कोप-२८ सहभागी हुन दुवई पुगे प्रधानमन्त्री दाहाल

कोप-२८ सहभागी हुन दुवई पुगे प्रधानमन्त्री दाहाल

काठमाडौं : प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड कोप-२८ सम्मेलनमा सहभागी हुन दुवई पुगेका छन्। प्रचण्ड नेतृत्वको टोली बुधबार बेलुकी ९ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट प्रस्थान गरेको हो।

प्रधानमन्त्री नेपाल एयरलाइन्सको नियमित उडानबाट दुबइतर्फ प्रस्थान गरेका हुन्। यही मङ्सिर १४ गतेदेखि कोप–२८ दुबईमा हुँदैछ।

सभामुख देवेन्द्रराज घिमिरे, कार्यवाहक प्रधानमन्त्री पूर्णबहादुर खड्का, उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठ लगायत उनलाई बिदाई गर्न विमानस्थल पुगेका थिए।

प्रधानमन्त्रीको टोलीमा वन तथा वातावरण मन्त्री वीरेन्द्र महतो, प्रधानमन्त्रीपुत्री गंगा दाहाल, राष्ट्रिय योजना आयोगका सदस्य प्रभु बुढाथोकी, अर्थ मन्त्रालयका सचिव कृष्णहरि पुष्कर, प्रधानमन्त्री कार्यालयका सचिव एकनारायण अर्याल, वन मन्त्रालयका सचिव दीपककुमार खरेल सहभागी छन्।

सोही टोलीमा परराष्ट्र मन्त्रालयको सहसचिव सेवा लम्साल, प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्ल, शिष्टाचार महापाल दीलिपकुमार पौडेल, प्रवीण भट्टराई, प्रधानमन्त्रीका वातावरण सल्लाहकार डा. पपुलर जेन्टल पनि भ्रमण दलमा छन्।

यसैगरी सुरक्षाकर्मीहरू लेफ्टिनेन्ट कर्णेल निरज भण्डारी, डीएसपी सिद्धराज न्यौपाने र क्याप्टेन आशिष थापा पनि भ्रमण दलमा समावेश गरिएका छन्।

प्रधानमन्त्री दाहाल मङ्सिर १५ र १६ गते ‘विश्व जलवायु शिखर सम्मेलन’को उच्चस्तरीय सत्रमा सहभागी हुनेछन्। उनले मङ्सिर १६ गते उक्त सम्मेलनलाई सम्बोधन गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।

प्रधानमन्त्री दाहाल युएईको ५२औँ एकता दिवसका अवसरमा युएईले आयोजना गर्ने समारोहका साथै ‘जायेद सस्टेनेबिलिटी प्राइज अवार्ड’ समारोहमा पनि सहभागी हुने कार्यक्रम छ।

उनले मङ्सिर १६ गते जलवायु परिवर्तनका प्रभावबारे नेपालको आवाज उठाउनुका साथै कोप वार्ता प्रक्रियामा पर्वतीय मुलुकका ‘एजेन्डा’लाई प्रवर्द्धन गर्न ‘पर्वतको आह्वान : जलवायु सङ्कटबाट हामीलाई कसले जोगाउँछ ?’ शीर्षकमा उच्चस्तरीय छलफल आयोजना गर्दैछन्।

मंसिर १४, २०८० बिहीबार ०७:१८:२८ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।