रास्वपा बढुवामा देखिएको चार मापदण्ड : अन्य पार्टी छाडेको, गम्भीर अपराधको आरोपी , पराजित, ग्यालेक्सीमा काम गरेको !

रास्वपा बढुवामा देखिएको चार मापदण्ड : अन्य पार्टी छाडेको, गम्भीर अपराधको आरोपी , पराजित, ग्यालेक्सीमा काम गरेको !

काठमाडौँ : महोत्तरीमा सम्पन्न राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठकको सबैभन्दा ठूलो उपलब्धि राजनीतिक प्रष्टता देखियो। पार्टीको राजनीतिक सिद्धान्तबारे नेताहरू सधैं अन्यौलमा देखिन्थे। कोही लेफ्टको तर्क गर्थे त कोही राइट अनि कोही सेन्टर। केही उपाय नलागे राजनीतिक वादले देश बन्छ भन्ने कुतर्क गर्थे।

सङ्घीयताबारे रास्वपाको लाइन राष्ट्रिय प्रजातन्त्र पार्टीसँग मिलेकाले हुनसक्छ यसलाई संवैधानिक राजतन्त्र र हिन्दु धर्मको पक्षधर पार्टीको रूपमा समेत २०७९ को निर्वाचनमा मतदाताले हेरेका थिए।

बुधवार पारित पार्टीको विधानको प्रस्तावनाबाट अब यो सेन्टर या लेफ्ट नभई राइटतिर रहेको पार्टी देखिएको छ भने यसले विधान गणतन्त्र स्वीकार गरेको छ।

वैचारिक रूपमा प्रस्ट भएर आए पनि पार्टीको व्यवहारमा भने सुधार देखिन सकेन। पार्टीमा क्षमता अनुसारको जिम्मेवारी भन्दा पनि नेतृत्वको आशीर्वादलाई सभापति रवि लामिछानेले निरन्तरता दिए। केन्द्रीय समितिमा मन्थन गरेर भन्दा पनि आफूले चाहे अनुसारको निर्णय केन्द्रीय समितिबाट अनुमोदन गराउने पुराना भनिने दलकै नेताको अभ्यासमा गए रवि।

मङ्गलवारको केन्द्रीय र संसदीय समितिको संयुक्त बैठकबाट केन्द्रीय समितिमा मनोनयनबारेको निर्णय सभापतिले गर्ने र सो केन्द्रीय समितिले अनुमोदन गर्ने भनेर रविलाई निरङ्कुश हुने बाटो पार्टीकै नेताहरूले खोल्दिसकेका थिए। उनले त्यही अधिकार प्रयोग गर्दै बुधवार पार्टी पदाधिकारीहरू नियुक्त गरे। पदाधिकारी नियुक्त गर्दा उनी ग्यालेक्सी टिभीको ह्याङबाट मुक्त हुन सकेनन् नै निर्वाचित, मनोनीत र पराजित नेताहरूको समीकरण समेत मिलाउन सकेनन्। उनले पराजित र समानुपातिकमै जोड दिए।

कांग्रेस छाडेर रास्वपा गएका स्वर्णिम वाग्लेलाई उनले उपसभापतिसँगै डिपी अर्यालपछिको तेस्रो बरीयताको नेता बनाए। महामन्त्री र प्रवक्तामा मुकुल ढकालै छन्।

गोरखामा पराजित कवीन्द्र बुर्लाकोटी, समानुपातिक सांसद सुमना श्रेष्ठसँगै विपिन आचार्य सहमहामन्त्री नियुक्त भए।

एमालेबाट रास्वपामा गएकी लिमा अधिकारी कोषाध्यक्षहुँदा वसुमाया तामाङ र आफ्नै पार्टीको नेतृमाथि यौन दुर्व्यवहार गरेको आरोप लागेका दीपक बोहरालाई उनले सह-कोषाध्यक्ष बनाए।

पार्टीका सह-प्रवक्तामा समानुपातिक सांसद मनिष झा छन्। अर्का सह-प्रवक्ता प्रतिभा रावल र रमेश प्रसाईँ ग्यालेक्सीकर्मी नै हुन्। प्रतिनिधिसभा प्रमुख सचेतकमा सन्तोष परियार कायम रहे। यस पटक पार्टीका सबै सांसदहरूलाई उनले पार्टीको केन्द्रीय सदस्य बनाए।

असन्तुष्ट छन् तर बोल्न सक्दैनन्

बुधवार पार्टी पदाधिकारीको सूची सार्वजनिक भएपछि सबैभन्दा असन्तुष्ट देखिएका थिए डा तोसिमा कार्की, गणेश पराजुली र सोविता गौतम।

पदाधिकारीमा यी तीनै जना आकाङ्क्षी थिए। कार्यसमितिमा बढुवा भएका वा नयाँ थपिएकामध्ये यी तीनै जनाले काम गरेको पनि देखिन्छ। तर रवि ग्याङका कारण यी पेलिने गरेका छन्।

पदाधिकारीको नाम सार्वजनिक भएपछि सबैभन्दा धेरै निराश तोसिमा देखिएकी थिइन्। जाजरकोट गएर सबैभन्दा धेरै काम गरे पनि कार्यसमितिमा उनलाई ब्रिफिङ गर्न नदिई निशा डाँगीलाई क्रेडिट दिइयो। पदाधिकारीमा समेत उनी परिनन्। 

काठमाडौँ सातका सांसद गणेश' मनोनीत गर्दा निर्वाचित र समानुपातिकबिच सामजस्यता नमिलाएको भन्दै असन्तुष्ट  थिए। स्रोतका अनुसार सोविता  सह-महामन्त्रीको आकाङ्क्षी थिइन्। तर संसदीय दलको बैठकमा उनले पार्टी सभापति तथा संसदीय दलको नेताको अपारदर्शी गतिविधिबारे प्रश्न उठाएकी थिइन्।

बैठकस्रोतका अनुसार बैठकमा रवि र सोविताविच दोहोरो सवाल जवाफ चल्दा अन्य मौन बसेका थिए। रवि पार्टीभित्र आफूलाई प्रश्न उठाउनेलाई मन पराउँदैनन्। सोविता पदाधिकारीमा अटाइनन्।

बैठकमा तर्कगत धारणा राख्ने नेतामै पर्छन् वीराजभक्त श्रेष्ठ। तर यस पटक उनी अधिकांश समय मौन बसे। रास्वपास्रोतका अनुसार पार्टी सरकारमा गए मन्त्री हुनसक्ने भएकाले उनी रविलाई चिढ्याउने पक्षमा छैनन् अहिले।

रास्वपाको बैठक चलिरहेकै समयमा रवि र प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबिचको छलफलबारे उकेराले समाचार प्रकाशित गरेको थियो। उकेराको सो समाचारपछि बिराज तनावमा देखिएको निकट स्रोतले बतायो। 

यौन दुर्व्यवहारका आरोपीको प्रमोसन

नीति नै नभएको दल भनेर रास्वपाका नेताहरूले आरोप लाग्ने दलमा पनि कुनै नेतामाथि गम्भीर आरोप लागेमा छानबिन हुन्छ। तर रास्वपाले महोत्तरीबाट जसलाई गम्भीर आरोप लाग्छ उसलाई छानबिन वा कारबाही हैन थप प्रोत्साहित गर्न प्रमोसन गर्ने नयाँ नीति समेत अंगाल्यो दीपक बोहोरालाई सह-कोषाध्यक्ष बनाएर।

बोहरामाथि पार्टीभित्रै महिला नेतृमाथि यौन दुर्व्यवहार गरेको आरोप छ। तर पार्टीले छानबिनमा चासो देखाएको छैन नै उनलाई बुधवार केन्द्रीय सदस्यबाट सह-कोषाध्यक्षमा प्रमोसन गर्यो। केन्द्रीय समिति अनि संसदीय दलको बैठकमा बोहरामाथिको आरोपबारे कसैले बोलेनन्। पार्टीका अधिकांश नेता बोहराविरुद्ध बागमती प्रदेशमा आएको उजुरी र पीडित नेतृबारे जानकार भए पनि उनीहरूले खाना वा खाजा खाने समयमा खुसुरफुसुर बाहेक सार्वजनिक रूपमा बोल्न सकेनन्।

पारदर्शितामाथि प्रश्नै गरेर नथाक्ने पार्टी सभापति रवि लामिछानेले मन्त्री बन्न ढाकाकुमार श्रेष्ठसँग तीन करोड मागेको प्रकरणबारे छानबिनसहितका अन्य प्रकरणबारेको अनुशासन आयोगको प्रतिवेदन सार्वजनिक त के गर्नु आफ्नै पार्टीका केन्द्रीय तहका नेताहरूलाई समेत देखाएनन्।

मंसिर १४, २०८० बिहीबार ००:१६:५६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।