अबदेखि हायर पर्चेजका ऋणीबाट ब्याजबाहेक अन्य शुल्क लिन नपाउने, राष्ट्र बैंकले गर्यो नौ नियम संशोधन

अबदेखि हायर पर्चेजका ऋणीबाट ब्याजबाहेक अन्य शुल्क लिन नपाउने, राष्ट्र बैंकले गर्यो नौ नियम संशोधन

काठमाडौं : हायर पर्चेज कर्जा दिने कम्पनीले अब ऋणीसँग ब्याजबाहेक अन्य शुल्क लिन नपाउने भएको छ।

‘हायर पर्चेच कर्जा दिने कम्पनीलाई स्वीकृति दिने नीतिगत एवं प्रकिृयागत व्यवस्था, २०७०’ लाई चौथो पटक संशोधन गर्दै राष्ट्र बैंकले कर्जा प्रवाह गर्दा ऋणीसँग गरिने सम्झौतामा वार्षिक पेनाल ब्याजदर २ प्रतिशत विन्दुभन्दा बढी नहुने गरी उल्लेख गर्न भनेको छ।

पेनाल ब्याज गणना गर्दा म्याद नाघेको किस्ताको साँवा रकममा वार्षिक पेनाल ब्याजदरले विलम्ब भएको समयवधिका लागि कायम हुन आउने रकमभन्दा बढी लिन र पेनाल ब्याजमा ब्याज लिने गरी रकम असुल उपर गर्न नपाइने नियमावलीमा उल्लेख छ।

यस्तै, हायर पर्चेज कर्जा दिने कम्पनीको नामको पछाडि अबदेखि ‘हायर पर्चेच प्रा.लि वा लिमिटेड’ राख्नुपर्नेछ।

निर्देशन जारी गर्नुपूर्व सञ्चालन रहेका हायर पर्चेज कर्जा दिने कम्पनीले समेत यसै निर्देशनबमोजिम नाम परिवर्तन पुस मसान्तभित्र राष्ट्र बैंकलाई जानकारी गराउनुपर्ने संशोधित नियमावलीमा उल्लेख छ।

त्यस्तै, कार्यकारी प्रमुख/प्रबन्ध सञ्चालनको नियुक्ति सम्बन्धी व्यवस्थालाई पनि संशोधन गरेको छ। जस अनुसार अब हायर पर्चेज कम्पनीको कार्यकारी प्रमुख तथा सञ्चालकको रुपमा नियुक्त हुने व्यक्ति स्नातक तह उत्तीर्ण गरेको हुनुपर्नेछ।

त्यसैगरी अब कम्पनीले कर्जा प्रवाह गर्दा ऋणीसँग अनिवार्य रूपमा स्थायी लेखा नम्बर( प्यान) लिएको हुनुपर्नेछ। तर २५ लाख वा सो भन्दा कम कर्जा प्रवाह गरेको व्यक्तिबाट स्थायी लेखा नम्बर लिन अनिवार्य नहुने निर्देशनमा उल्लेख छ।

त्यस्तै हायर पर्चेज कर्जा कारोबार गर्ने कम्पनीहरूले पूँजी, आम्दानी, खर्च, लगायतका कारोबा स्पष्ट देखिने गरी लेखा राख्नुपर्नेछ। यसरी लेखाङ्कन गर्दा प्रचलित लेखा मापदण्डको अनुसरण गरी वित्तीय विवरण तयार गर्नु पर्नेछ।

हायर पर्चेज कर्जा दिन स्वीकृति प्राप्त कम्पनीहरूले यस अन्तर्गत गरेको कारोबारको विवरण त्रैमासिक अवधि समाप्त भएको १५ दिनभित्र  नेपाल राष्ट्र बैंकको सम्बन्धित सुपरिवेक्षण विभागमा पेश गर्नु पर्नेछ।

किस्ता रकम एक वर्षभन्दा बढी अवधिले भाका नाघेमा सम्पूर्ण बक्यौता कर्जा रकमलाई खराब वर्गमा वर्गीकरण गरी शतप्रतिशत कर्जा नोक्सानी व्यवस्था कायम गर्नुपर्नेछ।

यस्तै बैंकले हायर पर्चेज कम्पनीको सञ्चालक/ प्रबन्ध सञ्चालक/कार्यकारी प्रमुख पदको लागि पनि योग्यता तोकिदिएको छ।

मंसिर १२, २०८० मंगलबार १२:३८:५१ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।