गाजा पुगेर इजरायली प्रधानमन्त्रीले भने, ‘हाम्रो तीन लक्ष्य छ, त्यो पूरा गर्नुछ’

गाजा पुगेर इजरायली प्रधानमन्त्रीले भने, ‘हाम्रो तीन लक्ष्य छ, त्यो पूरा गर्नुछ’

काठमाडौं : इजरायल र हमासबीच भएको युद्धविरामको सहमतिका बीच इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु गाजा पुगेका छन्।

दुई दशकमा गाजा पुग्ने उनी पहिलो इजरायली प्रधानमन्त्री हुन्। प्यालेस्टानमा पर्ने गाजा पछिल्लो समय इजरायली सेनाले नियन्त्रणमा लिएको छ।

गाजामा नेतान्याहुले इजरायली सैनिकलाई भेटेर उनीहरुको बहादुरीको प्रशंसा गरेका छन्। उनले अन्तिमसम्म संघर्ष जारी राख्ने प्रतिवद्धता व्यक्त गरेको बीबीसीले जनाएको छ।

नेतान्याहुले कमाण्डर र सैनिकहरूबाट सुरक्षा ब्रिफिङ लिएर गाजाको सुरुङको पनि अवलोकन गरेका थिए।

सैनिकलाई भेट्न पुगेका नेतान्याहुले हेलमेट र बुलेटप्रुफ ज्याकेट लगाएका थिए।

सिपाहीसँगै उभिएर उनले भने, ‘हामी हाम्रा कैदीहरूलाई फिर्ता ल्याउन हरसम्भव प्रयास गर्नेछौं र अन्ततः सबैलाई फिर्ता ल्याउँछौँ।’

जारी युद्धमा आफूहरूले सबै बन्धकहरूको फिर्ता, हमासको विनाश, र गाजाले इजरायललाई फेरि कहिल्यै खतरा नपार्ने कुरा सुनिश्चित गर्ने गरी तीन लक्ष्य रहेको स्पष्ट पारेका छन्।

इजरायल सन् २००५ मा गाजामा २१ वटा बस्ती ध्वस्त पारेर यस क्षेत्रको नियन्त्रण प्यालेस्टिनी प्राधिकरणलाई सुम्पिएको थियो। त्यसपछि हमासले २००७ मा एक रक्तपातपूर्ण कू द्वारा गाजा कब्जा गरेको थियो।

हमासले अक्टोबर ७ मा भएको आक्रमणमा २४० इजरायलीलाई बन्धक बनाएको थियो। इजरायलले यी मध्ये ५० जनालाई मुक्त गर्ने सम्झौता गरेको छ।

सम्झौता अन्तर्गत, इजरायलले ५० बन्धकहरूको सट्टामा चार दिनको युद्धविराम गरेको थियो। यदि यो सम्झौता अगाडि नबढेमा सोमबार मध्यरातमा समाप्त हुनेछ। यस युद्धविरामको समयमा, इजरायली रक्षा बल गाजामा नै थियो।

मंसिर ११, २०८० सोमबार ०९:०६:१२ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।