रास्वपा बैठक : अनुशासन आयोगको प्रतिवेदन गोप्य, मनोनित अधिकार सभापतिलाई

रास्वपा बैठक : अनुशासन आयोगको प्रतिवेदन गोप्य, मनोनित अधिकार सभापतिलाई

काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टीको केन्द्रीय समितिको बैठकमा पेस भएको अनुशासन आयोगको प्रतिवेदन केन्द्रीय सदस्यहरूले समेत पाएनन्।

जलेश्वरमा भइरहेको बैठकमा केन्द्रीय अनुशासन आयोगका प्रमुख डा. भरतमणि देवकोटाले प्रतिवेदन पेस गरेका थिए।

सभापति रवि लामिछानेले प्रतिवेदन लिएपछि आफैंले राखे। न केन्द्रीय समितिको बैठकमा पेस भयो, न संसदीय दलको बैठकमा नै।

आयोगमा ढाकाकुमार श्रेष्ठले पार्टीका नेता मोहन थापासहितलाई मन्त्री बन्न पैसा मागेको र अर्का केन्द्रीय सदस्य दीपक बोहोरामाथि यौन दुर्ववहारको विषय रहेको थियो।

आफू निकट अन्य नेता पनि तीन करोड प्रकरणमा मुछिने भएपछि रविले मोहनलाई राजीनामा गर्न लगाएर स्वीकृत गरिसकेका छन्।

उता रविका अति विश्वासपात्र बोहोरामाथि पार्टी नेतृले नै यौन दुर्व्यवहार गरेको आरोप लगाउँदै पार्टीको बागमती प्रदेशमा निवेदन दिएकी थिइन्।

निवेदनबारे प्रदेश सभापति अच्यूतम लामिछानेले अनुशासन आयोग र रविलाई जानकारी गराएको स्रोतले उकेरालाई बतायो।

‘प्रदेशमा आएको उजुरी केन्द्रीय सदस्यविरुद्ध भएकाले हामीले निर्णय गर्ने विषय भएन,’ बागमती प्रदेशका एक पदाधिकारीले भने, ‘केन्द्रलाई यसबारे जानकारी छ। छानबिन र कारबाही भए उतै हुने हो।’

यो घटनाबारे जानकार स्रोतका अनुसार पार्टी नेतृत्व गम्भीर आरोपबारे छानबिन भन्दा पीडितलाई होस्टायल बनाउन सक्रिय छ।

प्रारम्भमा पीडित प्रहरीमा जाने तयारीमा थिइन्। प्रहरीमा गए पार्टी बदनाम हुने भन्दै उनलाई आन्तरिक रूपमा कारबाही हुने बताइयो। पछि उल्टो पीडितलाई धम्क्याउने काम भएको घटनाबारे जानकार स्रोतले बतायो।

मंगलबार मध्यरातसम्म पार्टीको बैठक चलेको थियो। बैठकमा केन्द्रीय सदस्य वा सांसद कसैले पनि बोहोरा प्रकरणबारे बोल्ने आँट गरेनन्।

स्वर्णिम वाग्ले, मनिष झा, विराजभक्त श्रेष्ठ लगायतको बोली फुटेन। स्वर्णिम र विराजभक्त पार्टी सरकारमा गए मन्त्रीका आकांक्षी हुन्। सार्वजनिक रूपमा महिला हिंसाबारे चर्को वकालत गर्ने सोविता गौतम, सुमना श्रेष्ठ, तोसिमा कार्की, निशा डाँगी पनि मौन नै बसे।

सुमना र तोसिमा पार्टीमा रिक्त सहमहामन्त्रीको आकांक्षी थिए। उप-सभापतिमा स्वर्णिम वाग्ले र एक सह-महामन्त्रीमा सुमना श्रेष्ठ पक्का भए पनि बैठकले निर्णय अधिकार पार्टी सभापतिलाई दियो।

जाजरकोट भुकम्पपछि पार्टीबाट डा तोसिमा खटिएर काम गरेकी थिइन्। तर, बैठकमा जाजरकोटको ब्रिफिङ निशा डाँगीलाई गर्न लगाइयो। महामन्त्री मुकुल ढकालले कार्यक्षेत्रमा खटिएकी नेतृ छाडेर आफू निकट निशालाई ब्रिफिङ गर्न दिएको भन्दै तोसिमा असन्तुष्ट भएकी छन्।

उता संसदीय दलको बैठकमा प्रमुख सचेतक सन्तोष परियार सांसदहरूको तारोमा परे। संसदीय दलले गर्ने निर्णयबारे सांसदहरूलाई नै जानकारी नदिने, आफू निकटकालाई अवसर दिने भन्दै आलोचना भएको थियो। बैठकमा प्रमुख सचेतक सन्तोष र डा तोसिमा केही समय अगाडि बैंकक गएको विषय समेत उठेको थियो।

बैठक आज सकिँदैछ।

१३ मंसिर, २०८०, १२:०३:११ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।