हमासले इजरायलका ५० बन्दी रिहा गर्ने, चार दिन युद्धविराम

हमासले इजरायलका ५० बन्दी रिहा गर्ने, चार दिन युद्धविराम

एजेन्सी : हमासले पहिलो चरणमा इजरायलबाट बन्दी बनाइएका ५० जनालाई रिहा गर्ने भएको छ।

यसका लागि इजरायलको मन्त्रिपरिषद्ले बन्दी रिहाइका लागि चार दिन युद्ध विराम गर्ने प्रस्तावलाई पारित गरेको छ।

इजरायलकाे प्रधानमन्त्रीको कार्यालयले जारी गरेको आधिकारिक विज्ञप्तिमा भनिएको छ, ‘इजरायल सरकार सबै बन्दीलाई घर फर्काउन प्रतिबद्ध छ। आज सरकारले यो उदेश्य पूरा गर्न पहिलो चरणको प्रस्तावलाई मञ्जुरी दिएको छ। जसअनुसार महिला र बालबालिका गरी ५० बन्दीलाई चार दिनमा  हमासले रिहा गर्नेछ र त्यो अवधिमा युद्ध रोकिनेछ।’

कतारको मध्यस्थतामा अघि बढेको युद्ध विरामको प्रस्तावलाई हमासले पनि सकारात्मक भनेको छ।

युद्ध विराम र बन्दी रिहाइमा इजरायली मन्त्रिपरिषद्ले स्वीकृति दिएसँगै हमासको कब्जामा रहेका दुई सयभन्दा बढी व्यक्तिको रिहाइ प्रक्रिया अघि बढ्ने भएको छ। 

त्यसबापत इजरायलले पनि एक सय ५० जना प्यालेस्टिनी बन्दीलाई रिहा गर्नुपर्ने प्रस्तावमा उल्लेख थियो।

यद्यपि, यस विषयमा इजरायल सरकारले केही बताएको छैन। इजरायली प्रधानमन्त्री बेन्जामिन नेतन्याहुले भने बन्धक रिहाइ पछि पनि युद्ध जारी रहने बताएका छन्।

बन्धकको रिहापछि युद्ध रोकिने भनेर चर्चा भइरहेको प्रति खण्डन गर्दै उनले लक्ष्य हासिल नहुन्जेल युद्ध जारी रहने जिकिर गरेका छन्।

उनले हमासद्वारा बन्धक बनाइएकाहरुलाई फर्काउनु आफ्नो महत्वपूर्ण लक्ष्यमध्ये एक भएको उल्लेख गर्दै हमासको सफाया पनि महत्वपूर्ण अर्को लक्ष्य भएको जनाएका छन्।

फेरि इजरायलका लागि खतरा हुने कुनै पनि शक्तिलाई निमिट्यान्न नपारेसम्म गाजामा केही नछाड्ने उनको प्रतिबद्धता छ।

मंसिर ६, २०८० बुधबार ०९:२५:३० मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।