डडेल्धुराको होटलबाट देउवालाई ओलीको फोन

डडेल्धुराको होटलबाट देउवालाई ओलीको फोन

काठमाडौं : पश्चिमको झुलाघाटदेखि पूर्वको चिवाभञ्ज्याङसम्म मध्यपहाडी लोकमार्गको यात्राका क्रममा डडेल्धुरा पुगेका एमाले अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई फोन गरेका छन्।

सामाजिक सञ्जालमा फोनवार्ताको ४२ सेकेण्डको भिडियो राख्दै ओलीले देउवाले काठमाडौंबाट डडेल्धुरामा स्वागत गरेको उल्लेख गरेका छन्।

डडेल्धुरा शेरबहादुर देउवाको गृहजिल्ला हो। ‌ओलीले आफ्नो फेसबुक पोस्टमा  डडेल्धुरा पुगेपछि देउवालाई कल गरौँ भन्ने लागेर फोन गरेको बताएका छन्।

‘सुन्दर डडेलधुरा! मेरा मित्र शेरबहादुर देउवाको गृहजिल्ला। यहाँ आएपछि उहाँलाई कल गरौँ भन्ने लाग्यो। उहाँले आफू काठमाडौंमा भए पनि डडेल्धुरामा स्वागत छ भन्नुभयो। धन्यवाद शेरबहादुरजी!’

‘जय नेपाल’ भन्दै कुराकानीको सुरुवात गरेका उनले देउवासँग फोनमा भनेका छन्, ‘यहाँ गन्यापधुराको छेवैबाट फोन गरेको। गन्यापधुरा भन्दा अलि पर्तिर यहाँ डडेल्धुरा बजारभन्दा अलि तल्तिर बसेका छौँ।’

उनले देउवालाई भनेका छन्, ‘राम्रो छ यतातिर। तपाईंको जिल्लामा आएको बेला यसो सम्झिएको नि!’

मंसिर १५, २०८० शुक्रबार ०९:२२:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।