दुई पटकसम्म सर्लक्कै सुकेको बराह ताल जब आफैँ लबालब भरियो

दुई पटकसम्म सर्लक्कै सुकेको बराह ताल जब आफैँ लबालब भरियो

सुर्खेत : प्रदेश राजधानी वीरेन्द्रनगरबाट २२ किलोमिटरको दुरीमा रहेको बराह ताल डेढ वर्ष अघिसम्म सुकेको थियो। साढे पाँच वर्षसम्म तालमा पानी थिएन। ताल सर्लक्कै सुकेको थियो। तर २०७९ सालबाट तालमा लबालब पानी भरिएको छ।

१६ विगाह क्षेत्रफलमा फैलिएको ताल भरिएपछि अहिले स्थानीय हर्षित भएका छन्। ताल भरिएपछि आन्तरिक पर्यटकहरूको चहलपहल पनि बढेको छ। जसकारण स्थानीय होटेल व्यवसायीसमेत खुसी छन्।

‘बिचमा ताल सुकेपछि यहाँको माहोल सुनसान थियो। ताल भरिएपछि मानिसहरूको चहलपहल पनि बढ्न थालेको छ,’ होटेल व्यवसायी लक्ष्मणबहादुर थापाले भने, ‘अहिले व्यवसाय पनि चलेकै छ।’

मुगुको रारा ताल जाने कर्णाली राजमार्ग बीचको हुड्केदेखि १६ किलोमिटर पर रहेको बराह तालमा रारा जाने पर्यटकहरू समेत आउन थालेका छन्।

तालमा आउने पर्यटकलाई लक्षित गरी लोपोन्मुख राजी समुदायका ६ वटा घरलाई मिलाएर एउटा होमस्टे बनाइएको छ।

‘तीन वर्ष अघिसम्म हाम्रा होमस्टे सुनसान थे। अहिले नेपालगञ्ज र काठमाडौंबाट समेत पाहुना आउन थालेका छन्’, होमस्टे सञ्चालक जुल्फे राजीले भने।

तालमा हाँस, सारस, हुटिट्याउँ, कछुवा, जस्ता २५ बढी प्रजातिका जीवजन्तुहरू छन्। चराहरू पानीमा पौडी खेलेको देख्न पाइन्छ।

सिंचाइ अभावले खेतिपाती हुन छाडेपछि होटल चलाएकी लक्ष्मी भण्डारीको केही वर्षअघि ताल सुकेपछि होटल व्यवसाय पनि बन्द भयो। तर अहिले ताल भरिएपछि होटल पनि भरिन थालेको बताइन्।

‘यहाँ कुलोको पानी छैन। अकाशे पानीले मकै र गहुँ पनि उब्जनी हुँदैन। सानो होटेल खोलेर बसेका थियौँ। बिचमा ताल सुकेपछि मान्छे आउनै छाडे, बन्द गरेर बसेका थियौँ,’ उनले भनिन्, ‘अहिले ताल पनि भरियो। होटेल पनि चलेकै छ।’

स्थानीय पालिका पनि ताललाई रारापछिको दोस्रो ठूलो तालको रुपमा विकास गर्न लागिपरेको छ।

‘गाउँपालिकाको नाम नै तालबाट राखेकोले यसको संरक्षणमा पालिकाले ध्यान दिएको छ,’ अध्यक्ष भिमबहादुर भण्डारीले भने, ‘तर पालिकामा सीमित स्रोत र साधन भएकोले हामीले चाहेर मात्रै पनि गर्नसक्ने अवस्था छैन। त्यसैले प्रदेश र केन्द्र सरकारको सहयोगको खाँचो छ।’

बराहताल देवतालाई सम्झेर पूजा गरेपछि मनोकांक्षा पूरा हुने जनविश्वास रहेको उनले बताए।

‘यो तालको आफ्नै धार्मिक महत्व छ। धार्मिक कारणले सुक्यो भन्ने कुरा आएपछि मन्दिर स्थापना गरेर पूजा गर्यौं। वरिपरि तटबन्ध र वृक्षारोपण गर्यौं। त्यसपछि पानी भरिएको छ।’

आन्तरिक तथा बाह्य पर्यटकको पहुँच पुर्याउनका लागि सडक, गाइड र होमस्टेलाई व्यवस्थित गर्दै गएको उनले बताए। कुनामा लुकेर रहेको ताललाई ‘मिनी रारा’को रूपमा विकास गरी पर्यटकीय हबका रूपमा अघि बढाउने पालिकाको योजना छ।

अध्यक्ष भण्डारीका अनुसार यो ताल २०५६ र २०७३ मा गरी दुई पटक सुकेको थियो। बराह देवताको पूजा गरेपछि फेरि ताल भरिएको उनले बताए। चुरे पहाडको बीचमा रहेको तालसम्म जान सात वर्षअघि स्थानीयको श्रमदानमा ढुंगाको सिंढी बनेको छ।

२०७६ मा राष्ट्रपति चुरे तराई मधेश विकास बोर्डले गुरुयोजना बनाएको थियो। गुरुयोजनामा तालको पुनःस्थापना, संरक्षण र पर्यटकीय पूर्वाधारको विकासको प्रस्ताव गरिएको थियो।

गुरुयोजनामा पहिलो विकल्प प्राकृतिक रुपमै तालको पानी फर्काउने, दोस्रोमा डिप बोरिङमार्फत पानी निकाल्ने र तेस्रो विकल्पका रूपमा नजिकै बगिरहेको भेरी नदीको पानीलाई लिफ्टिङ प्रविधिबाट कृत्रिम ताल निर्माण गर्ने योजना समावेश गरिएको थियो।

तर, तालमा आफैँ पानी भरिएपछि उक्त गुरुयोजना कार्यान्वयन भएको छैन।

१७ मंसिर, २०८०, ०९:३७:०३ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।