कमेडियन सुन्दर खनालको तितो-मिठो अनुभव : हसाउँन स्टेज चढ्दा दर्शकले ‘ज्योति मगर ल्याऊ’ भने

कमेडियन सुन्दर खनालको तितो-मिठो अनुभव : हसाउँन स्टेज चढ्दा दर्शकले ‘ज्योति मगर ल्याऊ’ भने

केही वर्षअघिसम्म टेलिश्रृंखला, गाईजात्रा अनि विभिन्न सिनेमामार्फत हास्यकलाकारहरू जन्मन्थे। उनीहरूले त्यस्ता प्लेटफर्ममा दिएका प्रस्तुतिका आधारमा दर्शकले उनीहरूलाई रुचाउँथे। रङ्गमञ्च र टेलिश्रृंखलाबाट कमेडियन जन्मने बेलाबाट अहिले हामी रियालिटी शो  र स्वतन्त्र रूपमा सञ्चालित युट्युबमार्फत कमेडी हेर्ने अवस्थामा आइसक्यौँ।

रेडियोकर्मी हुँदै कमेडी च्याम्पियनमा भिडेकाहरू अहिले टेलिभिजनका पर्दाबाट दर्शक हँसाइरहेका छन्। दमौली एफएमका कार्यक्रम प्रस्तोताका रूपमा आफूलाई दर्शकमाझ चिनाउँदै काठमाडौं आएका सुन्दर खनाल नेपालका चलेका कमेडियनमध्ये एक हुन्।

कमेडीका लागि प्लेटफर्म खोज्दै जाँदा उनले दोस्रो संस्करणको कमेडी च्याम्पियनमा प्रतिस्पर्धी भए। सयौं प्रतिस्पर्धीलाई उछिन्दै उत्कृष्ट दश भित्र परे पनि उपाधि जित्न सकेनन्। च्याम्पियनमा उनले गरेका प्रस्तुतिमध्ये ‘चिप्लेटी अंकल’को क्यारेक्टर हिट भयो।  दर्शकमाझ पनि राम्ररी चिनायो। त्यसपछि उनलाई विभिन्न स्टेज शोहरूमा बोलाउन थालियो।

त्यसपछि आएको अर्को टेलिभिजन रियालिटी शो ‘कमेडी वीथ च्याम्पियन’मा उनले स्वामी हरिदास, मदनकृष्ण श्रेष्ठ, भस्मे डन लगायतको क्यारेक्टरबाट दर्शक हसाए। उनै कमेडियन सुन्दर खनालसँग नेपालको कमेडी क्षेत्रमा उनको आगमन, वर्तमान अवस्था र कला क्षेत्रबारे उकेराकर्मी भोला अधिकारीले गरेको कुराकानीको सम्पादिक अंशः

पछिल्लो समय के मा व्यस्त हुुनुहुन्छ?
‘कमेडी क्लब विथ च्याम्पियन’ अहिले ब्रेक नै भइरहेकाले नयाँ कार्यक्रम कसरी ल्याउने, के गर्ने भन्नेमा तयारी गर्दैैछु।

‘कमेडी च्याम्पियन सिजन ३’को प्रोमोमा देखिनुभाथ्यो, फेरि प्रतिष्पर्धामा जानुभएको हो र?
होइन, ‘नयाँ प्रतियोगीहरू आउँदैछन्, नयाँ शो आउँदैछ’ भनेर अडियन्सलाई जानकारी दिइरा मात्र हो।

कमेडीमा कसरी प्रवेश भयो?
कमेडी क्षेत्रमा आएको सात/आठ वर्ष भयो। कमेडीको प्लेटफर्म खोज्ने क्रममा सिरियलमा पनि गइयो, रेडियो अडियोमा पनि गएँ। आफैँले पनि रेडियोमा कार्यक्रमहरु गरिरहेको थिएँ। तर, यति धेरै कार्यक्रमहरू गरिरहँदा पनि मासले चिनिरहेको थिएन। एक लेबलको आफैँलाई हेर्ने अडियन्स बनेको थिएन। कार्यक्रमहरू त फाट्टफुट्ट भइरहेका थिए। तर, पनि अडियन्समा पुगिराख्या थिइनँ भन्ने लागिसकेपछि चाहिँ कुनै एउटा प्लेटफार्म चाहिन्छ भनेर कमेडी च्याम्पियन गएँ।

तपाईं त रेडियोमा यसै पनि कमेडी कार्यक्रम चलाइरहनुभएको थियो नि, किन टेलिभिजनकै प्लेटमार्फ रोज्नुभो?
रेडियोमा कार्यक्रम गरिरहदा आफ्नो अडियन्स हुँदो रहेनछ। आफूलाई चिन्ने अडियन्स छैन अथवा सुन्दर खनाल यो लेवलको मान्छे हो, यत्तिको कमेडी गर्छ भन्ने अडियन्स बनिरहेको छैन। आफ्नो क्षमता धेरै मानिसलाई देखाउनका लागि कहाँ जाने त भन्दाखेरि, कमेडी च्याम्पियन नै अहिलेको बेष्ट अप्सन हो भनेर रोजेको हो।

सिरियलमा भन्दा तपाईंका लागि च्याम्पियन उत्कृष्ट साबित भएको हो?
सिरियलमा धेरै समय काम गरिनँ। ‘रिसानी माफ’भन्ने प्रकाश सुवेदी सरको थियो, त्यसमा काम गरेँ मैले। त्यसमा एउटा क्यारेक्टर गर्दै थिएँ, बिचमा सिरियल नै बन्द हुने भएपछि कन्टिन्यू हुने कुरै भएन। त्यसपछि मैले मरिचमान श्रेष्ठको ‘हल्का रमाइलो’मा काम गरेँ तर गेस्ट रोलको टाइपमा।

त्यहाँ बुढो क्यारेक्टर गरेँ। त्यो पनि आजभन्दा चार÷पाँच वर्ष अगाडि। तर पछि आफैँलाई बनावटी जस्तो लाग्यो अनि कन्टिन्यू गरिनँ। त्यसपछि मैले राजु पौडेल (राजु मास्टर)को ‘ह्वाट’ भन्ने सिरियलमा गरेँ। त्यसमा ‘बेबी’ क्यारेक्टर गरेको थिएँ, त्यो पनि बिस्तारै बन्द भयो।

बेबी क्यारेक्टर भन्नुभयो नि! यो चाहिँ कस्तो हो?
यो क्यारेक्टर चाहिँ मैले सुरूमा रेडियो अडियोमा गरेँ। त्यो समय म अलिक बिरामी पनि भएँ अनि गाउँ फर्किएँ। पाँच महिनापछि काठमाडौं फर्किँदा यहि क्यारेक्टर युट्युबमा गरेँ। किनभने मेरो घाँटीमा समस्या आएको हुनाले म रेडियो गइनँ।

‘कुनै एउटा क्यारेक्टर गर्छु, त्यो बाहेक अरु गर्दिनँ’ भन्ने सोच पलायो। त्यसपछि मैले ‘बेबी’ क्यारेक्टर बनाएँ, अलि युथ अनि ट्यापे टाइपको। त्यहि क्यारेक्टबाट कलाकारसँग इन्टरभ्यू गर्थेँ।

त्यो टोन अहिले पनि आउँछ? 
त्यो टोन मैले लगभग बिर्सिसकेँ। जिग्री दाइ (कुमार कट्टेल)बाट प्रभावित भएको थिएँ म त्योबेलामा। अहिले त्यो क्यारेक्टर गर्यो भने लगभग जिग्रीकै आउँछ।

तपाईं ‘कमेडी च्याम्पियन सिजन २’ को प्रतिस्पर्धी पनि हुनुहुन्थ्यो, अरु प्रतिस्पर्धीसँग भिड्दा कतिको गाह्रो हुने रहेछ?
मलाई त प्रतिस्पर्धा जस्तै फिल भएन। सबैको फरक-फरक प्याट्रन थियो। मसँग प्याट्रन मिल्ने भनेको भरतमणि पौडेल र प्रभात लामा दाइको थियो। सुरूमै प्रभात दाइ आउट हुनुभयो। त्यहि भएर धेरै कम्पिटिसन फिल नै हुन्थेन। भरतको आफ्नो अडियन्स बनाइरहनुभएको थियो भने मेरो आफ्नै थियो। भरतको र मेरो पनि अलिकति फरक थियो। त्यसैले भरत फाइनलमा पुग्नुभयो म आउट भए।

प्रतिस्पर्धीहरू आउट हुने बितिक्कै रुन्छन्, तपाईं चाहिँ आउट भएपछि कतिको रुनुभयो?
म आउट हुँदा रोइनँ तर पछि आउट भएको फिल गर्दै जाँदा चाहिँ एकदमै नमज्जा लाग्यो। किनभने त्यो बेला एक लेबल अडियन्सले मलाई रुचाइरहनुभएको थियो। ‘सुन्दर टप ३ मा पुग्छ’ भन्ने अडियन्सको मानसिकता बनिसकेको थियो। राम्रो नै हाइप बनिसकेको थियो। त्यो ब्रेक भयो। ब्रेक भएपछि अडियन्सले पूरै बिर्सनुहुँदो रहेछ।

अहिले त्यहि लेबलको नामले चिनिन मलाई गाह्रो भइरहेको छ। कमेडी क्लबमै आउँदा पनि सुन्दर भनेको को हो? भन्ने टाइपको आयो। कमेडी च्याम्पियनमा म अलि अगाडिसम्म पुगेको भए पनि त्यहिँबाट स्थापित भइसक्थेँ। अरु क्यारेक्टर गर्दा पनि दर्शकले रुचाइदिनुहुन्थ्यो, त्यसले कन्फिडेन्ट नै छुट्टै भएर आउँथ्यो। त्यसले चाहिँ अलिक अफ्ठ्यारो बनाउँदो रहेछ भन्ने लाग्यो।

च्याम्पियनमा तपाईँको चिप्लेटी अंकल क्यारेक्टरले बढी चर्चा पायो। तपाईँलाई चिप्लेटी अंकल भनेर दर्शकले बोलाउँदा कस्तो लाग्छ? 


चिप्लेटी अंकल नामाकरण नै मैले गरेको। अहिले त्यही नामले बोलाउँदा  मजा नै लाग्छ। प्रकाश सुवेदी कै सिरियलबाट मैले कलाकारिता सुरुवात गरेको थिएँ। पछि मैले प्रकाश दाइकै क्यारेक्टर गरेँ। त्यही क्यारेक्टरबाट दर्शकले मलाई चिनेपछि प्रकाश दाइ पनि खुसी हुनुहुन्छ। मलाई पनि खुसी नै लाग्छ।

तपाईँले विभिन्न व्यक्तिहरूको क्यारेक्टर गरिरहनुभएको हुन्छ, अभ्यास त चाहिएला नि!
पहिला–पहिला म धेरै प्राक्टिस गर्थेँ। तर जब घाँटीमा समस्या आयो त्यसपछि चाहिँ प्राक्टिस धेरै गर्दिनँ। पछिल्लो समय हसाउनका लागि कन्टेन्ट चाहिन्छ जस्तो लाग्छ मलाई। कमेडीमा क्यरिकेचरभन्दा पनि डाइलग डेलिभरी राम्रो चाहिन्छ जस्तो लाग्छ।

तपाईँ पछिल्लो समय स्टेज कार्यक्रममा पनि हिँडिरहनुभएको छ, स्टेजमा दर्शक हँसाउँदा नहासेको कुनै क्षण छ?
एक पटक बझाङमा त्यस्तो भएको थियो। बझाङमा होलीको कार्यक्रम थियो। कार्यक्रममा ज्योति मगर दिदी अनि म थिएँ। मलाई ज्योति दिदीभन्दा अगाडि पफर्मेन्सका लागि राखिदियो। होलीको दिन चाडवाडमा अलिकति लगाएर (मदिराले मातिएर) नै आएका हुन्छन् दर्शकहरू।

म अगाडि स्टेजमा जाने बितिक्कै ‘ज्योति मगर ल्याउ’ भन्ने भइहाल्यो। म बोलेको छु, दर्शकले सुन्दैनन्, ‘ज्योति मगर लेउ’ मात्र भन्छन्। अनि स्टेजमा ज्योति दिदीलाई तानेर, बोल्न लगाएर, फेरि आफ्नो कन्टेन्ट सकेर हिँड्नुपरेको थियो।

कमेडी क्लब विथ च्याम्पियनमा सुन्दर खनाल र सजन श्रेष्ठ प्रस्तुति दिँदै।

आफूले जति प्रयास गर्दा पनि दर्शक नहाँस्दा कस्तो लाग्छ ?

अहिले तपाईँले इन्टरभ्यू लिइरहनु भएको छ नि अन्तिममा यसको भिडियो रेकर्ड भएन भने  तपाइलाई जस्तो लाग्छ त्यस्तै लाग्छ (हाँस्दै) । यस्तो हुन्छ। महोत्सवतिरका कार्यक्रमहरूमा चुनौती नै यही हो। दर्शकलाई आफ्नो कन्टेन्टमा केन्द्रित  गराउन सकिएन भने हसाउन सकिन्न। स्टेजमा भन्दा टेलिभिजनमा सजिलो हो। 

टिकटकले कमेडियनलाई उठाएको थियो। अहिले सरकारले बन्द गर्यो। यसप्रति तपाईँको धारणा ?

टिकटकमा डबलमिनिङ क्लिपहरु बढि चल्थ्यो। सकारात्मक भन्दा नकारात्मक क्लिपहरु बढि चल्छन्। मेरो व्यक्तिगत मतमा त टिकटकले कमेडियनलाई स्पेश दिएको थिएन। राम्रा कमेडियनहरुको प्रतिभा मरिरहेको थियो। त्यसैले टिकटक बन्द भएर प्रतिभा भएको कमेडियनलाई कुनै फरक पर्दैन।

१४ मंसिर, २०८०, ११:३०:३८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।