दुई खेल अगावै उपाधि जित्ने भारतको सपनामा म्याक्सवेल बाधक

दुई खेल अगावै उपाधि जित्ने भारतको सपनामा म्याक्सवेल बाधक

काठमाडौं : दुई खेल अगावै पाँच खेलको टी२० आई सिरिज जित्ने घरेलु टोली भारतको सपनामा अष्ट्रेलियाका अलराउण्डर ग्लेन म्याक्सवेलले चकनाचुर पारेका छन्।

म्याक्सवेलको शानदार शतकमा २-० को अवस्थामा रहेको सिरिज अब २-१ को अवस्थामा पुगेको छ। सिरिजको तेस्रो खेल अष्ट्रेलियाले निर्धारित २० विकेटमा पाँच विकेट गुमाएर पाँच विकेटले जित्यो।

भारतको गुवाहाटीमा भएको खेलमा टस हारेर पहिला ब्याटिङमा तानिएको भारतले निर्धारित २० ओभरमा तीन विकेट २२२ रनको विशाल योगफल तयार पार्यो।

उसका लागि ऋतुराज गायकवाडले ५७ बलमा १३ चौका र ७ छक्काको मद्दतमा अविजित रहँदै १२३ रन जोडे। कप्तान सूर्यकुमार यादवले ३९ रन जोड्दा तिलक वर्माले ३१ रन बनाएर नटआउट रहे।

अष्ट्रेलियाका एरोन हार्डी, केन रिचार्डसन र जेसन ब्रेहेन्ड्रफले समान एक-एक विकेट लिए।

जवाफी लक्ष्य पछ्याएको अष्ट्रेलिया निर्धारित २० ओभरमा पाँच विकेट गुमाएर लक्ष्य भेट्टायो। उसका लागि म्याक्सवेलले ४८ बलमा ८ चौका र ८ छक्काको मद्दतमा अविजित रहँदै १०४ रन जोडे।

त्यसबाहेक ट्रेभिस हेड ३५, कप्तान म्याथू वेड अविजित २८, मार्कस स्टोयनिस १७, एरोन हार्डी १६, जोस इन्ग्ल्सि १० र टिम डेभिड शून्य रनमा आउट भए।

भारतका रवि विश्नोईले दुई तथा अक्षर पटेल, आवेश खान र अर्शदीप सिंहले समान एक–एक विकेट लिए।

भारत पहिलो खेलमा २ विकेट र दोस्रो खेलमा ४४ रनले विजयी भएको थियो। चौथो खेल शुक्रबार र पाँचौं खेल आइतबार हुनेछ।

मंसिर १३, २०८० बुधबार ०७:३३:४४ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।