार्यक्रम ल्याइ महिलाहरूलाई आर्थिक रूपमा बलियो बनाउन सके हिंसा न्यूनीकरण हुने उनको भनाइ छ।

१८ मंसिर, २०८०, ०९:४३:४३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।