जुवा खेलाउने कम्पनी नेपाल सुपर लिगको मिडिया पार्टनर
काठमाडौं : नेपाल सुपर लिगले अनलाइन जुवा खेलाउने कम्पनीलाई अन्तर्राष्ट्रिय मिडिया पाट्नरको रूपमा अनुबन्धित गरेको छ।
आयोजकले वानएक्सबेटको सरोगेसी वनएक्सन्युजलाई इन्टरनेशनल मिडिया पाट्नर बनाएको हो। वनएक्सबेटले अनलाइन जुवा प्रतिबन्ध भएको देशमा आफ्नो प्रचार गर्न सरोगेट डोमेनको प्रयोग गर्छ।
उसले कतै वनएक्सब्याट, कतै वनएक्सब्याटस्पोर्टिङ त कतै वनएक्सन्युजको प्रयोग गर्छ। तर यी सबैको मुल कम्पनी वनएक्सबेट नै हो।
नेपालको क्रिकेट खेल प्रतियोगितामा यसअघि वनएक्सब्याट मुख्य प्रायोजक बनेको थियो। सो बदनाम भएपछि यसपटक फुटबल लिगमा अर्को वनएक्सन्युजको प्रयोग गरेको छ।
यसको प्रयोजन आफ्नो मुल कम्पनी जो जुवा खेलाउँछ त्यसलाई प्रवर्द्धन गर्नु नै हो। वेबपोर्टलमा नेपाल सुपर लिगका कुनै समाचार छैन। यसले पनि अन्तर्राष्ट्रिय मिडिया पार्टनर आवरण मात्र भएको पुष्टि गर्छ।
यसअघि एन्फा नेतृत्वले अनलाइन जुवा खेलाउने कम्पनीसँग लिखित सम्झौता गरेको तथ्य उकेराले सार्वजनिक गरेको थियो। त्यसबारे सीआईबीले छानबिन समेत शुरू गरेको थियो। तर छानबिन त्यतिकै सेलायो।
एन्फामा वर्तमान अध्यक्ष पंकजविक्रम नेम्वाङले यसलाई आफ्नो चुनावी अजेन्डा बनाएका थिए। तर, जितपछि उनी पनि मौन बसे। अहिले लिगमा पुन: अनलाइन जुवा खेलाउने कम्पनीलाई इन्टरनेशनल मिडिया पार्टनर छानेका छन्।
वनएक्सबेटले वानएक्सब्याटको प्रचारमा सम्बन्धित देशका अनलाइन इन्फ्लुएन्सरको समेत प्रयोग गर्छन्। नेपालमा कमेडियन सजन श्रेष्ठ युट्युब च्यानलबाट प्रवर्द्धनमा लागेका छन्। उनले आफ्नो रियाक्सन भिडियोमा वानएक्सब्याटको विज्ञापन गर्छन्।
यो मात्र हैन डाफाबेटले डाफान्युज नामक सरोगेट नामको आधारमा विज्ञापन प्रवर्द्धन गर्छ। प्लेअननाइन्टीनाइनले प्लेअननाइन्टीनाइन्युजको रूपमा प्रवर्द्धन गर्छ।
यी कम्पनी नेपालसहित भारत, पाकिस्तानमा समेत सरोगेट कम्पनीमार्फत अनलाइन जुवा प्रवर्द्धन गर्न सक्रिय देखिन्छन्। नेपालमा समेत यो कम्पनी मुख्य खेल प्रतियोगिताको मिडिया पार्टनर बन्दै अनलाइन जुवा र बेटिङ प्रवर्द्धन गर्ने गरेको छ।
प्रहरीले अनलाइनमार्फत प्रवर्द्धन गरेको भन्दै व्यक्तिलाई कारबाही गरे पनि यस्ता आयोजकलाई भने छुट दिने गरेको देखिन्छ।
मंसिर ९, २०८० शनिबार १२:१७:२० मा प्रकाशित
उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।