गृह प्रशासन सुधार गर्न समिति गठन, संयोजक पूर्व मुख्य सचिव पौडेल

गृह प्रशासन सुधार गर्न समिति गठन, संयोजक पूर्व मुख्य सचिव पौडेल

काठमाडौँ : गृह प्रशासनको नीतिगत सुधार गर्न पूर्व मुख्यसचिव लीलामणि पौडेलको संयोजकत्वमा समिति बनेको छ। गृह मन्त्रालयले अन्य पाँच उपसमिति समेत गठन गरेको छ।

सोमबार उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले गृह मन्त्रालयमा प्रशासन तथा सुरक्षा क्षेत्रका विज्ञहरूसँग अन्तरक्रिया गर्दै समितिबारे सार्वजनिक गरेका हुन्।

गृह प्रशासनलाई सबल र सक्षम बनाउन, जनताको सुरक्षाको निश्चितता गर्न र सार्वजनिक सेवा प्रवाहलाई प्रभावकारी बनाउन गृह मन्त्रालय र अन्तर्गतका निकायहरूको कार्यसम्पादन चुस्त बनाउन आवश्यक रहेको उनले बताए।

समस्या तथा कमी कमजोरी र चुनौती पहिचान गरी सुधारका क्षेत्र तथा उपाय र त्यसको कार्ययोजना तयार गर्न एक समिति र विषयगत उपसमिति गठन गरेको उनले बताए।

'शान्ति सुव्यवस्था कायम राख्न, सेवालाई पारदर्शी, परिणाममुखी तथा चुस्त बनाउन, संगठन तथा कर्मचारीलाई उत्तरदायी, सक्षम एवं जवाफदेही बनाउन, नीतिगत, कानुनी तथा कार्यगत सुधारका क्षेत्रहरू पहिचान र कार्य योजनाहरू तर्जुमा गर्न अध्ययन समिति तथा विषयगत उपसमितिहरूले सुझाव पेस गर्ने अपेक्षा गरिएको छ,' श्रेष्ठले भने।

विषय क्षेत्रगत उपसमितिमा नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, अध्यागमन प्रशासन, कारागार प्रशासन, जिल्ला प्रशासन तथा इलाका प्रशासन, सीमा प्रशासन, सेवा प्रवाह, खरिद व्यवस्थापन र राष्ट्रिय परिचयपत्र प्रणाली रहेका छन्।

कार्यक्रममा पूर्व मुख्यसचिव तथा समिति संयोजक लीलामणि पौडेलले गृह प्रशासन सुधारले धेरै ठाउँमा सकारात्मक प्रभाव पर्ने बताए।

गृह मात्र नभएर अन्य मन्त्रालयको पनि सुधार हुनुपर्ने उनको भनाई छ। प्रतिवेदन बुझाउने र थन्क्याउने काम मात्र नभएर त्यसको प्रभावकारी कार्यान्वयन हुनुपर्ने भन्दै उनले आफूहरूले स्वयंसेवक रूपमा काम गर्ने जानकारी दिए।

मंसिर ४, २०८० सोमबार २२:३२:०६ मा प्रकाशित

उकेरामा प्रकाशित सामाग्रीबारे प्रतिक्रिया, सल्लाह, सुझाव र कुनै सामाग्री भए [email protected] मा पठाउनु होला।