डा. सुदिपको उपचार अनुभव : सानै उमेरमा क्यान्सर उपचार गरेकाहरु सन्तान बोकेर भेट्न आउँछन्, क्यान्सरबारे अझै समाजमा भ्रम छ

डा. सुदिपको उपचार अनुभव : सानै उमेरमा क्यान्सर उपचार गरेकाहरु सन्तान बोकेर भेट्न आउँछन्, क्यान्सरबारे अझै समाजमा भ्रम छ

१४ वर्ष अघि एक पुरुष श्रीमती लिएर डा सुदिप श्रेष्ठकोमा परामर्शका लागि आए। ती पुरुष पेसाले पत्रकारिता गर्दा रहेछन्।

उनको श्रीमतीलाई दायाँतर्फको स्तनको क्यान्सर भएको थियो। ती महिलाको स्तन क्यान्सर फैलिएर चौथो स्टेजमा पुगिसकेको थियो। अवस्था जटिल।

भरत गएर स्वास्थ्य परीक्षण गर्दा क्यान्सर पत्ता लागेपछि बाँच्ने आशा मारेर उनीहरू नेपाल फर्किएका थिए। दुबैजना मानसिक रूपमा विक्षिप्त थिए। बचाउन सकिन्छ भन्ने माया मारिसकेका उनी बाँचुन्जेल श्रीमतीलाई सहज बनाउन चाहन्थे। क्यान्सरले दिने पीडा कम गर्ने कुनै उपाय छ कि भनेरै उनीहरू डा श्रेष्ठकोमा पुगेका थिए।

उनले केही स्वास्थ्य परीक्षण गराए। रिपोर्टमा क्यान्सर फैलिएर हड्डीमा समेत पुगिसकेको देखियो। क्यान्सर फैलिएर जटिल अवस्थामा पुगिसकेको थियो।

त्यो बेला अहिलेको जस्तो उपचारविधी विकास भइसकेको पनि थिएन। चिकित्सकको टिमलाई ती महिलालाई लामो समय बचाउन सकिन्छ जस्तो लागेन।

दुवै जनाले हार खाए पनि चिकित्सक श्रेष्ठले हार मानिसकेका थिएनन्। उपलब्ध विधि, प्राप्त ज्ञान र सीपले भ्याएसम्म उपचार प्रक्रिया अगाडि बढाए।

उपचारकै क्रममा बेलाबेलामा क्यान्सर बढ्ने समस्या छँदै थियो। केमोथेरापी लगायत उपचार विधि सुरु गरेपछि ती महिलामा सकारात्मक प्रभाव देखिन थाल्यो।

उपचारको सकारात्मक प्रभावले श्रीमान्-श्रीमतीमा पनि अब बाँचिन्छ कि क्या हो भन्ने आत्मबल बढ्दै गयो।

केही महिनाको उपचारपछि ती महिलाको क्यान्सर नियन्त्रण भयो। उनी स्वस्थ हुन थालिन्।

त्यो उनका लागि पुनर्जन्म बराबर थियो। आशा नै मारिसकेकी श्रीमतीको ज्यान बाँचेपछि श्रीमान्को खुसी भए।

पछि उनी क्यान्सरको जनचेतनामूलक कार्यक्रममा सक्रिय हुन थाले। उनी अहिले पनि क्यान्सरविरुद्ध जनचेतनामूलक कार्यक्रममा सक्रिय नै रहेको डा श्रेष्ठ बताउँछन्पाँच वर्ष अघि ती महिलालाई फेरी क्यान्सर फर्कियो। त्यो बेला पनि उपचार विधिले नियन्त्रणमा ल्यायो। अहिले ती महिलाको उमेर ७० कटिसकेको छ। उनी स्वस्थ रहेको डा. सुदिपले सुनाए।

'उपचार विधिमा असम्भव भन्ने त हुँदैन। तर सबैमा उपचार विधिको एकै प्रकारको प्रभाव पर्छ भन्ने पनि हुन्न,' उनले भने' परिवारले हार खाए पनि चिकित्सकले सम्भव भएसम्मको प्रयास गर्दा ज्यान जोगिन सक्छ। त्यो घटनाले मलाई उत्प्रेरणा दिइरहन्छ।'

छात्रवृत्तिमा डाक्टरी अध्ययन

२०२२ मा ललितपुरको पाटनस्थित शिबहाल टोलमा जन्मिएका सुदिपले स्थानीय श्रीचण्डी विद्याश्रमबाट २०३७ मा एसएलसी गरे।

एसएलसीपछि उनी पाटन संयुक्त क्याम्पस भर्ना भएर त्यहीँबाट आइएस्सी उत्तीर्ण गरे। उनलाई सानैबाट डक्टर बन्ने रहर थियो। त्यसैले उनी डक्टर अध्ययनका लागि प्रयासमा लागे।

प्रयासले काम गर्यो। उनी शिक्षा मन्त्रालय अन्तर्गतको कोलम्बो प्लानमा सरकारी छात्रवृत्ति कोटामा एमबिबिएस अध्ययनका लागि छनोट भए।

छात्रवृत्तिमा उनी भारतको मद्रास युनिभर्सिटी अन्तर्गतको पोड्ण्डिचरीमा रहेको जवाहरलाल नेहरु इन्स्टिच्युट अफ मेडिकल साइन्स एन्ड रिसर्च सेन्टर (जिपमर)मा एमबिबिएस अध्ययनका लागि सन् १९८५ मा पुगे। सन् १९९० मा सुदिप एमबिबिएस अध्ययन सकेर नेपाल फर्किए।

नेपाल फर्केपछि उनले त्रिभुवन विश्वविद्यालय, शिक्षण अस्पतालमा एक वर्ष काम गरे। त्यहाँ उनले मेडिकल अधिकृतका रूपमा विशेष गरी आकस्मिक कक्ष र आइसियुमा काम गरेका थिए।

शिक्षण अस्पतालमा काम गर्दागर्दै उनले लोकसेवा परीक्षा पनि दिए। २०४७ मा उनी लोकसेवामार्फत स्थायी मेडिकल अधिकृत चिकित्सकका रूपमा सरकारी सेवामा प्रवेश गरे।

सरकारी जागिरे भएपछि उनको पहिलो पोस्टिङ भक्तपुर जिल्ला अस्पतालमा भयो। त्यहाँ उनले करिब पाँच वर्ष काम गरे। भक्तपुरमा दुर्गमका जिल्लाहरूमा जस्तै बिरामीको औषधि उपचार मात्रै नभएर शवहरूको पोस्टमार्टम लगायतका ज्ञान र भ्याएसम्म चिकित्सकले गर्नुपर्ने सबै काम गर्नुपर्यो।

भक्तपुरमा पाँच वर्ष काम गरेपछि डा. सुदिप त्रिभुवन विश्वविद्यालय, चिकित्सा शास्त्र अध्ययन संस्थान अन्तर्गत महाराजगन्ज चिकित्सा क्याम्पसमा स्नातकोत्तर तहको इन्टरनल मेडिसिन विषयमा सन् १९९७ मा एमडी अध्ययन गर्न थाले।

सन् १९९९ मा उनको एमडी अध्ययन पूरा भयो। त्यो बेला मेडिसिन विषय अध्ययन गरेका चिकित्सकमा नेपालमा भविष्य कस्तो होला भन्ने अन्योल हुन्थ्यो। त्यसैले मेडिसिन अध्ययन गरेका धेरै साथीहरू अमेरिका, बेलायत लगायतका मुलुकतिर गए। उनले पनि विदेश जाने अवसर पाएका थिए।  

तर,  मन लागेन। नेपालमै बसेर काम गर्छु भन्ने लाग्यो।

त्यो बेला नेपालमा क्यान्सर रोग विशेषज्ञको खडेरी नै थियो। विशेषज्ञ नै नभएपछि क्यान्सरको उपचारका लागि विशेष अस्पताल हुने कुरै भएन। त्यो बेला पैसा हुने बिरामी भारत लगायत विभिन्न मुलुक गएर उपचार गर्थे। तर, पैसा नहुने बिरामीले उचित विशेषज्ञ सेवा पाउन सकेनन्।

क्यान्सर रोग विशेषज्ञको अभावका कारण किताबको भरमा क्यान्सर रोग लागेको बिरामीको उपचार गर्नुपरेको उनीसँग अनुभव छ।

रोजाइमा हेपिएको विषय

त्यो बेला क्यान्सर लागेका बिरामी बाँच्ने हैनन् अनि बिरामी नै नबाँच्ने भएपछि जस पाइँदैन भन्ने धारणा थियो चिकित्सकहरूमा। त्यसैले क्यान्सर उपचार विषय अधिकांश चिकित्सकको रोजाइमा परेको थिएन।

चिकित्सकहरूमाझ नै मेडिकल अंकलोजीको विषय अध्ययन गर्नुपर्छ भन्ने खासै रुचि थिएन। डा. सुदिपलाई पनि मेडिकल अंकोलोजीको विषयमा खासै ज्ञान थिएन।

उनले यसो सोचे,'कसैनकसैले यो विषय अध्ययन नगर्ने हो भने त बिरामीको पिडादायी अवस्था हुने भयो।

सिनियर चिकित्सक डा. ध्रुवलाल (डिएल) सिंह विद्यार्थीहरूलाई नेपालमा नै काम गर्न प्रेरित गरिरहन्थे। डा. सिंहको त्यो प्रेरणाले पनि उनलाई विदेश जान मन लागेन।

त्यो बेला वीर अस्पतालमा रेडियोथेरापी मेसिन थियो, जसको सहायताले क्यान्सरका बिरामीलाई रेडियोथेरापी दिइन्थ्यो। रेडियशन अंकोलोजिष्ट विशेषज्ञ डा. तारा मानन्धर, डा. आरती शाहलगायतको टिमले क्यान्सर रोगको उपचार गर्थ्यो।

त्यो बेला क्यान्सरको युनिटलाई यति हेपेर राखिएको थियो की वीर अस्पतालको पछाडिको कोही नपुग्ने ठाउँमा राखिएको थियो।

क्यान्सर जटिल भइसकेपछि अधिकांश बिरामी क्यान्सर रोग विभागमा पुग्ने गर्थे। उपचारमा ढिलो पुग्दा ती अधिकांश बिरामीको मृत्यु हुन्थ्यो।

क्यान्सर रोग विशेषज्ञको अभावका कारण बिरामीले दुःख पाएको देखेर डा. सुदिपले क्यान्सर रोग विषयमा नै थप अध्ययन गर्ने अठोट गरे। तर, कहाँ पढ्ने भन्ने तनाव भयो।

भारतमा समेत मेडिकल अंकोलोजी विषयको अध्ययन भर्खर सुरु भएको थियो। मेडिकल अंकोलोजी विषय अध्ययन गर्न विदेश जानुपूर्व उनले नेपालमा क्यान्सर रोगको विषयमा भइरहेको उपचार लगायतको विषयमा थाहा पाउन वीर अस्पतालको रेडियशन विभागमा काम गर्न थाले। त्यहाँ उनले करिब ६ महिना काम गरे।

वीर अस्पतालमा करिब ६ महिना काम गरिसकेपछि क्यान्सर रोग विषयको अध्ययनका लागि डा. सुदिप भारत पुगे। उनी भारत पुगेर राजीव गान्धी क्यान्सर अस्पतालमामा मेडिकल अंकोलोजी विषयको अध्ययन गर्न थाले। भारतमा डा. सुदिपले मेडिकल अंकोलोजी विषयमा दुई वर्षे फेलोसिप गरेर ज्ञान र सिप बटुले। यो उनको क्यान्सर रोगको उपचार सम्बन्धी विशिष्तिकृत (पोस्ट डक्टरेट ट्रेनिङ) हो।

नेपाली डाक्टरले काम गर्छन् भन्ने थाहा भएपछि त्यहाँ नेपाली बिरामीसमेत उपचारका लागि पुग्न थाले।

भारतमा क्यान्सर रोगका पीडित बिरामी तथा बिरामीका आफन्तले पाएको दुःख देख्दा उनको मन कटक्क हुन्थ्यो। त्यो अध्ययनका क्रममा उपचारका लागि गएका बिरामीको मृत्यु हुँदा शव ल्याउने व्यवस्थापनका लागि धेरै सहयोग गरेको उनले सुनाए।

भक्तपुरमा १४ वर्ष बिताउँदा

मेडिकल अंकोलोजी विषयको अध्ययनपछि डा. सुदिप नेपाल फर्के। त्यो बेला हालको भक्तपुर क्यान्सर अस्पताल नेपाल अर्वुद्ध रोग निवारण संघ (क्यान्सर रिलिफ सोसाइटी)ले सञ्चालन गरेको थियो। नेपाल फर्कँदा उनको दरबन्दी वीर अस्पतालमा नै थियो। उनी काजमा भक्तपुर क्यान्सर अस्पतालमा काम गर्न थाले। त्यहाँ सुरुवाती दिनमा डा. आरती शाह, डा. आरपी बराल, सर्जन डा. अञ्जनीकुमार शर्मालगायतको टिमसँग काम गर्ने मौका पाएको डा. सुदिपले सुनाए।

डा. शर्माले क्यान्सरको उपचारको सवालमा धेरै काम गरेकाले उनलाई नेपालमा क्यान्सर उपचारको पिताकै रूपमा उनी मान्छन्।

भक्तपुर क्यान्सर अस्पतालमा करिब १४ वर्ष काम गरेका डा. सुदिपले दुई पटक अस्पताल प्रमुखको जिम्मेवारीमा काम गर्ने अवसर पाए। त्यो समयमा पनि धेरै बिरामीहरू भारत लगायतका देशमा गएर उपचार गर्नुपर्ने बाध्यतामा थिए।

त्यसैले उनले निजी क्षेत्रमा पनि क्यान्सर अस्पताल आवश्यक हुने महसुस गरे। त्यही अनुसार क्यान्सर अस्पतालको अवधारणा बनाए।

करिब २२ वर्ष सरकारी जागिर खाएपछि पेन्सन नै नभई डा. सुदिपले सरकारी राजीनामा गरेर निजी क्षेत्रमा क्यान्सर अस्पताल बनाउन कस्सिए।

उनको यो कामका लागि श्रीमती स्वरुपा श्रेष्ठले साथ दिइन्। आफन्त अनि चिनेजानेका धेरैले उनको यो सोचाइलाई साथ दिए। त्यसैले डा. सुदिप लगायतको टिमले नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरको सुरुवात गर्यो।

सिनियर कन्सल्टेन्ट मेडिकल अंकोलोजिष्ट (क्यान्सर रोग विशेषज्ञ) डा. सुदिप हाल ललितपुरको हरिसिद्धिस्थित नेपाल क्यान्सर अस्पताल तथा रिसर्च सेन्टरको अध्यक्षको भूमिकामा कार्यरत छन्।

जटिल क्यान्सर पनि ठिक हुनसक्छ

क्यान्सर फैलिएर जटिल भएका बिरामी औषधी उपचारपछि ठिक भएर घर फर्केका धेरै उदाहरण छन् उनीसँग। त्यसो त आफूले रक्त क्यान्सर तथा बालबालिकाको क्यान्सरको उपचार गर्ने गाइडलाइन बनाउने काममा समेत सक्रिय भूमिका खेलेको उनले बताए।

बालबालिका अवस्थामा नै क्यान्सर भएर आफूले उपचार गरेका कयौँ व्यक्ति ठिक भएर अहिले पनि विवाह गरेर बेलाबेलामा बच्चा लिएर फलोअपका लागि आउने गरेको उनले सुनाए।

पहिला-पहिला स्तन क्यान्सर भएका महिला जटिलता निम्तिएपछि उनकोमा पुग्ने गरेको उनको अनुभव छ। तर, अहिले भने उपचार सुविधाका कारण यस्तो जटिल भइसकेको क्यान्सरका बिरामी पनि लामो समय बाँच्न सक्ने उनले सुनाए।

तर, अझै पनि कयौँ क्यान्सरका निको हुने बिरामीसमेत जथाभाबी उपचारका लागि चाहर्दा उपचारमा समस्या पर्ने गरेको उनको अनुभव छ।

कतिपय भने उपचारपछि ठिक हुँदैन भनेर परामर्श दिँदा समेत विदेश गएर धेरै खर्च गर्ने गरेको उनले सुनाए। क्यान्सर रोग पनि उपचारपछि ठिक हुन्छ भन्ने सन्देशका लागि सृजनात्मक सन्देश कम भएको उनको अनुभव छ।

अस्पतालले क्यान्सर लागेर ठिक भएका व्यक्तिबिच र्याम्प सो समेत गरिएको र यसले क्यान्सर लागेका बिरामीमा उपचारको पहुँचमा आउन सकारात्मक सन्देश प्रवाह भएको डा. सुदिपको अनुभव छ। क्यान्सरबारे अहिले पनि समाजमा डर रहेको उनको अनुभव छ। उपचारका लागि अस्पताल पुग्ने हो भने जटिल क्यान्सर रोग पनि निको हुने उनी बताउँछन्।

१६ मंसिर, २०८०, २२:१६:१० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।