१७ दिनदेखि सुरुङमा फसेका ४१ कामदारको सकुशल उद्धार, मुख्यमन्त्रीद्वारा माला लगाएर स्वागत

१७ दिनदेखि सुरुङमा फसेका ४१ कामदारको सकुशल उद्धार, मुख्यमन्त्रीद्वारा माला लगाएर स्वागत

एजेन्सी : भारतको उत्तरकाशीको सिल्कियारा सुरुङमा फसेका ४१ जना कामदारको १७ दिनपछि सकुशल उद्धार गरिएको छ।

उनीहरूलाई मंगलबार भारतीय समय अनुसार राति साढे ७ बजे बाहिर निकाल्ने प्रक्रिया सुरु भएको भारतीय सञ्चारमाध्यमले जनाएको छ।

१७ दिनसम्म सुरुङमा फसेका उनीहरुलाई बाहिर निकाल्न साढे २ घण्टाको समय लागेको थियो। सुरुङबाट निस्किएका सबै कामदारहरूलाई मुख्यमन्त्री पुष्कर सिंह धामीले माला लगाएर स्वागत गरेका थिए।

त्यसपछि मुख्यमन्त्री धामीले लामो समय उनीहरूसँग कुराकानी गरी उनीहरूको स्वास्थ्य अवस्थाबारे जानकारी लिएका थिए।

सुरुङबाट बाहिर आएका मजदुरलाई तैनाथ एम्बुलेन्समार्फत चिन्यालीसौर सामुदायिक स्वास्थ्य केन्द्रमा लगिएको थियो। उनीहरूको उपचारका लागि त्यहाँ ४१ शय्याको छुट्टै वार्ड बनाइएको छ।

स्वास्थ्यकर्मीको टोलीले श्रमिकको स्वास्थ्य परीक्षण गरिरहेको छ। सुरुङबाहिर पर्खिरहेका मजदुरका परिवारले सबै बाहिर निस्किएपछि त्यहाँ उपस्थित सैनिक र जनतालाई मिठाइ बाँडिएको थियो।

१७ दिनसम्म चलेको उद्धार अभियानमा ड्रिल मेसिन धेरै पटक बिग्रिएका कारण उनीहरूको उद्धारमा ढिलाइ भएको थियो।

मंसिर १३, २०८० बुधबार ०९:५८:०१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।