रास्वपा डेमोक्रेट पार्टी, गणतन्त्र बहुलवाद र उदार अर्थतन्त्र मूल नीति

रास्वपा डेमोक्रेट पार्टी, गणतन्त्र बहुलवाद र उदार अर्थतन्त्र मूल नीति

काठमाडौँ : कुन राजनीतिक वाद समात्ने भन्ने अन्योल चिर्दै राष्ट्रिय स्वतन्त्र पार्टीले लोकतान्त्रिक धार समातेको छ। पार्टीमा लोकतान्त्रिक दल कि समाजवादी भन्ने  दुई धारमा बहस जारी थियो। महोत्तरीमा भएको पार्टीको केन्द्रीय र संसदीय दलको संयुक्त बैठकले विधानको प्रस्तावना पारित गर्दै ‘लोकतान्त्रिक दल’ घोषणा गरेको छ।

विभिन्न दलमा आबद्ध भएर प्रशिक्षित र स्वतन्त्र मिलेर पार्टी बने पनि आन्तरिक रूपमा समाजवादलाई मुलध्येय बनाउँदै कम्युनिस्ट विचारधारामा लैजाने र लोकतान्त्रिक विचारधारामार्फत प्रजातान्त्रिक विचारधारा पच्छ्याउने भन्ने विषयमा पार्टीभित्र बहस जारी थियो।

कम्युनिस्ट पृष्ठभूमिका मुकुल ढकाल, सन्तोष परियार, हरि ढकाल, डा तोसिमा कार्की सहितको समूह समाजवादको पक्षमा थियो भने कांग्रेस पृष्ठभूमिका स्वर्णिम वाग्ले, मनिष झा अनि विराजभक्त श्रेष्ठ लोकतान्त्रिक विचारधारालाई पार्टीको मूल राजनीतिक लाइन बनाउने पक्षमा थिए।

अन्तमा पार्टी लोकतान्त्रिक लाइनमा गएको छ। सार्वजनिक भएको विधानको प्रस्तावनामा ‘सबै नेपालीको समतामूलक उन्नतीप्रति कटिबद्ध सामाजिक न्यायसहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी’ उल्लेख गर्दै राजनीतिक धार प्रस्ट पारेको छ।

‘वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूतिपूर्वक पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जवाफदेहीतापूर्ण असल शासनमार्फत सम न्यायिक समावेशी समाज निर्माण गर्ने’ पार्टीको लक्ष्य निर्धारण गरेको छ।

पार्टी धर्ममा भने प्रस्ट खुलेको छैन। उसले ‘नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक-सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मान’ लाई स्वीकार गरेको छ।

नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई अक्षुण्ण राख्नु नै पार्टीको अभीष्ट रहने प्रस्तावनामा उल्लेख छ।

यस्तो छ प्रस्तावना

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) सबै नेपालीको समतामूलक उन्नतिप्रति कटिबद्ध सामाजिक न्याय सहितको उदार अर्थतन्त्रमा विश्वास गर्ने बहुलवादी लोकतान्त्रिक पार्टी हो।

यसको ध्येय वैयक्तिक स्वतन्त्रता र मौलिक हकको प्रत्याभूतिपूर्वक पूर्ण लोकतान्त्रिक गणतन्त्रात्मक शासन प्रणालीभित्र विधिमा आधारित जबाफदेहीपूर्ण असल शासन मार्फत समन्यायिक समावेशी समाज निर्माण गर्नु हो।

लोक कल्याणकारी राज्यको सुनिश्चितताका लागि सार्वजनिक, निजी र सामुदायिक स्रोत- साधनको दिगो परिचालन गर्दै उद्यममैत्री, लगानी अनुकूल प्रतिस्पर्धात्मक सामाजिक बजार अर्थतन्त्रको उन्नयनका लागि स्वच्छ र सुदृढ नियमनकारी संरचना बनाई राष्ट्रिय आय र रोजगारीको विस्तार, श्रमप्रति समर्पित, सामाजिक पुँजीको अभिवृद्धि र जलवायु-पर्यावरणीय सन्तुलन कायम गर्न यो पार्टी सर्वात्मना प्रतिबद्ध छ।

शान्तिपूर्ण मार्गबाट नै समाजवादका प्रधान लक्ष्यहरू संविधानमा निर्दिष्ट गरी तदनुकूल राष्ट्रिय नीति तथा कार्यक्रमका आधारमा राज्य सञ्चालनको अठोटलाई संवैधानिक समाजवादका रूपमा व्याख्या गर्दै अप्रिय ऐतिहासिक विरासतका रूपमा विद्यमान लैङ्गिक, जातीय, वर्गीय, क्षेत्रीय लगायत सबै प्रकारका संरचनात्मक विभेदहरुविरुद्ध निर्णायक सम्बोधन गर्न अवसरहरूको न्यायिक वितरण, पहुँच र उपयोगमा जोड दिइनेछ।

नेपालको इतिहास, सनातन सभ्यता, धार्मिक-सांस्कृतिक विविधतामा आधारित सहअस्तित्व र पारस्परिक सम्मान, विश्वभर फैलिएका नेपालीहरूको सामूहिक सामर्थ्य र एसियाको उदाउँदो भूराजनीतिक महत्वलाई आत्मसात् गर्दै नेपालको स्वतन्त्रता, सार्वभौमिकता, भौगोलिक अखण्डता, राष्ट्रिय एकता, स्वाधीनता र स्वाभिमानलाई सदा अक्षुण्ण राख्नु नै राष्ट्रिय स्वतन्त्र पार्टीको अभीष्ट रहनेछ।

२०८०/०८/१३

जलेश्वर, महोत्तरी

मंसिर १३, २०८० बुधबार १७:३१:२५ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।